BIZMANDU
www.bizmandu.com

पाँचौं आइसिटी अवार्डको अनलाइन नोमिनेशन शुरू, ११ विधामा यसरी दिन सकिन्छ आवेदन 

२०७७ असार ९

काठमाडौं । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा स्थापित आइसिटी अवार्डको पाँचौं संस्करणको अनलाइन नोमिनेशन (आवेदन) ८ असारबाट शुरु भएको छ । लिभिङ विथ आइसिटीको आयोजनामा हुने 'आइसिटी अवार्ड २०२०' को अनलाइन आवेदन आउँदो १६ साउनसम्म खुला रहने बताइएको छ । 

Tata
GBIME
Nepal Life

विभिन्न सरकारी निकाय तथा निजी संस्थाहरुसमेतको सहकार्यमा आयोजना हुन लागेको आइसिटी अवार्डमा यस वर्ष विभिन्न ११ विधामा प्रतियोगीहरु सम्मानित हुनेछन् । 

'इन्नोभेसन इन क्राइसिस रेसपोन्स' र 'वुमन आइकन' यस वर्षको आइसिटी अवार्डमा नयाँ विधाका रूपमा थपिएका छन् । यसबाहेक आइसिटी अवार्डमा नवप्रवर्तन इन्नोभेसन र नवउद्यम स्टार्टअपलाई प्रोत्साहनका लागि स्टार्टअप,  प्रडक्ट, राइजिङ स्टुडेन्ट लगायत टाइटलबाट सम्मानित गरिँदै आएको छ । 

यस्तै, पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी र मिडिया पर्सन आइसिटी अवार्ड व्यक्तिलाई प्रदान गरिने विधाहरू रहेको लिभिङ विथ आइसिटीले जनाएको छ । त्यस्तै, सरकारी संस्थालाई 'डिजिटल गभर्नेन्स आइसिटी अवार्ड' र सामुदायिक शैक्षिक संस्थानहरुलाई 'डिजिटल एजुकेशन आइसिटी अवार्ड' दिइनेछ । 

सन् २०१६ देखि सुरु भएको आइसिटी अवार्डमा बर्सेनि १७ अगष्टमा आयोजना हुँदै आएको थियो । तर यस वर्ष कोरोना महामारीको प्रभावका कारण अवार्ड कार्यक्रम केही समय ढिला हुन लागेको आयोजकले बताएको छ । अनलाइन आवेदन सकिएपछि अवस्था हेरेर अवार्डको फिनाले मिति घोषणा हुने जनाइएको छ । 

विभिन्न चरणमा हुने अवार्ड छनोटको जुरीमा १२ जना सदस्य र १० भन्दा बढी सल्लाहकार सदस्यहरू रहने छन् । स्टार्टअप, प्रडक्ट, स्टुडेन्ट प्रोजेक्ट र इन्नोभेसनमा विभिन्न चरणबाट उत्कृष्ट ५ प्रतिस्पर्धी छान्दै अनलाइन तथा एसएमएस भोटिङ समेतबाट विजयी घोषणा हुनेछ । अन्य विधामा जुरी समूहले विभिन्न चरणमा छनोट प्रक्रिया सञ्चालन गर्नेछन् । 

आइसिटी अवार्ड निष्पक्ष र व्यवस्थित रूपमा सञ्चालन हुँदै आएको आयोजकको दाबी छ । यो वर्ष कोरोना प्रभावका कारण छनोट प्रक्रिया पनि बढी प्रविधिमैत्री हुने बताइएको छ ।