BIZMANDU
www.bizmandu.com

लकडाउन सहज हुँदा साल्ट ट्रेडिङको खाद्यान्न बिक्री घट्यो, ग्यासको खपत भने बढ्दै


Tata
GBIME
Nepal Life

काठमाडौं। लकडाउन खुकुलो भएर जनजीवन सहज हुँदै जाँदा साल्ट ट्रेडिङ कर्पोरेसनको  घुम्ती सेवाबाट हुने खाद्यान्न बिक्री कम हुन थालेको छ। असार १ गतेदेखि लकडाउन खुकुलो हुँदै बजार खुल्दा आफूहरूका आउटलेटबाट हुने गरेको दैनिक बिक्री घटेको साल्ट ट्रेडिङका बजार प्रबन्धक प्रज्वल प्रधानले बताए।

लकडाउनको अवधिभर मोबाइल भ्यान र आउटलेटबाट दैनिक १२ लाख बराबरको  खाद्यान्न र इन्डक्सन चुल्हो बिक्री हुँदै आएको थियो। पहिलेको तुलनामा २/३ लाख रुपैयाँको दैनिक कारोबार घटेको प्रधानले जानकारी दिए।

बजार खुल्दा साल्ट ट्रेडिङको खाद्यान्नका आउटलेटहरुमा सर्वसाधारण आउन कम हुन थालेको उनले बताए। उनका अनुसार लकडाउन खुकुलो भएर उपत्यकामा मानिसहरुको चहलपहल बढ्न थालेसँगै साल्ट ट्रेडिङको एसटिसी ग्यासको भने खपत बढ्न थालेको छ।

साल्ट ट्रेडिङले तीनवटा मोबाइल भ्यानमार्फत उपत्यकाभित्र खाद्यान्न बिक्री गर्दै आएको छ। उनले भने 'मोबाइल भ्यानबाट दैनिक ३ लाखसम्म कारोबार हुने गरेको छ। अन्य  ७ वटा आउटलेटबाट दैनिक ६ देखि ७ लाखको बिक्री भइरहेको छ।'

हाल चन्द्रागिरि, टोखा र भक्तपुर लगायतका क्षेत्रमा मोबाइल भ्यान जाने गरेको बजार प्रबन्धक प्रधानले बताए । बर्खाको समय भएकाले हाल उपत्यका बाहिर भने मोबाइल भ्यान जान समस्या हुने गरेको उनको भनाइ छ।

लकडाउन सुरु भएदेखि नै साल्ट ट्रेडिङले नुन, दाल, चामल, तेल र  गेडागुडी प्याकिङ गरी १० प्रतिशत छुट दिइ बिक्री गर्दै आएको थियो।

दुई किसिमको इन्डक्सन चुल्हो बिक्री गर्दै

हाल साल्ट ट्रेडिङले दुई किसिमको इन्डक्सन चुल्हो बिक्री गर्दै आएको छ। भारतीय कम्पनीको इन्फारेड इन्डक्सन चुल्होको ३५ सय रुपैयाँ पर्छ भने साधारण इन्डक्सन चुल्होको २६ सय ५० रुपैयाँ मूल्य तोकिएको छ। हाल दैनिक १० देखि २५ थान इन्डक्सन कालीमाटीस्थित आउटलेटबाट मात्र बिक्री हुने गरेको कम्पनीले जनाएको छ।

'चुल्होको माग पहिले जस्तै छ । इन्फ्रारेड चुल्हो महंगो भए पनि यसमा सबैखाले भाडाको प्रयोग गर्ने मिल्ने हुनाले बिक्री राम्रो रहेको छ,' बजार प्रबन्धक प्रधानले भने। दुवै किसिमका इन्डक्सन चुल्होमा कम्पनीले एक वर्षको वारेन्टी समेत दिएको छ।  

साल्ट ट्रेडिङले इन्डक्सनको लागि प्रयोग गरिने भाडाको सेटहरु पनि छुट्टै खरिद गर्ने ब्यवस्था ग्राहकका लागि मिलाएको छ। यसका लागि उपभोक्ताले थप १२ सय रुपैयाँ खर्चँदा ५ वटा भाँडाको सेट पाइन्छ।