BIZMANDU
www.bizmandu.com

पर्यटनमन्त्री भट्टराईले मन्त्रालयमा गयल कर्मचारीबारे सोधे, १५ दिनभित्र काम सक्न निर्देशन

२०७७ असार १६

Tata
GBIME
Nepal Life

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार मन्त्रालय निरीक्षण सुरु गरेका छन्। आफ्नो मातहतमा रहेको मन्त्रालयको विभिन्न शाखाहरुमा मंगलबार मन्त्री भट्टराईले निरीक्षण गरेका हुन्।

निरीक्षणको क्रममा केही शाखामा कर्मचारीहरु अनुपस्थित रहेको पाईएपछि मन्त्री भट्टराईले कर्मचारी महाशाखाका प्रमुख एवं प्रवक्ता रुद्रसिह तामाङलाई कर्मचारी अनुपस्थित रहनुको कारण पेश गर्न निर्देशन दिएका छन्।

मन्त्री भट्टराईले सम्पूर्ण कर्मचारीलाई नियमित उपस्थित हुने ब्यवस्था मिलाउन निर्देशन दिएको मन्त्रालयले जनाएको छ। निरिक्षणका क्रममा मन्त्री भट्टराईले कार्यालयको सरसफाई र कार्यालयको लेआउटमा ध्यान दिन समेत निर्देशन दिएका छन्।

नेपाल सरकारको मन्त्रीपरिषदको निर्णय बमोजिम कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न आवश्यक तयारी गर्नका लागि पनि मन्त्री भट्टराईले विभिन्न शाखाका प्रमुखलाई निर्देशन दिएको मन्त्रालयले तयार पारेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

पर्यटन मन्त्रालय मातहतमा रहेका सवै कार्यालयको क्रमैसँग निरीक्षण गर्ने  मन्त्री भट्टराईले बताएका छन्। गत आइतबार मन्त्री भट्टराईले राम्रो कार्यसम्पादन नगर्ने कर्मचारीलाई विनम्रतापूर्वक हटाइने बताएका थिए।

आइतबार मन्त्रालयमा आयोजित बैठकमा मन्त्री भट्टराईले भनेका थिए,–‘अहिल्यै मैले पूर्व सूचना गरेको छु । साउनबाट हामी काममा अझै ‘प्रोएक्टिभ’ भएर लाग्छौं । राम्रो काम नगर्ने कर्मचारीलाई हटाईन्छ । त्यो बेला मन्त्रीले बलपूर्वक हटायो नभन्नु होला ।’

आफूले प्रधामन्त्रीसँग, सचिवले आफूसँग कार्यसम्पादन सम्झौता गर्ने अभ्यास स्मरण गराउँदै  मन्त्री भट्टराईले भने–‘तपाईहरुले पनि सचिवसँग कार्यसम्पादनको सम्झौता गर्नुपर्छ । उक्त सम्झौताअनुसार काम भए नभएको हेरेर कसैमाथि पूर्वाग्रह नराखी पुरस्कृत र कार्वाही जे गर्नुपर्ने हो त्यो गरिन्छ ।’

मन्त्री भट्टराईले चालू आर्थिक वर्षमा सम्पन्न हुन बाँकी काम पनि १५ दिन भित्र सम्पन्न गर्न निर्देशन दिइसकेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मन्त्री भट्टराईले प्रत्येक साता प्रत्येक महाशाखाहरुको कामको रिर्पोटिङ गरिने बताएका छन्।