BIZMANDU
www.bizmandu.com

जोरबिजोर गरी ट्याक्सी चलाउन दिनुपर्ने व्यवसायीको माग, ‘कालो प्लेटमा मात्र कोरोना सर्छ?’

२०७७ असार १६

Tata
GBIME
Nepal Life

काठमाडौं। जोर बिजोर प्रणालीका आधारमा संचालन गर्न पाउनुपर्ने माग गर्दै ट्याक्सी व्यवसायीहरुले मंगलबार यातायात व्यवस्था विभाग घेराउ गरेका छन्।

उनीहरुले विभाग अघि ट्याक्सी राख्दै विरोध जनाए। अखिल नेपाल ट्याक्सी मजदुर संघ र उपत्यका ट्याक्सी स्वरोजगार संघले सयुक्त रूपमा विरोध कार्यक्रम गरेका हुन्।

यस अघि नै ट्याक्सी व्यवसायीहरुले यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेटेर एक सूत्रीय मागसहितको ज्ञापनपत्र बुझाएका थिए। उक्त ज्ञापनपत्रको कुनै सुनुवाइ नभएको नेपाल यातायात मजदुर संघ बागमती प्रदेशका अध्यक्ष जगन्नाथ गौतमले गुनासो गरे।

उनले ट्याक्सी संचालन गर्न दिनु पर्‍यो भनेर माग राख्दा कुनै सुनुवाइ नभएको भन्दै बाध्य भएर विभागमा विरोध कार्यक्रम गर्नु परेको बताए। 'निजी सवारी साधन र मोटरसाइकल जोरबिजोरमा चल्न दिँदा ट्याक्सी चाहिँ किन चल्न नदिएको बुझ्न सकिएन,' उनले भने, 'एम्बुलेन्स सरह प्रयोग हुने ट्याक्सी निजी सवारी साधनभन्दा पहिले संचालन हुन दिनुपर्ने हो।'

उनीहरुले 'बैंक तथा फाइनान्सले गाडी खोस्ने अवस्था आयो सरकार !,' 'राज्यको दोस्रो एम्बुलेन्सको दर्जामा रहेको अत्यावश्यक सवारी ट्याक्सीको संचालन गर,' 'रोगले भन्दा भोकले मर्ने अवस्था आयो सरकार काम गरि खानदेउ,' 'रातो प्लेटको निजी सवारीमा कोरोना नसर्ने,कालो प्लेटमा मात्र सर्ने यो कस्तो रोग हो सरकार' लेखेका प्ले कार्ड ट्याक्सीमा टाँसेर र बोकेर विरोध जनाएका छन्।

ट्याक्सी अरु सार्वजनिक सवारी साधनको तुलनामा सुरक्षित हुने उनीहरुको भनाइ छ। यसमा अन्य सवारी साधनमा जस्तो धेरै मानिसहरु चढ्ने नमिल्ने,एउटै परिवारका मात्र चढ्ने, बीचमा कतै नरोकी गन्तब्यमा सिधै पुर्‍याउने भएकाले जोखिम कम हुने उनीहरुको तर्क छ।

केही समय अघि ट्याक्सी चालकहरुलाई परिचयपत्र वितरण गर्दा करिब २० हजार चालक रहेको पाइएको उनले बताए। ती २० हजारका परिवारका ५ जनाका दरले हिसाब गर्दा १ लाख जनाले खान नपाउने अवस्था आएको उनको भनाइ छ। उपत्यकामा मात्रै ११ हजार ट्याक्सी रहेको बताइएको छ।

'घरमै राखे पनि हुने अत्यावश्यक नभएका निजी गाडी खोलेर ट्याक्सीलाई रोकेकोमा  विरोध हो,' उनले भने। आजको आन्दोलनको समीक्षा गरेर सबै व्यवसायी समिति, मिटर ट्याक्सी व्यवसायी संघ, तीनवटै ट्रेड युनियनको बैठक बसेर थप कार्यक्रम तय गरिने बताए।