BIZMANDU
www.bizmandu.com

देशबासीलाई प्रधानमन्त्रीको सन्देश, ‘पार्टीभित्रका विमति आन्तरिक हुन, छलफलबाटै सुल्झिन्छन्’

२०७७ असार २६

Tata
GBIME
Nepal Life

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा चर्किएको पार्टीभित्रको आन्तरिक विवादलाई राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति जोडेर चिन्ता नगर्न आग्रह गरेका छन्।

शुक्रबार साँझ देशबासीका नाममा सन्देश दिँदै प्रधानमन्त्री ओलीले विवाद आपसी छलफलबाटै सुल्झाउने पनि बताएका छन्। विपत्तिको समयमा भइरहेको राजनीतिक विमर्शबारे नागरिकको ध्यान तानिनु स्वाभाविक भएको बताउँदै ओलीले दलभित्रको बहसलाई नितान्त आन्तरिक पनि भनेका हुन्।  

ओलीले नेपालीबीचको एकता, गणतन्त्रको रक्षा र राष्ट्रिय स्वाभिमानमा आफू प्रतिवद्ध रहेको पनि बताए।‘अहिले कतिपय राजनीतिक विषय र सन्दर्भहरुप्रति जनताको ध्यान अवश्य तानिएको हुनुपर्दछ। त्यस किसिमको चासो र जिज्ञासा हुनु स्वभाविकै हो। महामारी र प्राकृतिक विपत्तिको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्नहरु पनि उठ्नु अन्यथा होइन। जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन्। त्यसलाई निष्कर्षमा पुर्‍याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरुकै हो’, उनले भने, ‘म आश्वस्त पार्न चाहन्छु, आम नेपालीहरुका बीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ।’

ओलीले आन्तरिक विमतिमा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख हुने अधिकार कसैलाई नरहेको पनि बताए। रोग र भोकबाट देशबासीलाई जोगाउने दायित्वबाट सरकार पछि नहट्ने पनि उनले दोहोर्‍याए। महामारी र विपत्तिमा परेका नागरिकको जीवन रक्षाका लागि सरकार केन्द्रित रहेको पनि उनले बताए।