BIZMANDU
www.bizmandu.com

जेठ २५ भित्र कर तिर्न नसक्ने सरकारलाई व्यवसायीको जवाफ, ‘ थुन्ने अनि कर तिर भन्ने?’

२०७७ जेठ २०

जेठ २५ भित्र कर तिर्न नसक्ने सरकारलाई व्यवसायीको जवाफ, ‘ थुन्ने अनि कर तिर भन्ने?’
जेठ २५ भित्र कर तिर्न नसक्ने सरकारलाई व्यवसायीको जवाफ, ‘ थुन्ने अनि कर तिर भन्ने?’


Tata
GBIME
Nepal Life

काठमाडौं। लकडाउनको अवधिमा कर तिर्न नसक्ने उद्योगी व्यवसायीले सरकारलाई जवाफ दिएका छन्।

‘सरकारले हामीलाई घरमा थुनेर राखेको छ। घरमा थुनेर राखेको अवस्थामा कहाँबाट पैसा ल्याएर कर तिर्ने ?’ उनीहरुले प्रश्न गर्दै भनेका छन्, ‘लकडाउन खोलेको केही समयपछि मात्रै कर तिर्न सकिन्छ।’ नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले व्यापार नभएको अवस्थामा कर तिर्न नसकिने बताए।

‘अरु देशले धेरै राहत दिएका छन्। तर हाम्रो देशले लकडउनमै कर तिर्न भनिएको छ, यो कसरी सम्भव हुन्छ ?,' उनले बिजमाण्डूसँग भने, ‘कुनै व्यापार छैन, कुनै आम्दानी छैन, सबै जना घरमा बसिरेहका छन्। कसरी कर तिर्ने ?’ उनले लकडाउन नखोली कर तिर्न नसकिने बताउँदै जेठ २५ गते सबै कर तिर्न आएको सूचना पुनर्विचार गर्नुपर्ने धारणा राखे।

‘व्यवसायीले कर्जा लिएर कर तिर्ने हो। यो समयमा कर्जा लिन सक्ने अवस्था पनि छैन। हामीले बुझे अनुसार सर्वोच्च अदालतले पनि यो समयलाई शून्य समय भनेको छ,’ गोल्छाले भने, ‘कठिन अवस्थामा सरकारले यस्तो गर्ला भनेर हामीले सोचेका पनि थिएनौं।‘ लकडाउन अवधिमै कर तिर्न नसकिने नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश मोरले बताए। उनका ‍अनुसार मंगलबार नै अर्थसचिव शिशिरकुमार ढुंगानासँग भेटेर कर तिर्ने समय पर सार्न आग्रह गरिनेछ।

मोरले आर्थिक वर्ष सकिन लाग्दा सरकारलाई राजस्वको स्रोतको दबाब भए पनि करको मिति तोक्नु जायज नभएको बताए। नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले जेठ मसान्तसम्म लकडाउन थपेर कर तिर्न ताकेता गर्नु सरकारको गम्भीर गल्ती भएको बताए। उनले सर्वोच्च अदालतले शून्य समय भन्ने तर सरकारले भने कर तिर्न आदेश जारी गर्ने विरोधाभाषपूर्ण निर्णय भएको बताए।

सरकारले सबै व्यवसायीलाई कालोसूचीमा राख्न कर तिर्ने आदेश जारी गरेको नेपाल अटोमोबाइल एशोसोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए। ‘लकडाउनको समयमा मानिस खानेकुराको जोहो गर्नुपर्ने अवस्था छ। यो अवस्थामा कहाँबाट पैसा ल्याएर सरकारलाई बुझाउनु ?,’ उनले भने, ‘राम्रा व्यवसायीलाई पनि कालोसूचीमा राख्नका लागि तयारी गरेको देखिन्छ।’

सामान बिक्री भए पनि पैसा नउठेको अवस्थामा कर कसरी तिर्ने भन्ने विकल्प नभएको उनले बताए। ‘हामीले सामान बिक्री गरेका व्यवसायी समेत घरमा थुनिएर बसेका छन्। उनीहरुले दिनुपर्ने पैसा आएको छैन्। यस्तो अवस्थामा कसरी कर तिर्ने ?,’ दुलालले भने, ‘सरकारले व्यवसायीलाई न्याकेर उठ्नै नसक्ने अवस्था बनाउन खोजेको देखिन्छ।’