BIZMANDU
www.bizmandu.com

बर्खामै धेर बिग्रन्छ उपत्यकाको सडक, पूर्वाधारमन्त्री निस्के निरीक्षणमा, ‘गाडी चल्ने बनाउँ’

२०७७ असार १४

बर्खामै धेर बिग्रन्छ उपत्यकाको सडक, पूर्वाधारमन्त्री निस्के निरीक्षणमा, ‘गाडी चल्ने बनाउँ’
बर्खामै धेर बिग्रन्छ उपत्यकाको सडक, पूर्वाधारमन्त्री निस्के निरीक्षणमा, ‘गाडी चल्ने बनाउँ’


काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले उपत्यकाका सडक यातायात संचालनयोग्य बनाउन निर्देशन दिएका छन्। 

Tata
GBIME
Nepal Life

निर्माणाधीन विभिन्न सडकहरुको शनिबार स्थलगत अनुगमनपछि कालोपत्रे गर्न नसकिने भए पनि सडकहरु यातायात संचालनयोग्य बनाउन उनले निर्देशन दिएका हुन्।

उपत्यकामा सडकहरु बर्खा लागेपछि खाल्डाखुल्डी र हिलाम्मे हुने गरेको छ। खानेपानी, विद्युत प्राधिकरण, ढल लगायतले संरचना निर्माण र मर्मत गर्दा सडक विभागसँग समन्यव नगर्दा सडक खनेर अलपत्र छाड्ने प्रवृत्ति निरुत्साहित हुन सकेको छैन। जसका कतिपय स्थानमा सडक पैदलयात्रुले पनि हिड्नै मुस्किल पर्ने बन्छ। सबै सडकलाई 'मेन्टेन' गरेर राख्न नेम्बाङले निर्देशन दिएका हुन्।

बालकुमारीको हनुमन्ते करिडोर, उपत्यकाकै सर्वाधिक जाम हुने कोटेश्वर चोकमा विस्तारको क्रममा रहेको चार लेनको सडक, गौशाला-चाबहिल सडक र जोरपाटी-साँखु सडकखण्ड लगायत मन्त्री नेम्वाङले अनुगमन गरेका थिए। 

डिभिजन सडक कार्यालय चार लेनमा विस्तारका लागि कोटेश्वर चोक क्षेत्रमा विमानस्थलको बार सार्ने काम सुरु भएको छ। यो सडक विस्तार भएपछि कोटेश्वर चोकमा हुने गरेको जाम केही कम हुने अपेक्षा गरिएको छ। यो अल्पकालीन योजना मात्रै हो। दीर्घकालीन रूपमा फ्लाइओभर/ सुरुङमार्ग बनाउने सरकारको योजना छ। यसका लागि जापान सहयोग नियोग (जाइका)ले प्रारम्भिक अध्ययन प्रतिवेदन समेत दिएको छ। लकडाउनका कारण विस्तृत अध्ययन हुन सकेको छैन।

अनुगमनपछि मन्त्री नेम्वाङले हनुमन्ते करिडोरमा देखिएको समस्या समाधानका लागि स्थानीय सरोकारवाला, निर्माण व्यवसायी र सम्बन्धित आयोजना हेर्ने आयोजना प्रमुख र मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय छलफलका लागि बोलाएका छन्। आइतबार छलफल हुँदैछ। 

उपत्यका सडक विस्तार आयोजना प्रमुख गुरु अधिकारीले घर, टहरा लगायतका संरचनाको क्षतिपूर्ति दिएको भए पनि स्थानीयले जग्गाको नपाएको भन्दै काम गर्न अवरोध गरेको बताएका छन्। जोरपाटी-साँखु सडक खण्डको सानो थलीको उकालो क्षेत्र र तिवारी टोल लगायत ठाउँहरुमा स्थानीयले सडक विस्तारमा अवरोध गर्दै आएका छन्। अवरोध भएका क्षेत्रहरुमा सडक विस्तारको काममा समस्या भएको उनको भनाइ छ। स्थानीयको अवरोध नभएका क्षेत्रहरुमा भने सडक निर्माण र विस्तारको काम भइरहेको आयोजना अधिकारीले बताए। 

डिभिजन सडक कार्यालयले १५ दिनमा नै सक्ने भन्दै दुइ महिना अघि निर्माण थालिएको थियो। सुरुमा निर्माण सामाग्री नपाएर काम भएन। काम सुरु गर्न लाग्दा नेपाल विद्युत प्राधिकरणले तार भूमिगत गर्न सुरु गरेका कारण काम गर्न नमिलेको काठमाडौं डिभिजन प्रमुख कुवेर नेपालीले बताए। 

उनका अनुसार कालोपत्रे गर्न नसकिने भएपछि ग्राभेल हालेर यातायात संचालनयोग्य बनाउन लागिएको हो। असोजपछि कालोपत्रे गर्न सकिने उनले बताए।

मन्त्री नेम्वाङ नियमित रूपमा सडक निर्माण र विस्तार कार्यमा समस्या देखिएको अवस्थामा सम्बन्धित क्षेत्रमै पुगेर सरोकारवालाहरुसँग छलफल गर्दै आएका छन्।

अनुगमनमा प्रधानमन्त्रीका विकासविज्ञ सल्लाहकार गजेन्द्र थपलिया, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा र ट्राफिक प्रहरी प्रभाग प्रमुख भीम ढकाल लगायत सहभागी थिए।