BIZMANDU
www.bizmandu.com

अब झिलिमिली बल्ने छ काठमाडौं शहर, माइतीघर मण्डलाबाट परीक्षण सुरु, यस्तो हुने छ राति 

२०७७ असार १४

अब झिलिमिली बल्ने छ काठमाडौं शहर, माइतीघर मण्डलाबाट परीक्षण सुरु, यस्तो हुने छ राति 
अब झिलिमिली बल्ने छ काठमाडौं शहर, माइतीघर मण्डलाबाट परीक्षण सुरु, यस्तो हुने छ राति 


काठमाडौं। महानगरका मुख्य चोकहरूलाई राति झिलीमिली देखिने बनाउन काम सुरू भएको छ। काठमाडौं महानगरपालिकाले माइतीघर मण्डलाबाट परीक्षणका रूपमा काम थालेको हो। 
 
‘रात्रीकालीन सहरी सौन्दर्य कार्यक्रम’ को नमूना परीक्षणका लागि माइतीघर मण्डला क्षेत्रमा ‘एलइडी कलर पाइप लाइट’ जडान गरिएका छन् । सूर्यको प्रकाशको घट्दै गएपछि स्वचालित रूपमा आफैं बल्ने बत्ती जडान सुरु गरिएको हो। जसले रात्रीकालीन समयमा पनि मण्डला क्षेत्र मनमोहक देखिन थालेको छ । 

Tata
GBIME
Nepal Life

महानगरपालिकाको सहरलाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाउने कार्यक्रम मध्येको रात्रीकालीन सौन्दर्य बढाउने कार्यक्रम एउटा हो ।

'अहिले परीक्षणका लागि मानिसहरुको धेरै चहलपहल र आवत–जावत हुने माइतीघर मण्डलामा हामीले यो कार्यक्रम अघि बढाएका हौं । यसको सकारात्मक प्रतिक्रिया पाएका छौं,' महानगरपालिकाका सहसचिव राजेश्वर ज्ञवालीले भने, 'विश्वका ठूला सहरहरुले रात्री जीवनलाई प्रोत्साहन गर्न रंगिन न बत्तीहरुको संयोजन मिलाएका हुन्छन्। काठमाडौंलाई विश्वका ठूला सहरको जस्तै बनाउन यस प्रकारका कार्यक्रम आवश्यक छ।' 

रंगीन बत्तीहरुले रात्रीकालीन सहरी सुन्दरतालाई बढाउने भएकाले शहरका मुख्य चोकहरूका बत्ती र सजावट सुधार गर्दै सिगार्ने योजना रहेको उनले बताए। आगामी दिनमा धार्मिक तथा पर्यटकीय स्थल र सम्पदा सूचीमा रहेका स्थानहरुमा क्रमशः यस्ता बत्ती जडान गर्दै जाने योजनामा रहेको जानकारी उनले दिए।

‘केही ठाउँमा महानगर आफैंले र केही ठाउँमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्वअन्तर्गत बत्ती जडान हुनेछन्। झिलीमिली काठमाडौं कार्यक्रम रातमा पनि जागा सहरको सूचक हो,' उनले भने, 'यसले रात्रीकालीन व्यवसायबाट अर्थतन्त्रलाई थप चलायमान बनाउन टेवा पुर्‍याउँछ।' 

फूटपाथ पसल सञ्चालनमा रोक लगाएर सडक किनारालाई पैदलयात्रीका लागि सहज बनाउने योजना बनाएको छ। सडक किनारामा हिँड्दा आनन्दको अनुभूति गराउन रात्रीकालीन झिलीमिलीको ठूलो भूमिका हुने जनाइएको छ।

महानगरपालिकाका अनुसार माइतीघर मण्डलाबाट अब तीनकुनेसम्मको सडक किनारामा झिलीमिली बनाइनेछ। त्यसपछि क्रमशः नयाँ सडक, दरबारमार्ग, ठमेललगायत क्षेत्रमा पनि बत्ती जडान गरिने छन्। महानगरले आगामी वर्षमा रंगीचंगी बत्ती जडानका लागि करीब ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। आउँदो असोज– कात्तिक महिनासम्ममा सहरका सात ठाउँमा बत्ती जडान गर्ने लक्ष्य राखिएको ज्ञवालीले बताए।

कामपाले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सडक बत्तीसँग सम्बन्धित कार्यक्रम राखेको छ। प्रमुख चोकहरुमा आधुनिक सिग्नलाइज्ड प्रणालीमा आधारित ट्राफिक लाइट जडान गरी ट्राफिक व्यवस्थापनलाई थप सहज र व्यवस्थित बनाउने, मेयर उज्यालो कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने र मुख्य चोकहरुमा हाइमास बत्ती जडान गर्ने नीति तथा कार्यक्रममा छन्।