BIZMANDU
www.bizmandu.com

निम्बसले पार्टी प्यालेस लिजमा लिएर ३० ठाउँमा ‘सेन्ट्रल स्टोर’ खोल्ने

२०७७ असार २४

निम्बसले पार्टी प्यालेस लिजमा लिएर ३० ठाउँमा ‘सेन्ट्रल स्टोर’ खोल्ने
निम्बसले पार्टी प्यालेस लिजमा लिएर ३० ठाउँमा ‘सेन्ट्रल स्टोर’ खोल्ने


Tata
GBIME
Nepal Life

काठमाडौं। खाद्यान्न तथा पशुपक्षीको दानालगायत कृषिसम्बन्धी व्यवसायमा रहेको निम्बस ग्रुपले आफ्नो कान्छो बिजनेस भर्टिकल 'निम्बस बजार' को सेवा देशभर पुर्‍याउन आक्रामक योजना बनाएको छ। 

लकडाउनभन्दा दुई दिनअघि (चैत ९) बाट मात्र संचालनमा आएको 'निम्बस बजार'  विशेषगरी खाद्यान्नसँग सम्‍बन्धित इ–कमर्स प्लेटफर्म हो।

अनलाइन किरानाको अवधारणामा निम्बसले शुरु गरेको यो इ–कमर्स भर्टिकल संचालनमा आएको साढे तीन महिना मात्र भएको छ। यसका बाबजुद निम्बस बजारका लागि नेपालका सबै मुख्य शहरहरुमा 'सेन्ट्रल स्टोर' खोल्ने योजना बनाएको समूहका प्रबन्ध निर्देशक आनन्द बगरियाले बताए। देशव्यापी यस्तो सेन्ट्रल स्टोरको अवधारणा नेपाली इ–कमर्स कम्पनीहरुको सन्दर्भमा नौलो अभ्यास हो। 

लक्षित बजारका रणनीतिक केन्द्रहरुमा इ–कमर्स प्लेटफर्मबाट बिक्री गर्ने सामानहरुको व्यवस्थित भण्डारणका लागि सेन्ट्रल स्टोरको बृहुत सञ्जाल खडा गर्ने गरिन्छ। यसको अभ्यास अमेजन र अलिबाबा जस्ता विश्वका जायन्ट इ–कमर्स कम्पनीले गर्दै आएको भए पनि नेपालमा अहिलेसम्म छैन। 

'सस्तो डिल' नामको इ–कमर्स कम्पनीले काठमाडौं उपत्यका लक्षित गरेर एउटा सेन्ट्रल स्टोर स्थापना गरेको भए पनि सबैभन्दा ठूलो इ–कमर्स प्लेटफर्म भनेर दाबी गर्ने 'दराज' ले समेत ग्राहकले अर्डर गरेको सामान भेन्डरमार्फत उठाएर डेलिभरी गर्दछ। 

सोझै उत्पादक तथा आपूर्तिकर्ताबाट ठूलो परिमाणमा सामान किन्ने र त्यसका लागि व्यवस्थित र फराकिलो भण्डारणस्थलको प्रबन्ध गर्ने आर्थिक तथा लजिस्टिक क्षमता नहुँदा अनलाइनबाट सामान बेच्ने अन्य कम्पनीले पनि यही अभ्यास गरिरहेका छन्।

'ग्राहकले अनलाइनबाट अर्डर गरेको सामान सम्भव भएसम्म कम समयमा उनीहरुको दैलोसम्म पुर्‍याउन सकियोस् भन्नका लागि हामीले नेपालका सबै ठूला शहरमा यस्तो स्टोर स्थापना गर्न खोजेका हौं,' बगरियाले भने, 'स्टोर ग्राहक भिजिटका लागि नभएर सामानको व्यवस्थित भण्डारणका लागि हुनेछ।' 

उनका अनुसार, निम्बस बजारलाई खाद्यान्न तथा किरानासँग सम्बन्धित अन्य सामग्रीहरुमा केन्द्रित विशिष्ट र नेपालको नम्बर वान इ–कमर्स प्लेटफर्म बनाउने ध्येयले भण्डारण केन्द्र विस्तारमा निम्बस समूह आक्रामक बनेको हो। 

