BIZMANDU
www.bizmandu.com

१५ करोड लगानीमा सगरमाथा ग्यासको नवलपरासीमा नयाँ बोटलिङ प्लान्ट, चण्डेश्वरी ग्यास पनि किन्यो

२०७७ असार १४

१५ करोड लगानीमा सगरमाथा ग्यासको नवलपरासीमा नयाँ बोटलिङ प्लान्ट, चण्डेश्वरी ग्यास पनि किन्यो
१५ करोड लगानीमा सगरमाथा ग्यासको नवलपरासीमा नयाँ बोटलिङ प्लान्ट, चण्डेश्वरी ग्यास पनि किन्यो


काठमाडौं। १५ करोड लगानीमा सगरमाथा ग्यासले नवलपरासीमा नयाँ बोटलिङ प्लान्ट स्थापना गरेको छ। सगर ब्राण्डमा ग्यास बिक्री गर्दै आएको यो उद्योगले पश्चिमको बजार हेरेर नवलपरासीमा प्लान्ट स्थापना गरेको हो। 

Tata
GBIME
Nepal Life

उद्योगका अध्यक्ष सावरमल अग्रवालले तराईका जिल्लामा बढ्दो शहरीकरणसँगै ग्यासको सम्भावना देखेर उद्योग लगाएको बताए। उनी नेपाल एलपी ग्यास उद्योग संघका पूर्व अध्यक्ष हुन्।

 'हाम्रो पहिलो प्लान्ट काभ्रेमा थियो। त्यो प्लान्टमार्फत हामीले काठमाडौं लगायतका क्षेत्रमा बिक्री गर्दै आएका थियौं,' उनले बिजमाण्डूसँग भने, 'हामीले पश्चिमाञ्चल क्षेत्रमा समेत बजारको सम्भावना देखेर प्लान्ट लगाएका हौं। हामीले ग्यास बोटलिङ गरेर बिक्री सुरु गरिसकेका छौं।' 

दुई विघा जग्गामा रहेको प्लान्ट अहिले 'फूल अटोमेसन'मा भने छैन्। 'अहिले पूर्ण स्वचालित छैन्। महाराष्ट्रबाट मेशिन मगाइरहेका छौं। कोरोनाका कारण ती सामान समयमा आउन सकेन्,' अग्रवालले भने, 'कोरोना संक्रमण कम हुनेवित्तिकै ती मेशिन जोडेर हामी पूर्ण स्वचालित उद्योगमा रुपान्तरण गर्नेछौं।'

 यो उद्योगबाट उत्पादित ग्यास नवलपरासी, रुपन्देही, कपिलवस्तमा बिक्री हुँदै आएको छ। अग्रवालका अनुसार पाल्पा, स्याङजा र पोखरासम्म बिक्री गर्ने योजना रहेको अग्रवालले बताए। अहिले सो क्षेत्रमा त्रिशुल,सिद्धार्थ र वुटवल ग्यास बिक्री हुँदै आएको छ।

उनले लोडसेडिङ हटेपनि ग्यासको मागमा कुनै कमी नआएकोले नयाँ प्लान्ट लगाएको जिकिर गरे। उनका अनुसार लोडसेडिङ हटेको दुई वर्षको अवधिमा ग्यासको माग १५ प्रतिशतकै हाराहारीमा वृद्धि भइरहेको छ। 

'लोडसेडिङ हटेको दुई वर्ष भयो। तर काठमाडौंमा समेत ग्यासको माग बढेको छ,' अग्रवालले भने, 'शहरी क्षेत्रमानै विजुलीसँग आश्वस्त हुन नसकेको बेला ग्यासको विकल्प अझै केही वर्ष देखिँदैन।' उनका अनुसार लोडसेडिङ हट्दा ‍औद्योगिक क्षेत्रमा भने खपत बढेको छ। 'लोडसेडिङको सबैभन्दा बढी फाइदा भने औद्योगिक क्षेत्रलाई मात्रै भएको छ। तर घरायसी प्रयोगजनमा भने तत्कालै स्वीच हुने सम्भावना देखिदैन,' उनले भने।

चण्डेश्वरी ग्यास पनि किन्यो
सगरमाथा ग्यासले काभ्रेमै रहेको चण्डेश्वरी ग्यास किनेको छ। ६ करोड रुपैयाँमा प्लान्ट र सिलिण्डर किनेको हो। यो उद्योगको ६० हजार सिलिण्डर छ। यो ग्यास पनि काठमाडौं आसपासनै बिक्री हुँदै आएको थियो। भक्तपुरका विष्णु कक्षपतिले यो ग्यास बिक्री गरेका हुन्।