Bizmandu
www.bizmandu.com

चिनी उद्योगी र व्यवसायीबीच दोहोरी, उद्योगीले चिनी लुकाएर कृत्रिम अभाव गराएको आरोप



विराटनगर।  देशभित्रका चिनी उद्योगहरूले चिनी लुकाएर कृत्रिम अभाव गराइरहेको आरोप व्यवसायीले लगाएका छन् । आगामी दसैंतिहारमा चिनीको मूल्य प्रति किलोग्राम १०० रुपैयाँसम्म पुर्‍याउने नियतले उद्योगीले चिनी लुकाएको आरोप चिनीका कारोबारीले लगाएका हुन् ।

‘एभरेस्ट चिनी उद्योगले स्टक सकियो भन्न थालेको छ,’ चिनीका कारोबारी नवरतन लुनियाँले बिजमाण्डूसित भने, ‘इन्दुशंकर चिनी मिलले पनि बेच्ने माल छैन भनिरहेको छ । हिमालय चिनी उद्योगले धेरै खुसामत र भनसुन गरेपछि प्रति किलो ६८ रुपैयाँमा मूअकर जोडेर चिनी दिन्छ । त्यो पनि मागेभन्दा आधा कम ।’

‘उद्योगीले चिनीको कृत्रिम अभाव गराएको बारेमा सरकारको कानमा कुरा पुगिसकेको छ,’ व्यवसायी लुनियाँले भने, ‘सरकारले बेलैमा ठोस निर्णय गर्न सकेन भने उद्योगहरूले मूल्य अझ बढाउँछन् ।’

Sipradee
Sanima Bank
TVS

नवरतनका अनुसार लकडाउन पहिले चिनीको कारखाना मूल्य प्रतिकिलो ६० रुपैयाँ र मूअकर थियो । उद्योगीहरू हरेक सौदामा प्रतिकिलो १ रुपैयाँ मूल्य बढाइरहेका छन् । अहिले मूअकरबाहेक प्रतिकिलो ६८ देखि ७० रुपैयाँ लिन थालिसकेका छन् । जुन उद्योगले सस्तो बेच्छ वा बेच्न खोज्छ उसलाई सबै उद्योगी मिलेर गाली गर्छन् । चिनीमा कार्टेलिङ र सिन्डिकेट भइरहेको छ ।

उनले दोहोर्‍याए, ‘सबै उद्योगसित स्टक छ, तर छैन भनिरहेका छन् । हामीले अर्थ मन्त्रालय र वाणिज्य मन्त्रालयमा कुरा पुर्‍याइसकेका छौं, तर सरकारले चासो देखाइरहेको छैन ।’

व्यवसायी लुनियाँले उद्योगीहरूले आफूमात्र चिनी आयात गर्न पाउनुपर्छ भनेर सरकारमा लबिङ गरिरहेको दाबी गर्दै सरकारले एउटा पक्षलाई मात्र पैठारी गर्न दिनु नहुने आग्रह गरे ।

उनले भने, ‘उनीहरूले किसानको पैसा रोकेर राखेका छन् । त्यही पैसाले चाडबाडका बेला उनीहरू सुविधामा चिनी आयात गर्न सरकारमा पहल गरिरहेका छन् । यो सरासर गलत हो ।’

क्वालिटी बिस्कुट एन्ड कन्फेक्सनरीका सञ्चालक श्याम काबराले २ हप्तादेखि आफ्नो उद्योगले भनेजति चिनी नपाएको गुनासो गरे ।
आफ्नो उद्योगलाई दैनिक १० टन चिनी चाहिने उल्लेख गर्दै उद्योगी काबराले विगत १५ दिनदेखि आपूर्तिकर्ताले भनेका बेलामा चिनी दिन नसकेको, भाउ बढाएको र चाहिएभन्दा ३० प्रतिशत कम आपूर्ति भइरहेको जानकारी दिए ।

गुडलाइफ बिस्कुटका सञ्चालक महेश जाजूले पनि उद्योगले २ हप्तादेखि चिनीको अभाव भोगिरहेको स्पष्ट पारे ।
‘बोर्डर बन्द छ, अहिले अनधिकृत पैठारी पनि बन्द भएको छ,’ उद्योगी जाजूको भनाइ छ, ‘नेपालका उद्योगहरू हात उठाउन थालेका छन् । यस्तो अवस्थामा सरकारले बेलैमा निर्णय गर्न सकेन भने आउने चाडबाडमा चिनीको हाहाकार हुनसक्छ । उद्योगले पनि आफ्नो उत्पादन कटौती गर्न बाध्य हुनुपर्नेछ ।’

सुनसरीको इस्टर्न सुगर मिल्सका सञ्चालक विशाल अग्रवालले यस वर्ष आफ्नो उद्योगले ११ हजार ७ सय ५० टन चिनी उत्पादन गरेकोमा अब मुस्किलले ९ सय टन बाँकी रहेको जानकारी दिए ।

उद्योगी विशालले भने, ‘हामीले असार मसान्तसम्ममा स्टक क्लियर गर्ने निर्णय गरेका छौं । जानीजानी लुकाएका छैनौं । त्यसैले खरिद गर्न आउनेलाई दिइरहेका छौं ।’
तर इस्टर्नकै बिक्री प्रमुख भरत जलाउनेले विगत १० दिनदेखि उद्योगले चिनी नबेचेको र अहिले गइरहेको चिनी पुरानो सौदा भएको जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का कार्यकारी सदस्य श्रवण अग्रवालका अनुसार भारतमा चिनीको कारखाना मूल्य भारु २७ रुपैयाँ छ । चिनीको पैठारी गर्दा भन्सारमा ४० प्रतिशत महसुल र मूअकर तिर्नुपर्छ । यसबाहेक चिनीको न्यून बिजकीकरण गरेको भन्दै भन्सार कार्यालयले भन्सार महसुलमा थप ५० प्रतिशत जरिवाना पनि असुल गर्छ । त्यसैले चिनीको पैठारी असम्भव छ ।

भन्सार विभागले चिनीको भन्सार मूल्यांकन प्रतिकिलो भारु ३० रुपैयाँ गरेको छ, तर प्रतिकिलो २७ वा २८ मा जत्ति पनि पाइन्छ । त्यसैले व्यवसायीले न्यून बिजकीकरण गर्ने सवाल नै छैन ।

व्यवसायी अग्रवालले भने, ‘भन्सार कार्यालयले महसुलमा लिने ५० प्रतिशत जरिवाना मात्र नलिने हो भने चिनीको पैठारी हुनसक्छ र अहिलेको अभाव धान्न सकिन्छ ।’