काठमाडौं। सरकारले भन्सार दर बढाउने गरेको निर्णयबाट बैंकहरुलाई एकैपटक ७ करोड फाइदा भएको छ। सरकारले जेठ १५ गते भन्सार ऐन संशोधन गर्दै सुनको भन्सार दर प्रति १० ग्राम २ हजार रुपैयाँले बढाइदिएको छ।
बैंकहरुसँग अहिले ३५० किलो सुन स्टकमा छ। यो सुनमा भन्सार तिर्नु पर्दैन। तर बिक्री भने प्रति १० ग्राम २ हजार रुपैयाँले बढाएर गर्न पाइन्छ। यसो हुँदा बैंकहरुलाई ७ करोड रुपैयाँ फाइदा भएको हो।
बैंकहरुले अन्तिमपटक गत चैत ७ गते सुन विदेशबाट मगाएका थिए। त्यसपछि नयाँ सुन आएको छैन। जेठ १५ गतेअघि बैंकहरुले ३० किलो सुन बिक्री गरिसकेका थिए। उनीहरुसँग ३५० किलो सुन बाँकी छ। भन्सार बढेपछि बैंकहरुबाट सुन ब्यवसायीले उठाएका छैनन्।
३५० किलो सुन भनेको तीन लाख ५० हजार ग्राम हो। यसलाई १० ग्रामको युनिटमा परिवर्तन गर्दा ३५ हजार वटा युनिट बन्छ। यो युनिटमा २ हजार रुपैयाँका दरले भन्सार बढ्दा बैंकहरुलाई ७ करोड रुपैयाँ अतिरिक्त लाभ भएको हो।
अहिले सात बैंकसँग करिब ५० किलोका दरले सुन मौज्दात छ। सेञ्चुरी, सिभिल, ग्लोबल आइएमइ, मेगा, नेपाल इन्भेष्टमेन्ट, प्रभु र सानिमा बैंकसँग सुनको मौज्दात छ।