BIZMANDU
www.bizmandu.com

ग्राहकले मिटर आफैं जाँचेर विजुलीको महसुल बुझाउन सक्ने, फोन गरेरै मिटर रिडिङ गराउन सक्ने

२०७७ जेठ ११

ग्राहकले मिटर आफैं जाँचेर विजुलीको महसुल बुझाउन सक्ने, फोन गरेरै मिटर रिडिङ गराउन सक्ने
ग्राहकले मिटर आफैं जाँचेर विजुलीको महसुल बुझाउन सक्ने, फोन गरेरै मिटर रिडिङ गराउन सक्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। कोरोनाको महाव्याधि र लकडाउनसँगै मिटर रीडर घर घर पुगेका छैनन्। यसले ग्राहकको बक्यौता बढेको मात्र छैन, नेपाल विद्युत प्राधिकरण नै आर्थिक संकटमा परेको छ।

संक्रमणबाट जोगिन सामाजिक दुरी कायम गर्नैपर्ने भएपछि बिल तिर्न महसुल काउन्टर पुगेका ग्राहकलाई मात्रै होइन नगद लेनदेनका क्रममा कर्मचारीलाई पनि जोखिम छ। यी संकटबाट मुक्ति पाउन प्राधिकरण अब बिलिङ र भुक्तानीमा आंसिक अटोमेसन प्रणालीमा गएको छ।

कोरोना महामारीका कारण प्राधिकरणले मिटर रीडिङ गर्न नसकेको बेला ग्राहक आफैले अनलाइनबाटै मिटर रीडिङ गर्न सक्ने सुविधा दिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजमाण्डूलाई बताए।

'अहिले तत्कालका लागि अनलाइनबाट आफै मिटर रीडिङ गरेर भुक्तानी गर्न सक्ने गरि अनलाइन सेवालाई थप विस्तार गरेका छौ' घिसिङले भने, 'यो अटोमेसनमा लैजाने एउटा प्रयास हो, फूल अटोमेसनमा भने स्मार्ट मिटर जडान गरेपछि मात्रै जान सक्छौ।'

ग्राहकले आफ्नो मिटर आफैं हेर्ने, खपतको परिमाणअनुसार महसुल अनलाइन प्रणालीबाट बुझाउन सकिने प्रणाली सुरू गरेको हो। प्राधिकरणको कम्प्युटराइज बिलिङ डिभिजनले तयार पारेर आइतबारदेखि सुरुवात गरिएको नयाँ सफ्टवेयरले यस्तो सुविधा दिएको कम्प्युटराइज बिलिङ एण्ड नेटवर्क शाखाका प्रमुख सुजनकुमार श्रेष्ठले बताए।

थ्रीफेज (टिओडी) मिटर जडान गरेका प्राधिकरणका औद्योगिक तथा व्यावसायीक वर्गका ग्राहकले यो सिस्टमबाट पनि मिटर रिडिङ गर्न सक्ने छन्। तर यो सिस्टमले तत्काल घरयासी तर्फका ३० लाख भन्दा बढी ग्राहकले लाभ लिन सक्ने श्रेष्ठ बताउँछन्।

काठमाडौं, पोखरा, विराटनगर, बुटवल, लगायतका मुख्य मुख्य शहरबाट यो सेवा सुरु गरिसकिएको छ। सातै प्रदेशमा प्रतिनिधि तोकेर केहि दिनभित्रै यो सेवा सातै प्रदेशका सबै वितरण केन्द्रमा पुर्‍याउने प्राधिकरणको योजना छ।

कसरी गर्ने अनलाइनबाट मिटर रीडिङ?

सुरुमा ग्राहकले इन्टरनेटमा www.consumer.nea.org.np खोलेर 'लग-इन' गरेर युजर दर्ता गर्नुपर्छ। त्यसका लागि माथि पट्टी ‘रजिष्टर' लेखिएको ठाउँमा क्लिक गर्नुपर्छ।

त्यहाँ क्लिक गरेपछि आउने पेजमा ग्राहकको नाम, इमेल, मोबाइल नम्बर र आफूले चाहेको पासवर्ड राखेर ‘सबमिट’ गर्नुपर्छ।

सबमिट गरिसकेपछि ग्राहकको युजर आइडी तयार हुन्छ। युजर बनाउन आफ्नो नाममा मिटर हुनैपर्छ भन्ने छैन। बुवाको वा आफन्तको नाममा भएको मिटरका लागि छोरा छोरी वा अन्य आफन्तले पनि युजर बनाएर ग्राहक जोड्न सक्ने श्रेष्ठले बताए।

युजर बनाइसकेपछि होममा गएर माथि दायाँतिर भएको ‘युजर नेम र पासवर्ड’ लेखिएको ठाउँमा आफ्नो रजिष्टर गरिएको मोबाइल नम्बर र पासवर्ड राखेर लग-इन गर्नुपर्छ।

लग-इन गरिसकेपछि ग्राहक जोडिनको लागि ‘एड कन्जुमर’ पेज खुल्छ। त्यसमा ग्राहक जोड्न ‘एड कन्जुमर’ लेखिएको ठाउँमा क्लिक गरेपछि आउने पेजमा सम्बन्धित वितरण केन्द्र छान्ने, आफ्नो ग्राहक नम्बर र ग्राहक आइडी राखेर त्यसलाई पनि ‘सबमिट’ गर्नुपर्छ।

