BIZMANDU
www.bizmandu.com

बेकरी क्याफेका दुई आउटलेट बन्द, तीन दशक पुरानो रेष्टुरेन्टलाई बजारको अवस्थाले अन्योल


बेकरी क्याफेका दुई आउटलेट बन्द, तीन दशक पुरानो रेष्टुरेन्टलाई बजारको अवस्थाले अन्योल
बेकरी क्याफेका दुई आउटलेट बन्द, तीन दशक पुरानो रेष्टुरेन्टलाई बजारको अवस्थाले अन्योल

Tata
GBIME
Nepal Life

काठमाडौं। उपत्यकाको रेस्टुरेन्ट व्यवसायमा अग्रणी 'द बेकरी क्याफे'ले लकडाउन अवधिमा आफ्ना दुईवटा आउटलेट बन्द गरेको छ। तीन दशकदेखि संचालनमा रहेको नाङ्लो इन्टरनेशनलले बजारको अवस्था हेर्दै नयाँ आउटलेट थप्ने योजना पनि तत्कालका लागि स्थगित गरेको छ।

सन् १९९१ डिसेम्बर १६ मा नाङ्लो समुहले आफ्नो क्याफेको पहिलो आउटलेट तीनधारामा खोलेको थियो। महाराजगञ्ज र नक्सालका आउटलेट बन्द गरिएको नाङ्लोका संचालक श्यामसुन्दर लाल कक्षपतिले बताए। 'नक्सालको भाटभटेनीले ६ महिना अगाडि नै नयाँ भवन बनाउने भनेर हामीलाई पत्राचार गरेको थियो,' उनले भने, 'त्यसैले त्यहाँको हाम्रो आउटलेट बन्द गर्‍यौं। त्यसलाई अन्त सार्ने अवस्था पनि भएन।'

नक्साल भाटभटेनीमा रहेको क्याफेको नारा थियो-‘सप एण्ड इट।’ नेपालको सबैभन्दा ठूलो डिपार्टमेन्टल स्टोरको पहिलो आउटलेटमा क्याफे स्थापना भएको थियो।

 भाटभटेनीमा किनमेलपछि खानाको लागि क्याफेमा जाने प्रचलनलाई हेरेर स्थापना गरिएको थियो। यो आउटलेट सन् २००८(१२ वर्ष अघि) स्थापना भएको थियो। त्यसको एक वर्षपछि महाराजगंजमा अर्को आउटलेट स्थापना भएको थियो।

 उक्त आउटलेट बन्द नगरी सार्ने योजनालाई लकडाउनले सिर्जना गरेको परिस्थितिले असर पारेको उनले बताए। 'बजारको अहिलेको अवस्थामा कर्मचारीको पारिश्रामिक, घरभाडा लगायतको खर्च धान्नै गाह्रो भइसकेको छ,' उनले भने, 'सरकारका तर्फबाट कुनै राहत छैन। व्यवसायीले नयाँ योजना ल्याउनै नसक्ने परिस्थीति बनेको छ।' संकट सामना गर्नका लागि उपयुक्त विकल्प नयाँ योजना अघि नबढाउनु नै देखिएको उनले बताए। 

महाराजगञ्जस्थित भाटभटेनीको ग्राउण्ड फ्लोरमा रहेको रेष्टुरेन्टमा ग्राहकको चहलपहल कम भएका कारण आउटलेट बन्द गरिएको उनले जानकारी दिए। 'तीन वर्षयता अब रेष्टुरेण्ट व्यवसाय गर्न निकै गाह्रो देखिसकिएको छ। प्रतिस्पर्धा धेरै छ। त्यसमाथि कोभिड-१९का कारण पर्यटन सँग जोडिएको यो व्यवसाय समग्र रुपमै प्रभावित हुने देखिएको छ। आम्दानी छैन। संचालन गर्न गाह्रो देखियो,' उनले भने।

कम्पनीले १६ करोड रुपैयाँको लागतमा संचालित सात रेष्टुरेण्टमध्ये दुईवटा बन्द गरिसकेको उनले बताए। कम्पनीका सातैवटा आउटलेटमा करिब तीन सय जनाले रोजगारी पाएका थिए। सरकारले लकडाउन खुकुलो पारेयता खोलिएका आउटलेटहरूको अवस्था पनि नाजुक छ।

सम्भाव्यता अध्ययनका लागि रेष्टुरेन्टले केही साताभित्र काठमाडौं र ललितपुरको दुईवटा आउटलेटमार्फत प्याकिङ डेलिभरीको सेवा सुरु गर्ने योजना रहेको उनले जानकारी दिए। कोभिड-१९ का कारण ५० प्रतिशत रेष्टुरेण्ट बन्द हुने अवस्था रहेको प्रक्षेपण गर्दै उनले भने, 'यहाँ ०.०१ प्रतिशत व्यवसायीले आफ्नै घरमा रेष्टुरेण्ट संचालन गरेका छन्। बाँकीले त घर भाडामा लिएर संचालन गर्दै आएका छन्। यस्तो अवस्थामा व्यवसाय शून्य छ, अनि भाडाबाटै जीवीकोपार्जन गर्ने घरमालिकले भाडा नउठाउन कसरी ? उता कर्मचारीको पारिश्रामिक, विजुली, पानी लगायतको खर्च। कसरी धान्न सकिन्छ ?'

एसओपी 'स्टाण्डर्ड ओपरेसन प्रोसिड्योर' लागू भइसकेपछि पनि ५० प्रतिशत ग्राहकलाई मात्र सेवा दिन पाइने लगायतका प्रावधानले व्यवसायमा प्रभाव पर्ने उनले जानकारी दिए। तीन वर्षअघि वार्षिक आम्दानीमा २५ प्रतिशतले वृद्धि भइरहेको अवस्था थियो। बजारमा बिस्तारै बढेको प्रतिष्पर्धासँगै पछिल्लो समय आमदानीमा गिरावट आइरहेको भए पनि कोरोनाको महाव्याधि सुरु हुनु अघिसम्म खर्च नै धान्न गाह्रो परिसकेको थिएन।