BIZMANDU
www.bizmandu.com

भाडा तिर्न नसक्दा ठमेल क्षेत्रमा ७०० व्यवसायीले छाडे सटर, कोरोनाले पार्‍यो व्यापार चौपट 


भाडा तिर्न नसक्दा ठमेल क्षेत्रमा ७०० व्यवसायीले छाडे सटर, कोरोनाले पार्‍यो व्यापार चौपट 
भाडा तिर्न नसक्दा ठमेल क्षेत्रमा ७०० व्यवसायीले छाडे सटर, कोरोनाले पार्‍यो व्यापार चौपट 



काठमाडौं। व्यापार ठप्प भएपछि ५० प्रतिशत पनि भाडा तिर्न नसक्दा ठमेलका व्यवसायीले सटर धमाधम खाली गर्न थालेका छन्। 

Tata
GBIME
Nepal Life

लकडाउनका कारण करीब तीन महिनाअघिबाट प्रायः व्यवसायहरु बन्द छन्। तर पूर्णरुपमा पर्यटकमै निर्भर ठमेल क्षेत्रमा संचालित व्यवसायहरु भने त्योभन्दा लगभग एक महिनाअघिबाटै कारोबारबिहिन हुन थालेका थिए। 

चीनलगायतका विभिन्न मुलुकमा कोरोनाको असर गहिरिँदै जान थालेदेखि नै नयाँ पर्यटक नेपाल आउन छाडे, आएका पनि बसाई छोट्याएर फर्किने रफ्तार ह्वात्तै बढ्यो। यसको सोझो असर राजधानीको पर्यटकीय बजार ठमेलमा सटर थापेर बसेका व्यवसायीहरुको कारोबारमा देखियो। 

त्यसैको असरस्वरुप व्यापार र आम्दानी दुवै बन्द हुँदा व्यवसायीहरु सटरको भाडा समेत तिर्न नसक्ने अवस्थामा पुगेका छन्। पछिल्ला केही दिनयता ठमेलमा व्यवसाय संचालन भइरहेका करीब सात सय सटर बन्द भइसकेको ठमेल पर्यटन  विकास परिषद्का महासचिव ध्रुव अधिकारीले बताए। आम्दानी नहुँदा महँगो भाडा तिर्न नसकिने भन्दै व्यवसायीले सटर खाली गर्न थालेका हुन्।

यतिबेला बजारहरु खुले पनि व्यापार छैन। ८० प्रतिशत बाह्य र २० प्रतिशत आन्तरिक पर्यटकले चल्ने ठमेलको व्यापार व्यवसाय कोरोना भाइरसको महामारीले थलिएको छ। लकडाउन खुकुलो पारिए पनि सार्वजनिक यातायात र हवाई उडान अझै बन्द छ। कोरोनाको असर सबैभन्दा गहिरो र लामो समयसम्म पर्यटनमा नै पर्ने स्पष्ट छ। यसैले अझै कहिलेसम्म विदेशी पर्यटक नआउने हुन् भन्ने अहिलेसम्म कुनै संकेत छैन।

खर्च धान्न नसक्दा व्यवसायीले सटर छाडिरहेको अधिकारी बताउँछन्। परिषद्ले हालको अवस्थालाई मघ्यनजर गर्दै सरकार र ठमेल क्षेत्रका घरधनीसँग एक वर्षका लागि घरभाडामा ५० प्रतिशत छुटका लागि माग गरिरहेको छ। 'केही घरधनी छुट दिन सहमत छन्, केहीले दिन सक्दैनौं भन्दैछन्,' उनले भने, 'बन्दले व्यापार नहुँदा व्यवसायीले आधा घरभाडा पनि तिर्न नसक्ने भएर सटर खाली गर्न थाले।' 

ठमेलमा १७ सय घरधनीका भवन तथा सटर भाडामा लिएर विभिन्न प्रकारका व्यवसाय गर्दै आएका करीब ५२ सय व्यवसायी छन्। अर्काको घर भाडामा लिएर व्यवसायीले होटल, रेष्टुरेन्ट, पसल र विभिन्न प्रकारका व्यवसाय गर्दैआएका हुन्। पछिल्ला केही दिनयता नै कम्तिमा ६ सयदेखि ७ सयजना व्यवसायीले सटर छोडिसकेको अधिकारीको भनाइ छ । 

'अझै कतिपय सटर र व्यापार छोड्ने अवस्थामा छन्,' उनले भने, 'व्यापार भइरहँदा आफ्नो खर्च कटाएर भाडा तिर्न सजिलै थियो। तर लामो समयसम्म बन्द रहेको व्यापार अझै खुल्ने अवस्था नदेखिएकाले सटर खाली गर्ने बाहेक व्यवसायीसँग अन्य विकल्प पनि भएन।' राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सामान्य सटरको भाडा २ लाख रूपैयाँभन्दा बढी हुने गरेको छ।

सरकारले लकडाउन खुकुलो पारे पनि ठमेलमा ५ प्रतिशत पनि बजार खुलेको छैन। जबसम्म विदेशी पर्यटक आउदैनन्, तबसम्म ठमेलको व्यापार व्यवसाय पूर्णरूपमा सञ्चालनमा आउने सम्भावना नरहेको परिषद्ले जनाएको छ।

'२० प्रतिशत आन्तरिक पर्यटकले मात्र यहाँको व्यापार धान्दैन। यतिबेला त आन्तरिक पर्यटक पनि ठमेल आउने अवस्था छैन,' परिषद्का पूर्वअध्यक्ष रामशरण थपलियाले भने, 'त्यसैले व्यवसायीले सटर खाली गर्न थालेका हुन्।' व्यापार नभए पनि भाडा, बिजुली, इन्टरनेट र कामदारको पारिश्रमिक लगायतमा व्यवसायीले तिर्नुपर्ने दायित्व नघट्नु चिन्ताजनक अवस्था रहेको उनले बताए। 

'संकटको समयमा घरभाडामा पूर्ण छुट नदिए पनि आधा छुट दिन माग गरिरहेका छौं,' उनले भने, 'सबै व्यवसायीले बैंकसँग ऋण लिएर व्यवसाय गरेका छन्। महँगो घरभाडा र कर्जाको भार थपिएको छ।' धान्नै नसक्ने अवस्था आएकाले धेरै व्यवसायी ठमेलबाट पलायनको संघारमा पुगेको उनले बताए।