BIZMANDU
www.bizmandu.com

अब तपाईँको मोबाइल सेट हराउँदैन, चोरिए वा हराए सजिलै ट्रयाकिङ, ‘पुरानो किन्ने सचेत बन्नु’

२०७७ साउन ४


काठमाडौं। अब मोबाइल फोन सेट हराएमा तपाईँले सकभर भेट्टाउनु हुनेछ। तर त्यसका लागि केही काम भने तपाईँले गर्नैपर्ने हुन्छ।

Tata
GBIME
Nepal Life

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोन सेट ट्रयाकिङ सेवा सुरु गरेको छ।

मोबाइल फोनमा 'इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी' (आइएमइआइ)/ इलेक्ट्रोनिक सिरियल नम्बर (इएसएन)/ 'मोबाइल इक्विपमेन्ट आइडेन्टिटी' (एमइआइडी) हुन्छन्। 

प्राधिकरणको सिफारिसमा मात्र अहिले नेपालमा मोबाइल फोन सेटहरु आयात गरिन्छन्। तसर्थ नेपालमा आयात भएका सबै मोबाइल फोन सेटको रेकर्ड प्राधिकरणसँग रहेको हुन्छ।

नेपालमा प्रयोग भइरहेका सबै मोबाइल फोन सेटको रेकर्ड प्राधिकरणबाट अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकहरुसँग रहेको हुन्छ। त्यसैले प्राधिकरणले कुनै पनि व्यक्तिको हराएको मोबाइल फोनसेट ट्रयाकिङ गर्नको लागि 'मोबाइल ट्रयाकिङ' सेवा सबैको लागि उपलब्ध गराएको छ।

तपाईँको मोबाइल फोनसेट हराएको छ भने प्राधिकरणको वेबसाईटमा उपलब्ध वेब लिंकमा गई निवदेन दिन सक्नु हुनेछ। 

यदि कसैले मोबाइल फोनसेट भेट्टाएको छ भने फिर्ता गर्दा नै उत्तम हुन्छ। भेट्टाएको फोन सेट फिर्ता नगर्दा त्यसलाई प्राधिकरणले सजिलै ट्रयाकिङ गर्नेछ। पुरानो मोबाइल सस्तोमा भेट्टाएँ भनेर कसैले किनेमा त्यो चोरीको पनि हुन सक्छ। त्यसैले पुरानो मोबाइल किन्नेहरु पनि सचेत हुनु पर्छ। यदि चोरीको वा हराएको फोन हो भन्ने भएमा उसलाई कारबाही हुने प्राधिकरणले जनाएको छ।