BIZMANDU
www.bizmandu.com

मुआब्जा विवादले लामो समय खाली रहेको तीनकुनेमा बुद्धपार्क बन्ने, यस्तो छ तयारी

२०७७ असार १६


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माण अघि बढाउने भएको छ।

Tata
GBIME
Nepal Life

सरकारले २०३२ साल जेठ १४ मा जग्गाप्राप्ति ऐन अनुसार तीनकुनेको जग्गा अधिग्रहण गरेदेखि नै तीनकुनेमा पार्क बनाउने योजना बनाएको हो । तर अहिलेसम्म कार्यान्वयनमा जान सकेको भने  थिएन। यस अघि पनि महानगरपालिकाले पटक पटक योजना सार्वजनिक गर्दै आएको छ।

आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमै बुद्धपार्क निर्माण गर्ने योजना समावेश गरेको काठमाडौँ महानगरपालिकाले पार्क निर्माणको कामलाई अघि बढाउने बताएको छ। ‘तीनकुनेको खाली जग्गाको मुआब्जा विवाद सुल्झाउन नसक्दा यो योजना अलपत्र परेको छ । यस पटक सबै विवादको अन्त्य गरेर योजना अघि बढाउने तयारीका साथ हामी अघि बढेका छौँ ।’

महानगरका मेयर बिद्यासुन्दर शाक्यले भने,'मुआब्जा विवाद सुल्झाउन प्रारम्भिक अधिकारी नै तोकेको र अधिकारीले प्रतिवेदन सम्बन्धित निकायमा पठाइसकेका छन्।' महानगरपालिकाले तोकेको प्रारम्भिक अधिकारीले सरोकारवाला निकायसँग निरन्तर छलफल गरिरहेका छन्।  ‘हामीले डिजाइन तयारी अवस्थामा राखेका छौँ । समस्या समाधान हुने वित्तिकै काम तिव्र गतिका साथ अघि बढ्छ ।’उनले भने।

संघीय सरकार समेत अधिग्रहण गर्न बाँकी जग्गाको मुआब्जा वितरणका लागि आवश्यक रकक व्यवस्थापन गर्न सकारात्मक रहेकाले पार्क निर्माण अघि बढ्ने महानगरका अधिकारीहरुको दाबी  छ। ‘सार्वजनिक जग्गा संरक्षण गर्ने, हरियाली प्रर्वद्धन गर्ने, सहरको सौदर्य बढाउन पार्क निर्माण गर्नेलगायत महानगरपालिकाको नीति नै हो । हामीले यसै अनुरुप तीनकुनेमा बुद्धपार्क निर्माण गर्न चाहेका हौँ ।’  मेयर शाक्यले भने।

केही जग्गाधनीले चलनचल्तीको मुल्यअनुसार मुआब्जा पाउनुपर्नेलगायतका माग गरेपछि विवाद अहिलेसम्म टुंगोमा पुग्न सकेको छैन । धेरै जग्गाधनीले पहिले नै मुआब्जा पाइसकेका छन् ।  ‘हामीले करीब ५० रोपनी भन्दा बढी क्षेत्रफलमा फैलिएको  तीनकुनेमा बुद्धपार्क निर्माणका लागि डिजाइन तयार पारिसकेका छौँ,’ सम्पदा तथा पर्यटन विभाग प्रमुख अर्चना श्रेष्ठले भनिन्, ‘हिन्दु र बौद्ध धर्मको मर्मको फ्युजन गरी निर्माण हुने उक्त पार्कको तीन कुनामा ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका साथै ‘बुद्ध’, ‘धर्म’ र ‘संघ’ (म बुद्धको शरणमा जान्छु, म धर्मको शरणमा जान्छु, म संघको शरणमा जान्छु)लाई आधार मानेर डिजाइन तयार गरिएको छ ।’

मेयर शाक्यका अनुसार अण्डरग्राउण्ड पार्किङ, पहिलो तलामा क्युरिओका सामानहरु बेच्ने पसल, सार्वजनिक शौचालय तथा प्रदर्शनी कक्षहरु रहने छन् ।

पार्क अपाङ्गमैत्री, बालबालिकाका लागि खेल्ने ठाउँ, जेष्ठ नागरिकका लागि आराम गर्ने, स्थान, साइकल ट्रयाकलगायत पनि रहनेछन्। माथिल्लो तलामा २ सय जना अटाउने ध्यानकेन्द्र रहने छ । ध्यानकेन्द्रमा विभिन्न आध्यात्मिक कार्यक्रमका लागि उपयोग गरिने छ ।
त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल नजिकै निर्माण हुने बुद्धपार्कले पर्यटकलाई आकर्षित गर्ने र सहरको सौन्दर्य बढाउन उपयुक्त स्थान हुने शाक्यको भनाइ छ।

