BIZMANDU
www.bizmandu.com

पाइलट तालिमका लागि बुद्धले ल्यायो अत्याधुनिक सिमुलेटर, अब नेपालमै एटिआर जहाजको प्रशिक्षण

२०७७ असार ४

पाइलट तालिमका लागि बुद्धले ल्यायो अत्याधुनिक सिमुलेटर, अब नेपालमै एटिआर जहाजको प्रशिक्षण
पाइलट तालिमका लागि बुद्धले ल्यायो अत्याधुनिक सिमुलेटर, अब नेपालमै एटिआर जहाजको प्रशिक्षण

Tata
GBIME
Nepal Life

काठमाडौं। एटिआरमा कार्यरत पाइलट प्रशिक्षणका लागि निजी वायुसेवा कम्पनी बुद्ध एयरले अत्याधुनिक सिमुलेटर संचालनमा ल्याउने भएको छ।

सिमुलेटरमार्फत पाइलटले प्राविधिक प्रणालीको जानकारी लन सक्ने कम्पनीका वरिष्ठ क्याप्टेन (इन्स्ट्रकटर पाइलट) प्रमोद थापाले बताए। 'यो एटिआरकै टाइप स्पेसिफीक सिमुलेटर हो। यसको लेआउट हुबहु जहाजकै छ। कुनै समयमा जहाजको सिस्टम फेल (हाइड्रोलिक, प्रेसराइज्ड) भएको अवस्थामा त्यसको परिणाम, समाधानबारे यो सिमुलेटरमार्फत प्रशिक्षण दिन सकिन्छ,' उनले भने।

जहाजमा भएका सबै उपकरण समावेश गरिएको यो सिमुलटरमार्फत चालकलाई प्राविधिक प्रशिक्षण दिन सहज हुने उनले जानकारी दिए। 'यो सिमुलेटरमा स्किल टेस्ट र नलेज टेस्ट हुन्छ। मोडलअनुसार फ्लाइटको सिस्टमको बारे पाइलटले सबै सिमुलेटरमार्फत थाहा पाउने हो,' उनले भने, 'उडान गर्दा मौसम, इन्जिनको अवस्था, इन्धन, दिशा लगायतको जानकारी लिनका लागि यो सिमुलेटरमार्फतको तालिम प्रभावकारी हुनेछ।'

चार महिनाअघि बुद्धले फ्रान्सस्थित एटिआर कम्पनीसँग पाँच लाख युरोमा खरिद गरेर ल्याएको यो सिमुलेटर केही दिन अघि इन्स्टल गरिएको जनाएको छ। लकडाउनका कारण कम्पनीले अत्याधुनिक सिमुलेटरमार्फत तालिम सुचारु गर्न नसकेको जनाएको छ। अत्याधुनिक सिमुलेटरबाट तालिम संचालनका लागि कम्पनी नयाँ कक्ष तयार गर्ने क्रममा छ।

'यसअघि सिस्टम ट्रेनिङका लागि पाइलटलाई विदेश पठाउनैपर्ने हुन्थ्यो। अब एटिआरकै सिमुलेटर आइसकेपछि विदेशमा गर्नुपर्ने खर्च पनि घट्छ,' कम्पनीका एक कर्मचारीले भने।