BIZMANDU
www.bizmandu.com

अहिलेसम्मको परीक्षणमा ट्राफिक प्रहरीका कसैलाई छैन कोरोना, जोखिममा भने सधैं नै

२०७७ जेठ ९

काठमाडौं। महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रहरीले विशेष सजगता अपनाउन थालेका छन्। सडकमा खटिने ट्राफिक प्रहरीलाई विषेश सुरक्षा अपनाउन निर्देशन दिइएको छ। किनकि उनीहरुले सडकमा गुड्ने सवारीको चेक गर्दा अरु मानिससँग प्रत्यक्ष सम्पर्कमा आउने गर्छन् र उनीहरुमा संक्रमणको जोखिम अत्यधिक देखिन्छ।

Tata
GBIME
Nepal Life

महानगरीय ट्राफिक प्रहरी महाशाखाले अहिले सडकमा खटिएका ट्राफिक प्रहरीको र्‍यापिड डाइग्नेस्टिक टेष्ट (आरडीटी) र पीसीआर विधिबाट कोरोना संक्रमणको टेस्ट गरिरहेको छ। अहिलेसम्म १ सय ४३ जनाको आरडीटी परीक्षण गरिएको छ। यसरी आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएका ट्राफिकको पीसीआर परीक्षण पनि गरियो। तर, सबैको परीक्षण नेगेटिभ आएको छ।

'अहिलेसम्म परीक्षण गर्दा कुनै पनि ट्राफिक प्रहरीको रिपोर्ट पोजेटिभ आएको छैन,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले भने।

पहिलो चरणमा १ सय ४३ जनाको आरडीटी परीक्षण गर्दा ६ जना प्रहरीको रिपोर्ट पोजेटिभ आएको थियो। त्यसपछि पोजेटिभ आएका ट्राफिक र उनीहरुको सम्पर्कमा आएका अन्य २३ जनाको पीसीआर परीक्षण गरिएको थियो। तर, पीसीआर परीक्षणमा सबैको रिजल्ट नेगेटिभ आएको एक प्रहरी अधिकृतले जानकारी दिए।

उनीहरुलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल टेकु र काठमाडौंका विभिन्न वडामा गराइएको परीक्षण सहभागी गरिएको थियो। महानगरीय प्रहरी वृत्त कालीमाटीमा ट्राफिक प्रहरी कार्यालय पनि सँगै छ। त्यहाँ ५४ जना ट्राफिक प्रहरी रहेका छन्। अहिलेसम्म ट्राफिक प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ। उनीहरुको आइतवारमात्र सामूहिक परीक्षण गरिने भएको छ।

प्रहरीमा कोरोना संक्रमण देखिएपछि ट्राफिक प्रहरीले विशेष सुरक्षाका साथ प्रहरी सडकमा खटाइएको छ। सवारी तथा अन्य कागजपत्र चेक गर्ने ट्राफिक प्रहरीलाई पञ्जा, चस्मा सहितको पीपीई उपलव्ध गराइएको महाशाखाका एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।

अहिले काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा १४ सय ९१ जना ट्राफिक प्रहरी सडकमा खटिएका छन्। उनीहरुलाई चार सिफ्ट बनाएर परिचालन गरिएको छ। ब्यारेकमा बसेकालाई घर तथा कोठा जना रोक लगाइएको छ। त्यस्तै कोठाबाट ड्युटीमा आउनेलाई घर पायक क्षेत्रमा खटाएर ब्यारेक तथा कार्यालय नआउन निर्देशन दिइएको एसएसपी ढकालले जानकारी दिए।

अहिलेसम्म नेपाल प्रहरीमा कार्यरत ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौं, कपिलबस्तु, बारा, धनकुटामा संक्रमित प्रहरी फेला परेका हुन्। प्रहरी प्रधान कार्यालय नक्सालले ७७ वटा जिल्लामा परिपत्र गर्दै उच्च सतर्कता अपनाएर काम गर्न निर्देशन दिएको छ।

'सुरक्षित भएर कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने कुरालाई ध्यानमा राखेर व्यवस्था मिलाएका छौं,' नेपाल प्रहरीका प्रवक्ता डिआइजी निरज शाहीले भने।

कुनै पनि प्रहरी कार्यालय, वृत्त, प्रभाग, इलाका कार्यालयमा कार्यरत धेरै सङ्ख्यामा प्रहरीलाई क्वारेन्टाइनमा राख्नुपर्ने भए अर्को कार्यालय, वृत्त वा अन्य स्थानबाट परिचालन गर्ने भएको छ। 'एकैचोटी सबैतिरकालाई क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था नआउँला। त्यसैले रोटेसन भइरहन्छ। कोही क्वारेन्टाइनमा आउँछन्। कोही जान्छन्, त्यसरी मिलाउँछौं,' डिआइजी शाहीले भने।