‘अन्तराष्ट्रिय विमानस्थल नजिकै रहेको यो पार्क निर्माण सम्पन्नपछि जहाँजबाटै पनि सुन्दर र शान्त देखिने छ,’ उनले भने। डिजाइनमा वाटर फाउण्टेन पनि राखिएको छ । जहाँ पानीको रंगिन छहरासँगै प्राकृतिक ध्वनी उत्पन्न हुनेछ र त्यसले सबैलाई आनन्दित बनाउने छ ।   
शंख अर्थात प्रशिद्धी, दिर्घायू, सवृद्धि र आत्मा–शान्तिका साथै चक्र अर्थात शुद्ध चेतनालाई समेत आधार मानेर डिजाइन तयार गरिएको शाक्यले बताए।

डिजाइन अनुसार तीनकुनेको बीचमा १३ मिटर अग्लो र ९६ मिटर व्यासका गुम्बज आकारको संरचना रहने छ । त्यहि गुम्बज आकारमा करीब १६ मिटर अग्लो बुद्धको मुर्ति रहने छ । मुर्तिको बेस १२ मिटर व्यासको रहने छ । बुद्धमुर्तिको तल ६ मिटर चौडाईको धर्म–परिक्रमाचक्र रहने छ । तीनकुनेको तीनवटा कुनामा शंख आकारको पार्क रहने छ ।

मूर्तिबाहेक करीब डेढ अर्बको लगानीमा निर्माण हुने बुद्धपार्कमा बुद्धमूर्ति भएको ठाउँसम्म पुग्न १२ ओटा प्रवेशद्वार राखेर डिजाइन तयार पारेको पनि शाक्यले बताए ।  ‘बाटो सकिने वित्तिकै तीन मिटरको साइकल ट्याक रहने छ,’ उनले भने, ‘त्यसपछि फाउण्टेन र हरियाली रहने छ । अनिमात्रै घुम्ने धर्मचक्र र त्यसपछि बुद्धमूर्ति रहने छ ।'

विवाद समाधनका लागि भएका प्रयासहरु

मुआब्जा विवाद सुल्झाउन महानगरपालिकाको निर्देशक दिपक अधिकारीलाई प्रारम्भिक अधिकारी तोकिएको छ। अधिकारीले आफूले उक्त जिम्मेवारी पाएपछि प्रारम्भिक प्रतिवेदन जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई बुझाई सकेको बताए ।

‘मैले तीन कुनेको जग्गाका बारेमा विवाद भएको, ३५ रोपनी मध्ये २१ रोपनी जग्गाको मुअब्जा दिइसकेको, नेपाल सरकारले पठाएको १५ करोड मध्ये १० करोड ८० लाख वितरण गरेको बाँकी रकम फिर्ता पठाएकोलगायतका विषय समावेश गरेर प्रारम्भिक प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई बुझाएको छु,’ अधिकारीले भने, ‘म प्राविधिक व्यक्ति नभएकाले प्रतिवेदनमा त्यहाँको जग्गाको मुअब्जा दिन बाँकी रहेको र हाल साविक गरेर अधिग्रहण गर्न बाँकी रहेको जग्गाको एकिन तथ्याङ्क निकाल्न नापी र मालपोतसँग समन्वय गर्न पनि आग्रह गरेको छु ।’

अधिकारीले छिटै टुंगोमा पुगेर प्रमुख जिल्ला अधिकारी, काठमाडौँ महानगरपालिकासँगै नापी र मालपोतका अधिकारीसहित छलफल गर्ने बताए।

तीनकुनेको अलमल कहिलेदेखि ?

नेपाल सरकारले २०३२ साल जेठ १४ मा जग्गाप्राप्ति ऐन अनुसार तीनकुनेको जग्गा अधिग्रह गरेको थियो । त्यतिबेला जग्गा अधिग्रहण गरे पनि विवादका कारण लामो समय त्यत्तिकै रहयो । पछिल्लो सयम २०५९ असार ३२ मा मुआब्जाको रकम प्रतिरोपनी ५१ लाख २० हजार भनेर तत्कालिन नेपाल सरकारले तोक्यो ।

नेपाल सरकारले त्यहि अनुारको रकम निकासा गर्यो र महानगरपालिकाले वितरण प्रक्रिया अघि बढायो । काठमाडौँ महानगरपालिकाले दिएको जानकारी अनुसार ३५ कित्ता जग्गाको मुआब्जा वितरणका लागि सरकारले १५ करोड निकासा गरेको थियो । सोही अनुसार २०६४ माघ १४ देखि ६६ माघ मसान्तासम्म काठमाडौँ महानगरपालिकाले २१ रोपनी ११ आना २ पैसाको जग्गा धनीलाई मुआब्जा रकम दिएको थियो ।

बाँकी जग्गा धनीले मुआब्जा रकम बुझ्न नमानेपछि २०७० साल साउन २४ गते काठमाडौँ महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई बाँकी रकम फिर्ता पठाएको थियो । त्यसपछि पनि लामो समय त्यो विवाद त्यत्तिकै रहेको थियो । काठमाडौँ महानगरपालिकामा  शाक्य निर्वाचित भएर आएपछि फेरि त्यहाँको विवाद समाधानका लागि पहल भएको दाबी गरिएको छ।