BIZMANDU
www.bizmandu.com

नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणका सामान भन्सारमा आइपुग्यो, सेनाको विस्फोटक नचलाउने

२०७७ जेठ ९

नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणका सामान भन्सारमा आइपुग्यो, सेनाको विस्फोटक नचलाउने
नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणका सामान भन्सारमा आइपुग्यो, सेनाको विस्फोटक नचलाउने


काठमाडौं। नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणका लागि आवश्यक पर्ने इक्विपमेन्ट वीरगन्ज भन्सार कार्यालय आइपुग्न थालेका छन्।

Tata
GBIME
Nepal Life

नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार अधिकांश इक्विपमेन्ट कोलकाता बन्दरगाह र केही वीरगन्ज भन्सार कार्यालय आइपुगेका छन्। 

भन्सारमा इक्विपमेन्ट आएसँगै निर्माण कम्पनीले साइटसम्म ल्याउनका लागि सहजीकरण गरिदिन आयोजनालाई अनुरोध गरेको छ।  निर्माण कम्पनी प्रतिनिधिले सडक विभागका महानिर्देशक केशवकुमार शर्मालाई बिहीबार भेटेर सवारी पास र भन्सारलाई पत्र लेखिदिन आग्रह गरेका छन्। 

आयोजनाका अनुसार करिब साढे चार अर्ब रुपैयाँ बराबरको इक्विपमेन्ट र खपत हुने सामानहरु ल्याउन लागिएको छ। जसमा जम्बो ड्रिलर, ठुला ठुला एक्साभेटर, कंक्रिट गर्ने प्रेसर मेसिन, ह्विल लोडर, टनेल लाइनिङ गर्ने मेसिनलगायतका  सामानहरु छन्। सुरुङ निर्माण थाल्न चाहिनेमध्येका यो पहिलो 'मास्टर लिष्ट' अनुसारका सामानहरु हुन्। 

दोस्रो मास्टर लिष्ट बन्दै छ। जसमा सुरुङमार्ग निर्माण भएपछि त्यहाभित्र प्रयोग हुने भेन्टिलेसन र लाइटिङका सामान, इमर्जेन्सी सिस्टमका लागि प्रयोग हुने सामान लगायत हुनेछन्।

विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले इक्विपमेन्ट ल्याउन सहजीकरण गरिदिन लागेको बताए। उनका अनुसार अबको केही सातामै सामानहरु साइटमा आइपुग्नेछ। 'सुरुङमार्गका निर्माणका लागि आवश्यक सबैजसो इक्विपमेन्ट भन्सार आउन थालेका छन्। निर्माण कार्य सुरु गर्न अब समस्या हुँदैन,' उनले भने।

कहिलेबाट सुरु हुन्छ काम ?
लकडाउन लम्बिदै गएपछि आयोजनाले निर्माण कम्पनीलाई पत्र लेख्दै काम सुरु गर्न सकिने वा नसकिने विषयमा सोधेको थियो।

निर्माण कम्पनीले  कामदार ल्याउन सवारी पास मिलाइदिए काम थाल्न समस्या नहुने जवाफ पठाएको थियो। साथमा कम्पनीले लकडाउनमा काम गर्न सकिने योजनासमेत पेश गरेको थियो।

आयोजनाले सानो स्केलमा भएपनि सुरु गर्ने भन्दै पत्राचार गरेको थियो, तर कम्पनीले फुलफ्लेजमा गर्ने प्रस्ताव गरेको हो। सवारी पास मिलाएर उपत्यका बाहिर झापा लगायतका स्थानहरुबाट २ सय जना कामदार ल्याउनुपर्छ। 

जिल्ला प्रशासन कार्यालयबाट सवारी पास र आरडिटी परीक्षणका लागि व्यवस्था गर्न लागिएको थियो। तर सोही समय आयोजना प्रमुख  श्यामप्रसाद खरेल पदावधि पूरा भएर सेवानिवृत्त भए। आयोजना प्रमुख नहुँदा केही साता प्रक्रिया अघि बढ्न सकेन।

बिहीबार निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनका प्रोजेक्ट म्यानेजरसहितको टोली सडक विभाग पुगेको थियो। त्यहाँ उनीहरुले विभागका महानिर्देशकसँग काम सुरु गर्ने विषयमा छलफल गरेका थिए। महानिर्देशक शर्माले खटिने कामदार र प्राविधिकको कोरोना परीक्षण गरेर काम सुरु गर्न सहजीकरण गरिदिने बताएका थिए। 

