.jpg)
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले नुवाकोटको देवीघाटमा निर्माण गरिरहेको देशकै ठूलो सोलार विद्युत् आयोजनाबाट १.२५ मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ ।
२५ मेगावाट जडित क्षमताको ग्रीड (राष्ट्रिय प्रसारण) मा आवद्ध यस सौर्य ऊर्जा आयोजनाबाट बुधबारबाट विद्युत उत्पादन शुरु भएर प्रणालीमा जोडिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
सोलार आयोजनाबाट उत्पादित विद्युत् देवीघाट विद्युतगृहको सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । दिउँसो घाम लागेअनुसार १.२५ मेगावाट जडित क्षमतामध्ये ८० देखि ९० प्रतिशतसम्म ऊर्जा उत्पादन हुने बताइएको छ ।
प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत केन्द्रको जग्गामा राखिएको सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुनेछ ।
देवीघाट विद्युत केन्द्रको कर्मचारी आवास क्षेत्र नजिक रहेको खाली जग्गामा १० मेगावाट र विद्युतगृह नजिक रहेका तीन ठाउँमा ५ मेगावाट विद्युत् उत्पादन गर्न सक्ने सोलार प्यानलको जडान गरिएको छ ।
त्यसमध्ये अहिले देवीघाट विद्युतगृह नजिकको एक ठाउँको प्यानलबाट उत्पादन भएको विद्युत् प्रणालीमा जोडिएको हो । एउटा प्यानलबाट २ सय ७५ वाट विद्युत् उत्पादन हुनेछ । एक मेगावाट उत्पादन गर्ने प्यानल राख्न २० रोपनी जग्गा प्रयोग गरिएको छ ।
यो सोलार आयोजनाबाट उत्पादित विद्युत् जडानका लागि ६६/३३ केभीको नयाँ सबस्टेसन पनि निर्माण भइरहेको छ । सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएकाले हाल चालू अवस्थामा रहेको ३३ केभी प्रसारण लाइनमार्फत वैकल्पिक व्यवस्था गरी सोलारबाट उत्पादित विद्युत् प्रणालीमा जोडिएको आयोजना प्रमुख विकास बहादुर रघुबंशीले जानकारी दिए ।
सबस्टेसनका उपकरणहरु निर्माणस्थलमा आउने क्रममा रहेको र सिभिल संरचनाको निर्माण धमाधम भइरहेको उनले बताए ।
सोलारको थप १० मेगावाट असारभित्रै
आयोजनाको थप १० मेगावाट विद्युत् डेढ महिनाभित्रमा ग्रीडमा जोडिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।
कुल २५ मेगावाटमध्ये बाँकी हिस्साको काम अगाडि बढिरहेको भएपनि प्रारम्भिक वातावरणीय मूल्यांकन (आइईई) प्रतिवेदन स्वीकृतिको प्रक्रियामा रहेकाले निर्माणमा केही समय लाग्ने देखिएको घिसिङले जानकारी दिए ।
‘वैशाखभित्रमा १५ मेगावाट ग्रिडमा जोड्ने गरी काम भइरहेको थियो तर लकडाउनका कारण निर्माण प्रभावित हुँदा केही ढिला भयो,’ घिसिङले भने, ‘सोलारबाट उत्पादित विद्युत जोडिएसँगै अब ऊर्जाका अन्य स्रोतको विविधिकरण हुँदै प्रणालीमा ऊर्जा मिश्रण बढ्दै गएको छ ।’ नेपालको प्रणालीमा अहिले जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् बढी रहेको छ ।
सरकारले दीर्घकालीन रूपमा आन्तरिक उत्पादनबाटै विद्युतमा आत्मनिर्भर हुने उद्देश्यले १० वर्षमा उत्पादन गरिने १५ हजार मेगावाटको लक्ष्यलाई आधार मानी विद्युत आयोजनाहरुको उत्पादन समिश्रण अनुपात निर्धारण गरेको छ ।
जसअनुसार, प्रणालीमा जलाशययुक्त तथा पम्प स्टोरेज आयोजनाबाट ३० देखि ३५ प्रतिशत, अर्ध-जलाशययुक्त आयोजनबाट २५ देखि ३० प्रतिशत, नदि प्रवाहमा आधारित आयोजनाबाट ३० देखि ३५ प्रतिशत र अन्य वैकल्पिक स्रोतबाट ५ देखि १० प्रतिशत ऊर्जा अनुपात कायम राख्ने भनिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले २०७५ वैशाखमा यो आयोजना शिलान्यास गरेका थिए । त्यतिबेला एक वर्षभित्रमा निर्माण सक्ने लक्ष्यका साथ सुरु गरिए पनि आयोजनाको डिजाइन स्वीकृति र रुख कटान लगायतका कारणले ढिलाइ भएको थियो ।
प्राधिकरणकै स्वामित्वमा रहेको एक हजारभन्दा बढी रुख हटाउने कानुनी प्रक्रिया पूरा गर्न धेरै समय लागेको थियो । ठेकेदारले डिजाइन तयार गर्न पनि ढिलाइ गरेको थियो । त्यसलाई परामर्शदाताले पटक पटक पुनरावलोकन गरी स्वीकृत गर्न झनै समय लगाएपछि सुरुमा तय गरिएको निर्माण तालिका प्रभावित भएको रघुबंशीले बताए ।
विश्व बैंकको ग्रीड सोलार तथा ऊर्जा दक्षता परियोजनाअन्तर्गतको सहयोगमा बन्दै गरेको यस परियोजनाको प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन इनर्जीसँग तीन करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो ।
सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार पाँच वर्षसम्म ठेकेदार कम्पनीले नै गर्नेछ । कम्पनीले ५ वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसम्भार गरी प्राधिकरणलाई चालू अवस्थामा हस्तान्तरण गर्नेछ । कम्पनीले प्लान्टबाट वार्षिकरूपमा तीन करोड ३० लाख युनिट सुनिश्चित ऊर्जा (ग्यारेण्टेड इनर्जी) आपूर्ति गर्नुपर्ने छ ।
प्लान्ट पूर्णरूपमा सञ्चालनमा आएपछि हिउँदमा राष्ट्रिय प्रणालीमा रहेको ऊर्जा अभावलाई कम गर्न सहयोग पुग्नेछ । यस्तै, कुलेखानी जलाशययुक्त र कालीगण्डकी ए, मध्यमर्स्याङ्दी, मर्स्याङ्दी, चिलिमे जस्ता अर्ध–जलाशययुक्त आयोजनाको जलाशयमा दिउँसो पानी सञ्चित गरी विद्युतको माग बढी हुने बेलुका र बिहान (पिक समय) मा ती विद्युत केन्द्र सञ्चालन गर्न पनि यसबाट मद्दत पुग्नेछ ।
यसबाट पिक समयको विद्युत माग र आपूर्ति व्यवस्थापन थप सहज हुने प्राधिकरणको अपेक्षा छ । काठमाडौं लोड सेन्टरबाट प्लान्ट नजिक रहेकाले यसबाट काठमाडौं उपत्यकाको विद्युत आपूर्ति प्रणालीलाई थप विश्वसनीय बनाउन महत्वपूर्ण योगदान पुग्ने बताइएको छ ।