BIZMANDU
www.bizmandu.com

लकडाउनमै मकालु डिस्टीलरी बिक्री, नयाँ लगानीकर्ताले २० करोड लगानी थप्ने

२०७७ असार १०

लकडाउनमै मकालु डिस्टीलरी बिक्री, नयाँ लगानीकर्ताले २० करोड लगानी थप्ने
लकडाउनमै मकालु डिस्टीलरी बिक्री, नयाँ लगानीकर्ताले २० करोड लगानी थप्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। मदिरा उद्यमी वसन्त श्रेष्ठले लकडाउनकै समयमा मकालु डिस्टीलरी बिक्री गरेका छन्। ७० युपीभन्दा माथिका मात्रै मदिरा उत्पादन हुने यो उद्योग साढे आठ करोड रुपैयाँमा बिक्री गरेका हुन्।

श्रेष्ठको अर्को सूर्य ब्लेण्डर्स र स्नोम्यान वाइनरी उद्योग छ। मकालु तनहुँको आँबुखैरेनीमा छ। यो मदिरा उद्योग एलपी ग्यास र हेलिकोप्टर व्यवसाय गरिरहेका धर्म बर्तौलाले खरिद गरेका हुन्। बर्तौलाको पोखरामा गृहलक्ष्मी ग्यास उद्योग छ भने हेलि एयर नेपालका संचालक हुन्। श्रेष्ठले बेचेको उद्योगसँग सात रोपनी जग्गा समेत छ। बर्तौलाले मदिरा उद्योग किनेको जानकारी दिँदै साउनसम्ममा सेयर हस्तान्तरण लगायतका काम सकिने बताए।

‘हामीले यो उद्योग किनिसकेका छौं। साउनबाट हामीले व्यवस्थापन हेर्नेछौं,’ उनले भने, ‘हामीले थप लगानी गर्ने योजनासहित यो उद्योग किनेका हौं।’

उनका अनुसार उद्योगमा अब २५ करोडभन्दा बढी लगानी गरेर २५ युपीसम्मका प्रिमियम मदिरासमेत उत्पादन थालिनेछ। ‘सरकारले स्वदेशी मदिरालाई संरक्षण गर्ने नीति समेत ल्याएको छ। अहिले विदेशी महँगा मदिरामा प्रतिबन्ध लगाइएको छ। यो मदिरा उद्योगका लागि अवसर पनि हो,’ उनले भने, ‘अहिले स्वदेशी मदिराको माग पनि बढ्दो क्रममा छ।’ बर्तौलाले विगतमा विदेशी मदिराको बिगबिगी हुने अवस्था अन्त्य भएको बताउँदै स्वदेशी ब्राण्डप्रति उपभोक्ताको समेत आकर्षण देखिएको बताए।

 ‘पहिला स्वदेशी मदिरा भनेपछि नाक खुम्च्याउने प्रचलन थियो। तर अहिले स्वदेशी मदिरा प्राइडको विषय बनेको छ,’ उनले भने, ‘यो मदिराको लागि मात्रै होइन स्वदेशी वस्तु उत्पादनको लागि अवसर पनि हो। यसलाई सरकारले पनि भन्सार लगायतको संरक्षण दिन थालेको छ।’ उनले पछिल्लो समयमा स्वदेशमा रहेका मदिरा उद्योगले प्रिमियम क्लासको मदिरा उत्पादन थालेको बताउँदै त्यसले बजार विस्तारमा समेत सघाएको जिकिर गरे।

‘नेपालका मदिरा विदेशमा पनि निकासी हुन थालेको छ। गुणस्तरीय उत्पादनमा उद्योगहरुले ध्यान दिन थालेका छन्। प्रविधिदेखि कच्चा पदार्थसम्म उच्चस्तरका प्रयोग हुन थालेका छन्,’ बर्तौलाले भने, ‘लेबलिङ र ब्राण्डिङसमेत अन्तर्राष्ट्रिय स्तरको भएकाले उपभोक्ताको रोजाइमा परेको छ।’ थप लगानी गरेर उच्च गुणस्तरको मदिरा उत्पादन गर्ने समेत उनले बताए।

‘बजार प्रतिस्पर्धा गर्न पनि गुणस्तरमा सम्झौता गर्न मिल्दैन। अरु उद्योगसँग प्रतिस्पर्धा गर्न गुणस्तरीय मदिरा उत्पादनलाई ध्यान दिनेछौं,’ उनले भने, ‘हामीले प्लान्ट पनि अपग्रेड गरेर एक वर्षपछि ह्विस्की उत्पादन थाल्नेछौं।’