BIZMANDU
www.bizmandu.com

कोरोना महामारीले विश्व हवाई उद्योगमा गम्भीर असर, एयरबसले १५ हजार कर्मचारी हटाउँदै

२०७७ असार १७

Tata
GBIME
Nepal Life

एरो स्पेस जायन्ट एयरबसले कोरोना महामारीको असर देखाउँदै विश्वभरबाट १५ हजार रोजगारी कटौती गर्ने भएको छ।

एयरबसले बेलायतबाट मात्रै १७ सय रोजगाारी कटौती गर्नुका साथै जर्मनी स्पेन र अन्य देशबाट हजारौं मानिसलाई कामबाट हटाउने तयारी गरेको हो। कम्पनीको यो योजनालाई  कर्मचारी युनियनहरुले भने 'औद्योगिक बर्बरता'को संज्ञा दिएका छन्।

एयरबसमा विश्वभर १ लाख ३४ हजार मानिस काम गर्छन्। एयरबसले बेलायतमा आफ्नो कमर्सियल एयर क्राफ्ट विभागको रोजगारी कटौती गर्ने बताएको छ।

बेलायतमा आफ्नो कर्मचारी संख्या १५ प्रतिशतले कटौती गर्दा उत्पादनतर्फ ११ सय १६ र ब्यवस्थाापनतर्फ ६ सय ११ रोजगारी बेलायतबाट कटौती हुने कम्पनीले अनुमान गरेको छ।

एयरबसले यो कटौतीलाई अत्यावश्यक भनेको छ। कोरोना महामारीका कारण विश्वभरकै एयर ट्राफिक ९० प्रतिशतभन्दा बढीले घटिसकेको छ। जहाजहरु नउड्दा कमाइ शून्य हुन्छ। तर पनि उनीहरुले न्यूनतम लागत तथा ऋणभार ब्यहोर्नु परिरहेको हुन्छ।

यसैकारण एयरलाइन्सहरुलाई मार परिरहेको अवस्थामा एयरबसले सरकारबाट पाउने सहायताको पूर्ण उपभोग गर्दै रोजगारी कटौतीका लागि ढिलाइ गर्दै आएको कम्पनीले जनाएको छ।

कम्पनीले सन् २०२१ को गृष्मदेखि रोजगारी कटौती गर्दै लैजाने बताएपनि त्यसअघि देखि नै स्वेच्छिक अवकाशको प्रक्रिया सुरु हुुने छ।

गत अप्रिलमै कम्पनीले नराम्रोसँग नगद अभाव झेल्नुपरिरहेको र अवस्था निकै खराब भएको बताएको थियो।

केही महिना यता कम्पनीको उत्पादनमा ४० प्रतिशतले गिरावट आएको छ। कम्पनीले छिटोमा सन् २०२३ पछि मात्र एयर ट्राफिक सामान्य अवस्थामा फर्कने अपेक्षा गरेको छ।

'हामी आजसम्मकै सबैभन्दा कठिन अवस्थासँग जुधिरहेका छौं,' कम्पनीका सिइओ गिलोम फौरीले भने।

यसैबीच इजी जेट एयरलााइन्सले पनि आफ्ना दुई हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ।  एयर फ्रान्सले पनि आगामी दुई वर्षमा ६५ सय रोजगारी कटौती गर्ने तयारी गरेको बताइएको छ।