BIZMANDU
www.bizmandu.com

पुनर्बीमा कम्पनीले अर्को वर्ष आकर्षक लाभांश दिने, सिइओले भने ‘अहिले आत्तिएर सेयर नबेच्नुस्!’

२०७७ साउन ११

Tata
GBIME
Nepal Life

काठमाडौं।  नेपाल पुनर्बीमा  कम्पनीले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट लाभांश वितरण नगर्ने सूचना दिएसँगै सामाजिक संचालनमा कम्पनीको सेयर मूल्यका कस्तो प्रभाव पर्ला भन्ने विषयमा टिका टिप्पणी हुन थालेको छ ।

बीमा समितिले कम्पनीलाई व्यवसाय गर्दा बचत भएको रकम कम्तीमा ५ वर्षसम्म मुनाफाको रूपमा बाँडफाँट नगरी अनिवार्य जगेडा कोषमा राख्नुपर्ने व्यवस्थाले गरेपछि कम्पनीले लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनीको प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीले बताए ।

बीमा समितिको सुशासन निर्देशिका अनुसार २०७६ असार मसान्तसम्मको साधारणसभा गर्दा कम्पनीले आय आर्जन गरेको रकम जगेडा कोषमा राख्नु पर्ने व्यवस्थाले लाभांश वितरण गर्न नसकेको उनको भनाई छ ।

उनले लाभांश नदिने सूचनाले टाठाबाठा लगानीकर्ताहरुले गलत सूचना प्रवाह गरी सेयर मूल्यमा चलखेल गर्न सक्ने भन्दै सोझा तथा साना लगानीकर्ताहरुलाई आत्तिएर सेयर बिक्री नगर्न सुझाव दिएका छन् ।

जगेडा कोषमा रकम राख्दा कम्पनीको वित्तीय अवस्था अझै सुदृढ भएर आगामी वर्षमा लाभांश राम्रो प्रतिफलमा आउने भएकाले लगानीकर्ताले तत्काल लाभांश नआए पनि हालको लगानीमा नआत्तिन उनको सुझाव छ। लगानीले उचित प्रतिफल नदेला की भनेर चिन्ता लिन नपर्ने उनले बताएका छन् ।

उनका अनुसार २०७६ असार मसान्तसम्म कम्पनीको जगेडा कोषमा चारदेखि ५ अर्ब रुपैयाँ रहेकाले अगामी वर्ष १० देखि १५ प्रतिशतसम्म बोनस तथा नगद लाभांश दिने तयारीमा कम्पनी छ। 

उनले आइपिओ खरिद गरेका साना लगानीकर्ताहरुलाई बोनस तथा नगद लाभांश नआएकै कारण दोस्रो बजारमा सेयर बिक्री गर्न बाध्य नहुन पनि सुझाव दिएका छन् ।

कम्पनीले शुक्रबार लाभांश नदिने निणर्य गरेको सूचनाले कम्पनीको सेयर मूल्यमा कस्तो असर पर्छ  भन्ने आइतबारको कारोबारले नै देखाउने छ । कम्पनीका सिइओ रायमाझीले बीमा समितिले आव २०७५/७६ को वासलात पास गरिसकेको बताए ।

बीमा समितिले वासलात पास गरेको एक महिनाभित्र कम्पनीले साधारणसभा बोलाउनु पर्ने व्यवस्था अनुसार असोज ३ गतेभित्र वार्षिक साधारण सभा बोलाउने तयारीमा रहेको जानकारी उनले दिए ।

उनले लगानीकर्ताहरुलाई बेलैमा सत्यतथ्य सूचना दिनका लागि लाभांश नदिने जानकारी गराएको समेत बताए । कम्पनीले २०७६ असार मसान्तसम्म ८७ करोड २० लाख नाफा गरेकाले वित्तीय अवस्था सन्तोषजनक उनको भनाइ छ।