BIZMANDU
www.bizmandu.com

कुनै पनि बहानामा सेयर बजार बन्द नगर्न पूर्व अध्यक्षहरुको आग्रह: अर्को स्टक एक्सचेन्ज चाहियो

२०७७ असार १६

कुनै पनि बहानामा सेयर बजार बन्द नगर्न पूर्व अध्यक्षहरुको आग्रह: अर्को स्टक एक्सचेन्ज चाहियो
कुनै पनि बहानामा सेयर बजार बन्द नगर्न पूर्व अध्यक्षहरुको आग्रह: अर्को स्टक एक्सचेन्ज चाहियो


काठमाडौं। नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको प्रस्तावित धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सम्बन्धमा गरेको छलफलमा पूर्व अध्यक्षहरुले बजार कुनै पनि बहानामा बन्द गर्न नहुने बताएका छन्।

Tata
GBIME
Nepal Life

बोर्डका पूर्व अध्यक्ष डा. रेवतबहादुर कार्कीले आफ्ना पालामा सुरु भएको कार्यक्रमले निरन्तरता पाएकोमा धन्यवाद दिदैं अर्थतन्त्रको ऐनाको रूपमा रहेको बजारलाई जुनसुकै विषय परिस्थितिमा बन्द गर्न नहुने बताए। 

उनले बोर्डले आफ्नो क्षमता अभिवृद्धि गर्दै स्वायतत्ता हासिल गर्नुपर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रयोग भएको प्रविधि प्रयोगमा जोड दिनुपर्ने बताए।

कार्कीले वस्तु विनिमय बजार शीघ्र सञ्चालन हुनुपर्ने तथा विशिष्टिकृत लगानी कोषको शीघ्र स्वीकृति दिनुपर्ने बताए। उनले बोर्डलाई आयकर लाग्न नहुने, बोर्डको संरचना परिवर्तन हुनुपर्ने, जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने, प्रतिष्पर्धाका लागि अर्को स्टक एक्सचेञ्ज ल्याउनुपर्ने तथा वाणिज्य बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनुपर्ने बताए।

बोर्डका अर्का पूर्व अध्यक्ष प्रा. डा. शुरवीर पौड्यालले नीति तथा कार्यक्रमहरू दोहोरिने गरेको बताए। उनले बजारमा संस्थागत सुशासन अभिवृद्धि, बोर्डको संरचना परिवर्तन गर्नुपर्ने बताए। 

पूर्व अध्यक्ष बाबुराम श्रेष्ठले कोरोनाले पुँजी बजारमा पारेको असरप्रति गम्भीर हुनुपर्ने बताए। उनले अनलाइन कारोबार प्रणाली प्रभावकारी र विश्वसनीय हुनुपर्ने, प्राविधिक जानकारीसमेत दिने गरी वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। 

प्राध्यापक डा.राधेश्याम प्रधानले संस्थागत सुशासनमा जोड दिनुपर्ने बताउँदै नियमन निकायले अध्ययन अनुसन्धानमा जोड दिनुपर्ने बताए। उनले बजार सम्बन्धी तथ्यांक बैंक बिकास गरि अध्ययन अनुसन्धान तथा लगानीका लागि सहजरूपमा तथ्यांक उपलब्ध हुने व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए। 

बोर्डका पूर्व सञ्चालक भोलाराम श्रेष्ठले पछिल्लो समय धितोपत्र बजारको क्षेत्र र दायरा बढेसँगै बोर्डमा चुनौती पनि थपिदै गएकाले संस्थागत क्षमता अभिवृद्धि पहिलो आवश्यकता भएको बताए। 

उनले नियमन निकायको हैसियतले हालको बोर्डको नाम उपयुक्त नदेखिएकाले नाम परिवर्तन गर्नुपर्ने, सूचीकृत कम्पनीको वार्षिक साधारण सभाको प्रभावकारी व्यवस्थापन गर्न आवश्यक भएको पनि बताए। 

