BIZMANDU
www.bizmandu.com

एउटा चिट्ठी जसले अर्बौं डलरको सम्पत्तिका मालिक हिन्दुजा ब्रदर्समा ल्यायो फाटो

२०७७ असार १०

एउटा चिट्ठी जसले अर्बौं डलरको सम्पत्तिका मालिक हिन्दुजा ब्रदर्समा ल्यायो फाटो
एउटा चिट्ठी जसले अर्बौं डलरको सम्पत्तिका मालिक हिन्दुजा ब्रदर्समा ल्यायो फाटो

Tata
GBIME
Nepal Life

 

भारतीय मूलको बेलायती व्यापारिक घराना हिन्दुजा ग्रूपका चार दाजुभाइबीच यतिबेला फाटोको कारण बन्दैछ एउटा कागज, जसमा ६ वर्षअघि चारैजनाले हस्ताक्षर गरेका थिए। 

सन् २०१४ को उक्त डकुमेन्ट अनुसार चार दाजुभाइमध्ये कुनै एक भाइको स्वामित्वमा रहेको सम्पत्ति सबैजनाको हुनेछ, र सबैले आफ्नो सम्पत्तिको कार्यकारीका रूपमा बाँकी तीन दाजुभाइलाई नियुक्त गर्नुपर्नेछ । अर्थात्, सबै जनाको सम्पत्तिमा चारै दाजुभाइको बराबर कानूनी अधिकार हुनेछ । 

तर, अहिले परिवारका सबैभन्दा जेठा तथा हिन्दुजा ग्रूपका अध्यक्ष श्रीचन्द हिन्दुजा (८४) र उनकी छोरी विनू उक्त्त चिट्ठीलाई अर्थहीन करार गर्न लागि परेका छन् । 
अन्य तीन भाइहरु – गोपीचन्द (८०), प्रकाश (७५) र अशोकले श्रीचन्दको एकल नाममा भएको हिन्दुजा बैंकमाथि नियन्त्रण गर्न खोजेको भन्दै मंगलबार  एक बेलायती न्यायाधीशको भनाइ आएपछि मात्र चार दाजुभाइबीच फाटो ल्याउने गरी सम्पत्तिका विषयमा चुलिएको पारिवारिक कलह  बाहिरिएको हो । 

यही घटनापछि झस्किएर श्रीचन्द र उनकी छोरी आफ्नो नामको सम्पत्ति सुरक्षित राख्न उक्त पत्रको कानूनी हैसियत नभएको स्थापित गर्ने कसरतमा लागेका छन् । ती न्यायाधीशका अनुसार, श्रीचन्द र विनू अदालतले उक्त चिट्ठीको कुनै कानूनी मान्यता नरहेको र त्यसलाई वसीयतको नाममा प्रयोग गर्न नमिल्ने भनि निर्णय सुनाओस् भन्ने चाहन्छन् । 

श्रीचन्दले २०१६ को शुरुआतमै जुलाई (२०१४) को उक्त पत्रले आफ्नो चाहना नदर्शाउने भएकाले पारिवारिक सम्पत्तिको भागबन्डा गर्नुपर्ने कुरामा जोड दिएको ती न्यायाधीशको भनाई उदृत गर्दै इकोनोमिक टाइम्सले लेखेको छ ।

हिन्दुजा संसारकै धनी परिवारमध्येमा पर्छ । एक शताब्दीभन्दा पूरानो इतिहास रहेको व्यापारिक घराना हिन्दुजा ग्रूपले वित्तीय, स्वास्थ्य, पेट्रो केमिकल्स, मिडिया, ऊर्जा, प्रविधि लगायत दर्जन बढी क्षेत्रका व्यवसायहरु ४० भन्दा धेरै देशमा विस्तार गरेको बताइएको छ। अशोक लेल्याण्ड, गल्फ आयल, हिन्दुजा बैंक, हिन्दुजा हेल्थकेयर इत्यादि तीमध्येका केही हुन् । सन् १९१४ मा भारतको मुम्बाईमा स्थापना भएको हिन्दुजाको मुख्यालय अहिले लण्डनमा छ भने यसले सबैतिरका व्यवसायमा गरी डेढ लाख जनालाई रोजगारी दिएको द टेलिग्राफमा उल्लेख छ। 

