BIZMANDU
www.bizmandu.com

एक अर्ब लगानीको टिभिएस बाइकको प्लान्ट तयार, एक सातापछि टिभिएस बाइकको परीक्षण उत्पादन

२०७७ असार १७

एक अर्ब लगानीको टिभिएस बाइकको प्लान्ट तयार, एक सातापछि टिभिएस बाइकको परीक्षण उत्पादन
एक अर्ब लगानीको टिभिएस बाइकको प्लान्ट तयार, एक सातापछि टिभिएस बाइकको परीक्षण उत्पादन


Tata
GBIME
Nepal Life

काठमाडौं। शंकर समूहको जगदम्बा मोटर्सले टिभिएसका मोटरसाइकल, स्कुटर र टेम्पो नेपालमै उत्पादन थाल्ने भएको छ। सिमरामा स्थापना गरेको एसेम्बल्ड प्लान्टबाट परीक्षणका रूपमा आगामी साताबाट उत्पादन गर्ने भएको हो।

गोल्छा अर्गनाइजेसनले बजाज बाइक उत्पादन गरेको दुई वर्षपछि टिभिएसको पनि उत्पादन सुरु हुन लागेको हो। समूहका प्रबन्ध निर्देशक साहिल अग्रवालले एसेम्बल्ड प्लान्टका मेशिनरी जडानको काम सकिएको बताउँदै एक साताभित्रै परीक्षण उत्पादन सुरु हुने जानकारी दिए। ‘मेशिन परीक्षणको काम सकिएको छ। अर्को सातादेखि परीक्षण उत्पादन सुरु हुनेछ,’ उनले बिजमाण्डूसँग भने, ‘सुरुमा हामीले यो प्लान्टबाट अपाचे सिरिजका बाइक, स्कुटर र तीन पांग्रे टेम्पो उत्पादन गर्नेछौं।’

पाँच विघा क्षेत्रफलमा रहेको प्लान्टमा समूहले एक अर्ब लगानी गरेको छ। यो प्लान्टबाट वार्षिक एक लाख मोटरसाइकल तथा स्कुटर उत्पादन हुन्छ भने तीन पांग्रे टेम्पो १० हजार उत्पादन हुने क्षमता छ। उद्योगमा सय जनाले रोजगारी पाएका छन्। यो प्लान्टमा काम गर्ने इन्जिनियर बढी छन्।

स्वदेशमै एसेम्बल्ड भए पनि तत्कालै भने मोटरसाइकलको मूल्य भने घट्दैन। बजाजले पनि स्वदेशमै मोटरसाइकल उत्पादन गरेपनि मूल्य घटेको थिएन। सरकारले राजस्वमा दिएको सहुलियत पर्याप्त नभएकाले स्वदेशमै उत्पादन थाले पनि मूल्य घटाउन सकिने अवस्था नरहेको उनले बताए।

सरकारले बाइक आयात गर्दा ४० प्रतिशत अन्त:शुल्क लिने गरेको छ भने यहीँ उत्पादन गर्दा ३५ प्रतिशत अन्त:शुल्क लिने गर्छ। ‘सरकारले अन्त:शुल्कमा दिएको छुटले ठूलो बेनिफिट छैन्। यसले मूल्य घटाउन सकिने अवस्था कम छ,’ अग्रवालले भने, ‘तर सरकारले दिएको बेनिफिटले मोटरसाइकलको एसेम्बल्ड प्लान्ट राख्न बाटो खुलेको छ। यसले रोजगारी सिर्जना गर्दा अर्थतन्त्रलाई फाइदा गर्छ।’

अग्रवालले एसेम्बल्ड प्लान्ट राखेर बाइक बिक्रीलाई मात्रै नहेरी रोजगारी र अर्थतन्त्रलाई समेत फराकिलो बनाउन सहयोग पुग्ने जिकिर गरे। ‘बजाजपछि हाम्रो प्लान्ट आएको छ। यो प्लान्ट आउनुका पछाडि व्यापार मात्रै होइन। यसले नेपालभित्रै सवारी साधन उत्पादनका लागि वातावरण तयार बन्छ,’ उनले भने, ‘विश्वकै उदाहरण हेर्ने हो भने पनि पार्टपुर्जा ल्याएर जोड्ने उद्योगबाट सुरु हुने गरेको छ। त्यसपछि अरु सहायक (एनसिलरी) उद्योगहरु स्थापना हुन्छन्।’

उनका अनुसार मोटरसाइकलका लागि चाहिने प्लास्टिक मोडलिङ गर्ने उद्योग, टायर उद्योगसँगै अन्य धेरै बाइकलाई आवश्यक पर्ने उद्योगहरु स्थापना हुन सक्छन्।

‘सवारी साधन उत्पादन गर्नका लागि यो आइडल उद्योग हो। सरकारले केही प्रोत्साहन दिने हो भने अरु धेरै उद्योगको खोल्ने अवस्था सिर्जना हुन्छ,’ अग्रवालले भने, ‘त्यसका लागि सरकारले ल्याउने नीतिलाई स्थायित्व दिनुपर्छ।’

यसअघि पनि चिनियाँ कम्पनीको अन्ना लिफानले नेपालमा एसेम्बल्ड प्लान्ट स्थापना गरेर मोटरसाइकल उत्पादन गरेको थियो। तर आफ्नो उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न नसकेर उक्त उद्योग बन्द भएको थियो।