BIZMANDU
www.bizmandu.com

५० हजार डलरमाथिका गाडी र विदेशी मदिरा रोक्दा सरकारलाई फाइदाभन्दा नोक्सान बढी

२०७७ जेठ ९

५० हजार डलरमाथिका गाडी र विदेशी मदिरा रोक्दा सरकारलाई फाइदाभन्दा नोक्सान बढी
५० हजार डलरमाथिका गाडी र विदेशी मदिरा रोक्दा सरकारलाई फाइदाभन्दा नोक्सान बढी


काठमाडौं। कोरोनाको असर बढ्न थालेपछि सरकारले वैशाखमा ५० हजार डलर मूल्यभन्दा महँगा गाडी तथा विदेशी मदिराको आयातमा प्रतिबन्ध लगाउने निर्णय गर्‍यो। 

Tata
GBIME
Nepal Life

विदेशी विनिमयको सञ्चिति बढाउनका लागि आयातमा प्रतिबन्ध लगाउने सार्वजनिक दाबी गरिए पनि के यी दुई वस्तुको आयात प्रतिबन्धले साँच्चै विदेशी मुद्राको भण्डार बढाउँछ ? वा आयात प्रतिबन्धले नेपालको अर्थतन्त्रमा असर पार्छ ? व्यवहारिक उत्तर खोज्न थालिएको छ।

नेपालमा ५० हजार डलरभन्दा बढी मूल्यका वार्षिक १० वटा हाराहारीमा मात्रै गाडी आयात हुने गरेको छ। यसरी हेर्दा ५० हजार माथिका गाडीको आयात प्रतिबन्ध लगाउँदा जम्माजम्मी पाँचदेखि सात लाख डलर बचत हुने अटोमोबाइल व्यवसायीको तर्क छ।

अर्बौं रुपैयाँको गाडी आयात हुने देशमा ६/७ लाख डलरको आयात रोक्दैमा ठूलो बचत नहुने उनीहरुले दाबी गरे। ५० हजार डलर (६० लाख नेपाली रुपैयाँ) को गाडी नेपालमा आयात गरेर बिक्री गर्दा तीनदेखि साढे तीन करोड रुपैयाँ पर्छ। यसमध्ये सरकारले करमात्रै दुई करोड हाराहारीमा  लिन्छ।

त्यसै पनि कोरोनाको महाव्याधिका कारण कारोबार ठप्प भएर यस्ता गाडी चढ्ने ठूला उद्योगी र व्यापारीको खल्ती खाली भएको छ। यस्तो बेला कसले महँगा गाडी आयात वा खरिद गर्ला ? अटोमोबाइल व्यवसायीको प्रश्न छ। 

'५० हजार डलर माथिको गाडी आयात रोक्दैमा ठूलो मात्रामा विदेशी मुद्राको भण्डारण हुन्छ भन्ने कुरामा मलाइ विश्वास छैन्,' अटोमोबाइलका एक व्यवसायीले भने, 'सम्भवतः यो निर्णय गर्दा सरकारले केही तथ्य त हेरेको होला, तर तथ्यले सरकारको कदमलाई ग्राउण्डमा समर्थन गर्दैन।' यो एउटा लोकप्रियताका लागि चालिएको कदमका रुपमा मात्र देखिएको उनले बताए। उनले सरकारको नियत माथि प्रश्न गरे।

एक अर्का उद्योगीले पनि ज्यादै धेरै कर उठ्ने तर विदेशी मुद्राको भण्डारमा ठूलो असर नपार्ने यस्ता विलासिता वस्तुको आयातलाई अझ सहज बनाउनु पर्ने तर्क गर्छन्। 

'कोरोनाका कारण प्रभावित सरकारको आफ्नै ट्रेजरीलाई ब्यालेन्स गर्न पनि आगामी दिनमा धेरैभन्दा धेरै कर चाहिन्छ,' उनले भने, 'त्यस्तो कर विदेशी मुद्राको भण्डारलाई ठूलो क्षति नगरी यस्तै गाडी, आयातित मदिरा जस्ता वस्तुबाट धेरैभन्दा धेरै उठाउन सकिन्छ।' 

एक वर्षमा नेपालमा विदेशबाट एक अर्ब रुपैयाँ बराबरको विदेशी मदिरा आयात हुने गरेको छ। एक अर्ब रुपैयाँको मदिरा आयात हुँदा सरकारले त्यसमा तीन अर्ब रुपैयाँ राजस्व पाउँछ। 'यस्ता कति वस्तु छन्, जसबाट हामीले एक हजार रुपैयाँ बाहिर पठाउँदा तीन हजार रुपैयाँ नेपालमा राजस्व पाउने गरेका छौं ?,' उनले भने, 'त्यस्ता वस्तु त सीमित मात्रै देखिन्छ।'

त्यसमाथि यो वर्ष पर्यटन उद्योग डाबाडोलको अवस्था छ। 'कोरोनाका कारण होटल रेष्टुरेण्टको व्यापारमा मन्दी आउने पक्कापक्की छ,  उपभोक्तासँग यस्ता उत्पादनमा खर्च गर्न सक्ने गरी पैसाको जोहो हुने सम्भावना न्युन छ,,' एक जना मदिरा व्यवसायीले भने । यसले पनि गत वर्षभन्दा यो वर्ष आधामात्रै मदिरा आयात हुने प्रक्षेपण उनले गरे।