बोर्डका पूर्व सदस्य नरबहादुर थापाले सरोकारवालाको अपेक्षाको सम्बोधन हुने गरी नीति तथा कार्यक्रम आउनुपर्ने बताए। उनले पुँजी बजार अर्थतन्त्रसँग पूर्ण आबद्ध नभइसकेको हुँदा वास्तविक क्षेत्रका कम्पनी भित्र्याउन र वस्तु विनिमय बजार सञ्चालनमा विशेष प्राथमिकता दिनुपर्ने र संघीयताको अवधारणासँग पुँजी बजारलाई जोड्न आवश्यक भएको बताए। 

उनले ऋणपत्र बजार बिना धितोपत्र बजारको पूर्ण विकास नहुने धारणा राख्दै ऋणपत्र बजारको विकासमा ध्यान दिनुपर्ने बताए। 

डा. गोपाल भट्टले व्यवसायिक निरन्तरता योजनालाई कार्यान्वयन गर्नुपर्ने, वित्तीय डेरिभेटिभ्स औजारहरूको विकास गरि अभ्यासमा ल्याउनुपर्ने, हकप्रद सेयरमा हुने हकको कारोबार व्यवस्था हुनुपर्ने र सरकारको समेत प्राथमिकतामा रहेको ऋणपत्र बजारको विकासका लागि प्रभावकारी पहल गर्नुपर्ने बताए। 

नेप्सेका पूर्व अध्यक्ष डा. नारायणप्रसाद पौडेलले नेप्सेको प्रतिष्पर्धात्मक क्षमता बढाउनुपर्ने, स्वनियमनको अवधारणा ल्याउनुपर्ने, वास्तविक क्षेत्रको प्रवेशलाई प्रोत्साहन गर्नुपर्ने बताए। 

नेप्सेको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले विदेशी रणनीतिक साझेदार ल्याउने गरी नेप्सेको पुनर्संरचना गर्नुपर्ने, ऋणपत्रको कारोबारका लागि प्लेटफर्म बनिसकेको यस बजारको विकासका लागि बोर्डले नेतृत्व गर्नुपर्ने बताए। उनले वित्तीय डेरिभेटिभ्सको कारोबारका लागि नीति तथा कार्यक्रममा समावेश गर्न उपयुक्त भएको बताए। 

उनले धितोपत्रको सार्वजनिक निष्कासन गर्नुपूर्व त्यो धितोपत्र सूचीकृत हुन उपयुक्त भए नभएको बारेमा नेप्सेको सिफारिस लिन उपयुक्त हुने धारणा समेत राखे।

सिडिएससीका निमित्त प्रमुख कायर्कारी अधिकृत कञ्चन सापकोटाले सिडिएससीको समेत पुनर्संरचना हुनुपर्ने, इ-भोटिङको प्लेटफर्म तथा एकीकृत केवाइसी व्यवस्थापनका लागि प्राथमिकता दिनुपर्ने बताइन्। 

उले सेटलमेन्ट ग्यारेन्टी फण्डको आकार बढाउनुपर्ने, बोनस सेयर दशमलवमा नआउने गरि व्यवस्था गर्नुपर्ने लगायतका धारणा राखेका छन्। 

मर्चेन्ट बैंकर एशोसियसन अफ नेपालका अध्यक्ष ध्रुव तिमल्सिनाले कानुनी व्यवस्था सुदृढ तथा अध्ययन अनुसन्धानमा आधारित हुनुपर्ने धारणा राख्दै धितोपत्र व्यवसायीको क्षेत्र, दायरा तथा कार्यहरू सम्बन्धमा स्पष्ट व्यवस्था हुनुपर्ने बताए। 

स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष भरत रानाभाटले ब्रोकरको आधिकारिक प्रतिनिधि व्यवस्था कार्यान्वयनमा आउनुपर्ने, ब्रोकर डिलरको नीतिगत व्यवस्था हुनुपर्ने, लगानी व्यवस्थापन र एडभाइजरी सेवा ब्रोकरका लागि खुला हुनुपर्ने बताए। उनले मार्जिन कारोबारमा ब्याजदर सम्बन्धमा समन्वय हुनुपर्ने र बजारलाई अत्यावश्यक सेवामा राख्नुपर्ने बताए। 

कार्यक्रममा बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले नेपालको पुँजी बजारको विकासका लागि बजेटमा परेका कार्यक्रमको स्मरण गर्दै बोर्डको नीति तथा कार्यक्रमका लागि प्राप्त सुझावका लागि सबैलाई धन्यवाद दिए।