‘एड कन्जुमर’ मा एक भन्दा बढी ग्राहक पनि एड गर्न सकिन्छ। एउटै व्यक्तिको दुई-तीनवटा घर पनि हुन्छन्। दुई-तीनवटा घर भए मिटर पनि धेरै हुने भइहाले। त्यसको लागि छुट्टा-छुट्टै युजर बनाइरहनु नपरोस् भनेर एउटै युजरबाट धेरै मिटरको रिडिङ गरेर बिल तिर्न सकिने सुविधा दिइएको श्रेष्ठले बताए।

'युजर रजिष्ट्रर गर्दा कुनै कुरा मिलेन भने सिस्टमले मिलेन भनेर भनिदिन्छ,' उनले भने, 'ग्राहक नम्बर र ग्राहक आइडी मिल्यो भने ‘सक्सेस’ भनेर देखाउँछ।'

त्यसपछि ‘क्लिक मी’ भन्ने ठाउँमा क्लिक गरेपछि ग्राहकको मिटर रिडिङ गर्ने पेज खुल्छ। त्यहाँ कुन महिनाको बिल तिर्ने हो उक्त महिना छानेर मिटरमा उठेको अंक वा मिटरको उठेको अंक देखिने फोटो खिचेर पनि अपलोड गर्न सकिने श्रेष्ठ बताउँछन्।

ग्राहकले विगतमा औसत उठ्ने अंकभन्दा निकै नै कम अंक राखेको खण्डमा सिस्टमले ग्राहकलाई म्यासेज पठाएर एकपटक ‘कन्फर्म’ गर्न भन्छ। वास्तवमै यति नै अंक हो वा भूलबस थोरै अंक राखिएको हो भनेर म्यासेज जान्छ। त्यसपछि उसले हो भनेपछि उसको बिलिङ ‘प्रोसेसमा’ जाने उनी बताउँछन्।

तर उक्त मिटरको बिलिङ प्राधिकरणको सफ्टवेयरले पनि गर्ने हुँदा जानाजान थोरै अंक राखेको पाइएमा पछि मिटर रिडिङ विनियमावलीमा भएको व्यवस्थाअनुसार ग्राहकलाई कारबाही हुने पनि उनले बताए।

ग्राहकले पठाएको अंक र सिस्टममा देखिएको खपत अंक फरक परेमा सिस्टमले नै ग्राहकलाई 'तपाईको बिल यति हो' भन्ने सन्देश जानकारी गराउँछ। ग्राहकले गरेको रिडिङ पनि सिस्टममा आएर बस्छ। त्यसपछि ग्राहकले गरेको रिडिङ 'मिटर रिडिङ' मा आएर अपडेट हुने र पछि प्राधिकरणले छुट्टै रिडिङ गरिरहनु नपर्ने श्रेष्ठ बताउँछन्।

ग्राहकले रिडिङ गर्दा कुनै कैफियत भएमा मिटर रिडिङ गरेकै दिन बेलुका ४ बजेभित्र ग्राहकलाई फोन गरेर खबर गरिन्छ। त्यसपछि ग्राहकले मिटरको फोटो खिचेर फेरि पठाएपछि पुनः भेरिफिकेसन हुन्छ।

इन्टरनेटमा पहुँच नभएकाले पनि मिटर रीडिङ गर्न सक्ने

कुनै ग्राहकले आफ्नो ग्राहक नम्बर उक्त सिस्टममा भेट्टाएन भने वा इन्टरनेटको पहुँच भएन भने बिलिङ शाखाको हटलाइनमा सम्पर्क गरेर मिटर रीडिङ गराउन सक्ने छन्। हटलाइन नम्बर १/२ दिन भित्रै सार्वजनिक गर्ने श्रेष्ठले बताए।

हटलाइनमा सम्पर्क गरेपछि बिलिङ शाखाले नै ग्राहकलाई फोन गरेर सबै विवरण माग्छ। आफ्नो वितरण केन्द्रमा ग्राहक आइडी म्याच भएन भने बिलिङ शाखाले नै ग्राहकको युजर बनाइदिने श्रेष्ठ बताउँछन्।

यो सुविधाले नेपालको कुनै पनि कुनामा भएका ग्राहकले आफ्नो मिटर रीडिङ अनलाइन र अफलाइनबाट गरेर भुक्तानी पनि अनलाइनबाटै गर्न सक्ने उनले बताए।

आजबाट सुरु भएको अनलाइन बिलिङ सिस्टममा अहिलेसम्म काठमाडौ, पोखरा, विराटनगर, बुटवल लगायतका क्षेत्रका ६० भन्दा बढी वितरण केन्द्र जोडिएका छन्। केही दिनभित्रै १९९ वटै वितरण केन्द्रलाई सिस्टममा जोड्ने सबै ग्राहकको अनलाइनबाटै मिटर रिडिङ गर्ने प्राधिकरणको लक्ष्य छ।