उनले भने 'गत वर्ष एक अर्ब रुपैयाँ (८५ लाख डलर हाराहारी)को विदेशी मदिरा आयात भएको थियो। अब आउने आर्थिक वर्षमा राम्रो भयो भने ५० लाख डलर हाराहारीमा विदेशी मदिरा आयात होला।' उनले विश्लेषण सुनाए 'पूरै वर्ष भरिमा ५० लाख डलर फरेन रिजर्भ जोगाउँदा अर्थतन्त्रमा फाइदाभन्दा त म घाटै देख्छु।' 

नेपालमा मदिरामाथि करको ठूलो भार छ, त्यसले गर्दा आयातित मदिरा खपत गर्ने उपभोक्ता स्वदेशी उत्पादन खपतमा सरेको छ। स्वेदशी उत्पादन खपत गर्ने उपभोक्ता घरेलु मदिराको खपत गर्न थालेका छन्। 'यो साइकलका कारण राज्यले कर गुमाएको छ, उपभोक्ताले स्वास्थ्य गुमाएको छ भने समाजमा अपराध भित्रिएको छ,' एक जना स्वदेशी मदिरा उद्योगीले बताए।

नेपालमा कोरोनाको प्रकोप सुरु भएपछि गत महिना मात्रै घरेलु विषाक्त मदिरा सेवन गर्दा महोत्तरीमा ११ जनाको ज्यान गयो। 'त्यही मदिरा घरेलुको सट्टा उद्योग निर्मित हुन्थ्यो र न्यून करका कारण घरेलु सरहको मूल्यमा मदिरा उपलब्ध भएको भए उनीहरुको ज्यान बच्थ्यो, सरकारले पनि कर पाउँथ्यो। तर उच्च करका कारण यी दुवै मोर्चामा सरकारले मात खायो,' उनले भने।

महोत्तरी एउटा मात्र उदाहरण हो, वर्षभर गन्ने हो भने नेपालभर यस्ता हजारौं उदाहरण भेटिन्छन्। विश्व स्वास्थ्य संगठनको सन् २०१० को एउटा अध्ययनअनुसार नेपालमा झण्डै ९० प्रतिशतभन्दा बढी घरेलु मदिराको कारोबार हुने गरेको छ।

पछिल्ला केही वर्षमा जनचेतनाका कारण उपभोक्ताहरु घरेलुबाट विस्तारै उद्योग निर्मित मदिरामा सिफ्ट हुँदै गएका थिए, तर सरकारले हरेक बजेटबाट करको दर बढाउन थालेपछि फेरि त्यो समुदाय उद्योग निर्मित मदिराबाट घरेलुमा सर्न थालेका छन्।

साथसाथै यसले चोरी र तस्करी पनि बढ्न थालेको छ। अहिले पनि नेपालमा उही ब्राण्डको उस्तै मदिरा भारतभन्दा दोब्बर महँगो छ। एकातिर प्रतिबन्ध लगाउने, अर्कोतर्फ कर थप्दै जाने हो भने भारतबाट अहिले जुन मात्रामा तस्करी बढेको छ त्यो अझ धेरै बढ्ने अर्का एक व्यवसायीले बताए।

'जहाँ बढी मुनाफा छ, त्यहाँ रिस्क लिएर पनि तस्करहरु कारोबार बढाउँछन्,' उनले भने। अहिले पनि तराईका जिल्ला तथा पूर्वी पहाडका जिल्लामा भारतबाट स्थानीय ब्राण्डका मदिरा अवैध आयात गरेर बिक्री हुने गरेको छ भने रसुवा लगायतका उच्च हिमाली जिल्लामा चीनबाट अवैध आयात हुने गरेको छ।

अहिले हामीसँग ३६ अर्ब रुपैयाँ अधिक शोधनान्तर बचत छ। अहिलेको विदेशी मुद्रा सञ्चितिले सामान्य अवस्थामा सात महिनाभन्दा बढीको आयात गर्न पुग्छ। लकडाउनपछिको आयात हेर्दा अहिलेको सञ्चितिले ११ महिनाको आयात  धान्न पुग्छ। अहिले विदेशी मुद्राको सञ्चिति ११ खर्ब ५५ अर्ब ९० करोड रुपैयाँ छ।

यदी विदेशी मदिरालाई आयात रोक्ने हो भने त्यस्ता मदिरा पनि भारत लगायतका देशबाट आयात हुने एक जना व्यवसायीको अनुमान छ। 'यही लकडाउनको बेलामा त विदेशी ब्राण्डेड मदिरा तपाईंलाई भारतबाट कति कार्टुन ल्याइदिनु पर्‍यो भनेर प्रश्न सोधियो,' एक जना रिटेलरले भने। 'अवस्था सामान्य हुँदै गयो भने स्थिति कस्तो होला ?,' उनले प्रश्न गरे। उनको प्रश्नमा जवाफ दिंदै अर्का एक व्यवसायीले भने 'त्यतिबेला सरकारसँग भुइँको टिप्दा पोल्टाको पनि खस्ने उखान सम्झनुबाहेक दोस्रो विकल्प रहँदैन।'