BIZMANDU
www.bizmandu.com

टेलिकमले सित्तैंमा कल ट्रान्सफर सेवा दिँदै, ल्याण्डलाइनमा फोन नउठे अर्को नम्बरमा पठाउन मिल्ने

२०७७ साउन ७

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारी दूरसंचार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले वर्तमान कल ट्रान्सफर सेवाबारे ग्राहकको ध्यानाकर्षण गराएको छ।
यो सेवामार्फत टेलिकमका सेवा प्रयोगकर्ताले ल्याण्डलाइन टेलिफोनमा आउने कललाई मोबाइल नम्बर, सिडिएमए र ल्याण्डलाइन नम्बरमा ट्रान्सफर गराउन सक्नेछन्।   

प्रयोगकर्तालाई फोन कल नउठेको अथवा व्यस्त भएको अवस्थामा स्वचालित कल ट्रान्सफर गराउन सकिने सुविधा ल्याइएको हो। घरबाटै कार्यालय वा व्यावसायिक काम गर्ने शैली बढ्दै जाँदा सेवाग्राहीले कार्यालय वा पसलमा फोन गर्दा कर्मचारीको अनुपस्थितिले फोन उठाउन र सेवा लिन वा दिनबाट बञ्चित हुनुपर्ने देखिएको कारण कम्पनीले यो सेवा प्रयोग गर्न सकिनेबारे ध्यानाकर्षण गराएको हो।

सबै आगमन कललाई सिधै वा फोन व्यस्त भएमा वा फोन नउठेको अवस्थामा नेपाल टेलिकमकै अर्को नम्बरमा ग्राहक आफैंले कल ट्रान्सफर गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो सेवामार्फत कार्यालयमा कोही नभएका समयमा आउने टेलिफोन कलहरु नछुटाई अर्को फोनमा उठाउन सकिनेछ।
उक्त सेवा निःशुल्क सुचारु गराउन सकिन्छ। सेवा प्राप्त भएपछि ग्राहकले चार अंकको लक कोड नम्बर प्रयोग गरी एउटा नम्बरमा आउने कल सिधै अर्को नम्बरमा कल ट्रान्सफर हुने व्यवस्था मिलाउन सक्ने कम्पनीले जनाएको छ।

ग्राहकले डाइरेक्ट कल ट्रान्सफर, कल गरिएको नम्बर व्यस्त भएको अवस्थामा ‘बिजी ट्रान्सफर’, चार पटकसम्म फोन नउठ्दा ‘नो एन्सर ट्रान्सफर’ लगायतका अवस्थामा सेवा लिन सक्ने छन्।

कम्पनीका अनुसार यो सेवामा प्राप्त लक कोड ग्राहकले आफ्नो इच्छा अनुसार परिवर्तन गर्न सक्नेछन्।