BIZMANDU
www.bizmandu.com

भारतबाट आयात गरिने धानको विकल्पमा उन्नत जात सिफारिस,हर्दिनाथको हाइब्रिड पनि आयो

२०७७ असार १६

Tata
GBIME
Nepal Life

वीरगंज। धान उत्पादनमा आत्मनिर्भर नभएको कारण भारतबाट हुने आयातको परिमाण बर्सेनि बढेको छ। आयात निरुत्साहित गर्न आन्तरिक उत्पादन बढाउनु पर्छ। यसका लागि मुलुकमै अनुसन्धानपछि धानका उन्नत जात सिफारिस हुँदै आएको छ।

कृषि अनुसन्धान परिषद्का वैज्ञानिकहरुले केही वर्षदेखि गरेको अनुसन्धानपछि बासमती र कतर्नी धानको विकल्पका रूपमा दुई उन्नत जात सिफारिस गरेका छन् ।

क्षेत्रीय कृषि अनुन्धान केन्द्र परवानीपुरका क्षेत्रीय निर्देशक केशवप्रसाद श्रेष्ठका अनुसार एक महिनाअघि कृषि अनुसन्धान परिषद् (नार्क)ले सिफारिस गरेका धानमा दुई वटा बासमती र कतर्नी छ भने हर्दिनाथकै दुई वटा हाईब्रिड छ। यी जात नेपाली हावापानीअनुसार राम्रो उत्पादन दिने ठहर नार्कको छ।

भारतबाट बर्सेनि करिब ३६ अर्ब मूल्य बराबरको धान आयात गरिन्छ। यसले गर्दा अर्बौ रुपैया बाहिरिदाँ नेपाली अर्थतन्त्रमा नकारात्मक असर पर्छ। भारतबाट बासमती र कतर्नी धान अत्यधिक मात्रामा आयात हुन्छ।

बासमतीभन्दा कतर्नी आयातको परिमाण ठूलो देखिन्छ । ‘केही दशकदेखि नेपालमा भारतबाट आयात दिनप्रतिदिन बढदै गएको छ,यसलाई रोक्न स्वदेशी उन्नतजातको बासमति र कतर्नी धान सिफारिस भएर आएको छ,’उनले भने,‘यसले नेपाली किसानको मागलाई सम्बोधन गर्दछ,अब भारतीबाट आयातको सटा नेपालमै प्रयाप्त मात्रामा धान फलाउन वीउँमा ध्यान दिनु पर्यो,उत्पादन आफै बढने छ ।’

उनले प्रति कठ्ठामा १ सय ६६ किलो उत्पादन क्षमताको बासमती धान– ‘शुद्धोधन कालानमक’ र प्रति कठ्ठा १ सय ३३ किलो उत्पादन हुने कतर्नी धान–‘हर्दिनाथ सभा’ सिफारिस भएर आएको बताए।

हर्दिनाथ हाईब्रिड १ र हर्दिनाथ हाईब्रिड ३ पनि सिफारिस भएर आएको केन्द्रका वरिष्ठ प्राविधिक अधिकृत एवं केन्द्रका सूचना अधिकारी राजेन्द्र प्रसाद यादवले जानकारी गराए ।

उनका अनुसार उन्नत तथा गुणस्तर वीउको अभावमा नेपाली किसानले मेहनत गर्दा पनि सोचे अनुरुपको धान उत्पादन गर्न नसकेको बेला बासमती,कतर्नी र सोना मन्सुली अर्थात हर्दिनाथको दुई वटा बर्णशंकर(हाईब्रिड)धान सिफारिस भएको हो। आगामी दिनमा धान उत्पादनमा वृद्धि हुने उनले विश्वास व्यक्त गरे ।