कम्तिमा दुई दर्जन पार्टी प्यालेस लिने योजना
काठमाडौं उपत्यकासहित बिराटनगर, चितवन, पोखरा, धनगढी र महेन्द्रनगर लगायत नेपालका सबै प्रमुख शहरमा पुग्नेगरी कम्तिमा २५ देखि ३० ठाउँमा  स्टोर स्थापनाका लागि अहिले ठाउँ हेरिरहेको बगरियाको भनाइ छ।

स्टोर राख्ने स्थानका लागि पनि बगरियाले नयाँ सोच बनाएका छन्। कोभिड–१९ र लकडाउनका कारण बन्द रहेका पार्टी प्यालेसहरुमै 'स्पेस सेयरिङ' मोडालिटीमा निम्बस बजारको स्टोर राख्ने योजना रहेको उनले बताए।

'स्टोरका लागि व्यवस्थित संरचना र त्यहाँसम्म सामान ढुवानीका लागि आउने ट्रकहरु पार्क गर्नका लागि कम्तिमा ८–१० वटा ठूला गाडी अट्ने ठाउँ (ओपन स्पेश) चाहिन्छ । हाम्रो यो दुवै आवश्यकता पार्टी प्यालेसले पूरा गर्ने देखेर  यस्तो सोच बनाएका हौं,' बगरियाले भने, 'पार्टी प्यालेससँग हामीलाई चाहिने ठाउँ कम्तिमा पाँचदेखि १० वर्षका लागि लिजमा लिन खोजिएको हो ।'

कोभिडले गर्दा पार्टी प्यालेसहरु बन्द छन्, बिजनेस ठप्प छ। तर, लिजमा जग्गा लिएर संरचना बनाउँदा यसमा भएको ठूलो लगानीमाथि भाडाको पनि बोझ थपिइरहेकाले आम्दानीविहीन अवस्थामा लामो समय त्यतिकै राख्नुभन्दा पार्टी प्यालेसलाई यसरी वैकल्पिक प्रयोगमा लगाउँदा संचालकलाई वित्तीय भार कम हुने छ। 

यही अवस्थालाई दृष्टिगत गरेर बगरियाले काठमाडौं र बाहिरका केही शहरका पार्टी प्यालेस संचालकहरुसँग कुराकानी समेत गरिरहेको जानकारी दिए। 

'धेरैजना छिट्टै पार्टी प्यालेस संचालनमा ल्याउन सकिने अवस्था आइहाल्ने हो कि भनेर अलिक द्विविधामा भएकाले हाम्रो प्रस्तावमा निर्णय गरिहाल्नु भएको छैन । तर भोलि पार्टी प्यालेस चलाउँदा पनि उहाँहरुलाई हामीले लिएको ठाउँले असर नपर्ने गरी स्टोर राख्न प्रस्ताव गरेका हौं। काठमाडौंमा २–३ जनासहित केहीसँग सकारात्मक दिशामा कुराकानी अघि बढेको छ,' उनी भन्छन्, 'आउँदो एक–दुई महिनाभित्रै यस्तो स्टोर शुरु गर्न सक्छौं भन्ने अपेक्षा छ।'

निम्बस बजारको एउटा सेन्ट्रल स्टोर कम्तिमा दुई हजार वर्गफीटदेखि १० हजार वर्गफिटसम्मको हुनेछ। प्रतिस्टोर कम्तिमा ५० लाखदेखि एक–डेढ करोड रुपैयाँसम्म लगानी हुने उनले बताए। यसअनुसार हाल योजनामा रहेका दुई दर्जनभन्दा बढी सेन्ट्रल स्टोरमा निम्बसले कम्तिमा २५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। 

अहिले योजना बनाइएका ती स्टोरहरु खोलिसकेपछि तीन लाखको हाराहारीमा जनसंख्या भएका अन्य शहरहरुमा पनि विस्तार गर्दै लैजाने बगरियाले बताए।