'स्वास्थ्यका मापदण्ड पूरा गरेर काम सुरु गर्न सकिन्छ। उहाँहरुले यहाँबाटै बस लगेर आरडिटी परीक्षण गरेर कामदार ल्याउनु हुन्छ। अनि काम सुरु हुन्छ,' शर्माले भने, 'कहिलेबाट सुरु गर्ने भन्ने एकिन भने भइसकेको छैन।'

कम्पनीले निर्माण कम्पनीले स्यानिटाइज गर्ने, क्वारेन्टाइन तयार पार्ने, कामदारलाई बाहिरका मानिसहरुसँग भेट्न नदिने, एम्बुलेन्सको व्यवस्था गर्ने आयोजनालाई जानकारी गराएका छन्। आयोजनाले कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिले गरेका निर्णय समेत मान्नुपर्ने जानकारी कम्पनीलाई गराएको छ।

धेरैवटा स्थानीय तह र जिल्ला पार गरेर कामदार ल्याउनुपर्ने भएकाले प्रशासन र स्थानीय तहले गर्ने सहयोगमा समेत भर पर्ने आयोजनाका इन्जिनियरहरुको भनाइ छ।

विस्फोटक पदार्थको समस्या 
आयोजनाका लागि आवश्यक पर्ने विस्फोटक पदार्थ ल्याउने प्रक्रिया नै सुरु भएको छैन। नेपाली सेनाले भारतबाट विस्फोटक पदार्थ ल्याउन स्वीकृति नदिएका कारण प्रक्रिया सुरु हुन नसकेको हो।

विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापा, तत्कालिन आयोजना प्रमुख श्याम खरेल, सेनाका प्रतिनिधि, हाज्मा आन्दो कर्पोरेसन र जाइकाका प्रतिनिधिसहितको बैठक बसेको थियो। सेनाले आफैंले उत्पादन गरेको विस्फोटक पदार्थ प्रयोग गर्न आग्रह गरेको थियो। तर कम्पनीले सेनाको विस्फोटक पदार्थ प्रयोग गर्न नसकिने जवाफ दिएको थियो। उनीहरुले सेनाको प्रस्ताव ठाडै अस्वीकार गर्दै समय नभएको भन्दै परीक्षणसमेत गरिदिन नसक्ने बताएका थिए। 

कम्पनीले भारतीय विस्फोटक पदार्थ बनाउने कम्पनीसँग सम्झौता गरिसकेका कारण पनि सेनाको प्रस्ताव मान्न नसकिने जनाएको थियो। त्यसपछि आयोजनाका अधिकारीहरुले कूटनीतिक पहल गरेर परीक्षण गर्न लगाउने बताएका थिए। तर निर्माण कम्पनीले परीक्षणका लागि समेत समय नभएको जवाफ दिएका थिए। 

अहिले सेनासँग भारतबाट विस्फोटक पदार्थ ल्याउन स्वीकृति लिने प्रक्रिया चलिरहेको आयोजनाका एक अधिकारीले बताए। आयोजनाका लागि करिब १२ सय टन विस्फोटक पदार्थ चाहिन्छ। त्यसैगरी धादिङतर्फको मुआब्जा विवाद स्थानीयका माग लगायतका समस्या अझै सुल्झिसकेका छैनन्।

आयोजनामा लकडाउन सुरु हुन अघि सुरुङमार्ग बाहिरका संरचनाहरु निर्माण भइरहेको थियो। सोही कामलाई अब निरन्तरता दिइनेछ। सुरुङमार्गको पूर्वी पोर्टल चन्द्रागिरि नगरपालिकाको टुटीपाखा र पश्चिम पोर्टल धादिङको सिस्नेखोला दुवैतिर काम सुरु भएको थियो। 

करिब २.७ किलोमिटर लम्बाइको यो सुरुङमार्ग जापान सहयोग नियोग (जाइका) को करिब १६ अर्ब सहुलियत ऋण र नेपाल सरकारले आन्तरिक स्रोतबाट ६ अर्ब व्यहोरेर निर्माण थालिएको हो। गत असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेर निर्माण सुरु गरिएको हो। सम्झौता मितिले ४४ महिनामा निर्माण पूरा हुने लक्ष्य छ।