BIZMANDU
www.bizmandu.com

‘पारी’बाट जवाफ नआउँदा मंगलबार पनि भित्रिएन केरुङबाट सामान, जवाफ कुर्दै रसुवा भंसार

२०७७ असार १६

Tata
GBIME
Nepal Life

काठमाडौं। सोमबारदेखि नाका संचालन गर्ने निर्णय गरेर अघिल्लो दिन नै सबै तयारी गरेपनि रसुवा भन्सारमा सामान आउन सुरू भएन।
पारीको केरुङका चिनियाँ अधिकारी र व्यवसायीले चासो नराख्दा मंगलबार पनि उक्त नाका सहज हुन नसकेको रसुवा भंसारले जनाएको छ।

लामो समयदेखि केरुङ सीमा नाकामा अलपत्र सामानहरु सोमवार रसुवा भन्सारमा आउने भएको थियो। राजधानीमा चिनियाँ राजदूतावासका प्रतिनिधिसहित बसेको वाणिज्य तथा आपूर्ति  मन्त्रालयको बैठकले एकतर्फी नाका खोल्न निर्णय गरेको थियो।

'गएको बिहीबारदेखि हामीले सामान आयात गर्ने प्रक्रिया अगाडि बढाएका थियौं,' रसुवा भन्सार प्रमुख पुण्यविक्रम खड्काले भने, 'हामीले  चालक, सहचालक र लेबरहरुको कोरोना परीक्षण रिपोर्टसहितको कागजपत्र पुल पारी पठाइसकेका थियौं। इमेल पनि पठायौं, तर आजसम्म (मंगलबार) पारिबाट जबाफ आइसकेको छैन।'  

चीनको वुहानमा कोरोना संक्रमण फैलिएयता नाकाहरू बन्द गरिएका थिए। बिस्तारै स्थिति सामान्य बन्दै आएपछि नाका खुलाएर आयात-निर्यात सहज बनाउन सरकार सकारात्मक भए पनि केरुङबाट चिनियाँ अधिकारीहरूले तदारुकता देखाएका छैनन्।

नेपाली व्यवसायीहरूका अनुसार तातोपानीका तुलनामा केरुङ नाकाबाट ढुवानी केही सस्तो पर्छ। त्यसैले धेरैका अर्डरका सामान लिएर कन्टेनर रसुवा भंसार हुँदै भित्रिनु पर्ने थियो। नेपाली व्यवसायीले सामान ल्याउन खोजिरहे पनि चिनियाँ नाकाका अधिकारी र व्यवसायीले हतार नगर्दा ढुवानीका साधन वारिपारि गरेका छैनन्।  

'हामी सम्पर्क गर्ने प्रयासमा छौं,' प्रमुख खड्काले भने, 'पारिबाट जवाफ आएपछि कन्टेनर नेपाल भित्रिन सुरु हुनेछ।'