संसारका विभिन्न देशमा रहेका व्यवसायसमेत गरी हिन्दुजा परिवारको सम्पत्ति अहिले करीब २० अर्ब अमेरिकी डलर (१६ अर्ब बेलायती पाउण्ड) बराबर रहेको द टेलिग्राफले लेखेको छ । फोर्ब्सका अनुसार विश्वको ९१औं, भारतको तेस्रो र एशियाका १२औं (पारिवारिक) धनीमा सूचीकृत हिन्दुजा ब्रदर्सको रियल टाइम नेट वर्थ १३.१ अर्ब डलर छ । ब्लुमबर्गले भने ११.२ अर्ब डलरको सम्पत्ति यो परिवारसँग रहेको उल्लेख गरेको छ ।

दशकौंदेखि विवादरहित व्यवसाय गर्दै आएका व्यापारिक घराना हिन्दुजा ग्रूपका वृद्ध दाजुभाइहरु यही सम्पत्तिका खातिर अहिले गम्भीर कानूनी दाउपेचमा होमिएका हुन् । 

६ वर्ष पूरानो त्यही एउटा चिट्ठीले बेलायतको दोस्रो सर्वाधिक धनी परिवारका चार दाजुभाइबीच शुरु भएको मनमुटाव अहिले थुप्रै मुद्दाका रूपमा लण्डन, स्विट्जरल्याण्ड र जर्सीका अदालतसम्म पुगेको बताइएको छ । परिवारका जेठा श्रीचन्दले नोभेम्बर २०१९ मा लण्डनको 'बिजनेस एन्ड प्रोपर्टी कोर्ट' मा २०१४ को उक्त चिठी कानूनी हैसियतका दृष्टिले रद्द गर्नयोग्य भएकाले रद्द गरिपाउँ भन्दै मुद्दा दायर गरेका थिए ।

श्रीचन्दबाहेकका बाँकी तीन दाजुभाइले भने एक विज्ञप्तिमार्फत मुद्दा मामिलाले उनीहरुको व्यवसायका साथै व्यापारिक घरानाका संस्थापकको र पारिवारिक मूल्य–मान्यतामा कुनै विचलन नल्याउने बताएका छन् । पारिवारिक र घरानाका संस्थापकहरुको सिद्धान्त, खासगरी 'सबैकुरा सबैको हुने र केही पनि कुनै एकको मात्र नहुने' मान्यता दशकौंदेखि स्थापित रहिआएको र आफूहरु यसैको पक्षमा अडिग रहने उनीहरुको भनाइ छ । 

यसबाट बुझ्न सकिन्छ – श्रीचन्दबाहेकका तीन दाजुभाइ परिवारका सबैको नाममा भएको सम्पत्तिमा बराबर हिस्सेदारी चाहन्छन् ।

तर, श्रीचन्दले कानूनी लडाइ जिते भने उनको नाममा भएको सबै सम्पत्तिको स्वामित्व दाजुभाइलाई नभएर छोरी विनू र त्यसपछिको उनको उत्तराधिकारीमा जानेछ । यसमा हिन्दुजा बैंकमा भएको सम्पूर्ण सेयर समेत पर्नेछ, जसमा श्रीचन्दका तीन दाजुभाइले दाबी गरिरहेका छन् । न्यायाधीशको भनाइअनुसार श्रीचन्दसँग आफ्ना वकिलसँग यस कुरालाई निर्देशित गर्ने क्षमता नभएकाले उनले आफ्नो तर्फबाट छोरीलाई नियुक्त गरेका छन् ।