BIZMANDU
www.bizmandu.com

प्रदेश २ सरकारले आगामी आर्थिक वर्षका लागि करिब २९ अर्बको बजेट ल्याउने

२०७७ जेठ ३१

प्रदेश २ सरकारले आगामी आर्थिक वर्षका लागि करिब २९ अर्बको बजेट ल्याउने
प्रदेश २ सरकारले आगामी आर्थिक वर्षका लागि करिब २९ अर्बको बजेट ल्याउने


Tata
GBIME
NLIC

जनकपुरधाम। प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि करिब २९ अर्ब रुपैयाँको बजेट ल्याउने भएको छ। चालु आर्थिक वर्षभन्दा झण्डै १० अर्ब कम बजेट ल्याउन लागेको हो।

गत आर्थिक वर्ष २०७६/७७ मा सरकारले ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको थियो। जसमा चालुतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार र पुँजीगततर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार रुपैयाँ छुट्याइएको थियो।

असार १ गते आगामी आर्थिक वर्षका लागि आउने बजेटमा स्वास्थ्य, शिक्षा, रोजगारी र कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको र बजेट तर्जुमा गर्ने काम अन्तिम चरणमा रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठले जानकारी दिए।

संघीय सरकारबाट समानीकरणतर्फ ७ अर्ब २ करोड, सशर्ततर्फ ५ अर्ब ९४ करोड ३१ लाख, विशेष अनुदान ४१ करोड ५० लाख गरी १३ अर्ब ४० करोड ५९ लाख रुपैयाँ अनुदान प्राप्त हुने बताइएको छ। सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै यसका लागि कुल बजेटको १० प्रतिशत रकम विनियोजन गर्न लागिएको सचिव श्रेष्ठले बताए।

त्यस्तै, बेरोजगारीको समस्या रहेको प्रदेश २ मा भारत तथा वैदेशिक रोजगारीबाट फर्कनेहरुको संख्या वृद्धि भइरहेकोले रोजगारमुखी कार्यक्रम तर्जुमा गर्न मन्त्रालयहरुलाई अनुरोध गरिएको उनले बताए।

घरजग्गा रजिष्ट्रेसन, सवारी साधन कर र मनोरञ्जन कर लगायतबाट चालु आर्थिक वर्षको अहिलेसम्म ११ अर्ब असुल भइसकेको उनले बताए। चालु आर्थिक वर्षको पुँजीगत बजेटमा अहिलेसम्म करिब ५ देखि ७ प्रतिशत बजेट मात्र खर्च भएको छ भने अब आएर केही विकास निर्माणका कामहरु शुरु भएकाले पुँजीगततर्फ १५ देखि अधिकतम २० प्रतिशतसम्म बजेट खर्च हुने अनुमान गरिएको छ।