BIZMANDU
www.bizmandu.com

व्यवसायीको कोरोना परीक्षणपछि कालीमाटीमा घटे ग्राहक, तरकारी-फलफूलको आयात आधै घटाइयो

२०७७ जेठ ९

व्यवसायीको कोरोना परीक्षणपछि कालीमाटीमा घटे ग्राहक, तरकारी-फलफूलको आयात आधै घटाइयो
व्यवसायीको कोरोना परीक्षणपछि कालीमाटीमा घटे ग्राहक, तरकारी-फलफूलको आयात आधै घटाइयो

Tata
GBIME
Nepal Life

काठमाडौं। व्यवसायीका लागि कोरोना जाँच शिविर आयोजना गरिएयता कालीमाटी तरकारी तथा फलफूल बजारमा खरिदकर्ता निकै घटेका छन्। 

देशकै ठूलो तरकारी मण्डीमा गत साता स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकाले व्यवसायीका लागि कोरोना जाँचको व्यवस्था गरेका थिए। त्यसमा स्वाब लिइएमध्ये चार जनाको आरडीटी पोजेटिभ देखिएको थियो, तर पीसीआर भने नेगेटिभ नै आएको थियो। कसैलाई संक्रमण नदेखिए पनि ग्राहक घट्दा नियमित भइरहेको तरकारी र फलफूलको बिक्री र आयातमा प्रभाव परेको छ।  

'बिक्री घटेपछि आयात पनि आधै घटेको छ,' कालिमाटी फलफूल तथा तरकारी विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले भने, '५०० मेट्रिक टन भित्रिन्थ्यो, हिजोआज आधामात्रै आइरहेको छ।' दैनिक उपभोग्य वस्तुमा पर्ने भएकाले तरकारी र फलफूलको ढुवानी रोकिएको छैन। 

थोक बजारबाट खरिद गरेर लैजाने ठूला ग्राहकमध्येका होटल-रेस्टुरेन्ट बन्द छन्। खुद्रा खरिद गर्ने ग्राहक कोरोनाको डर र लकडाउनमा हिडडुल असजिलो भएकाले थोक बजारसम्म आइपुग्दैनन्। पछिल्लो समय राजधानीका बिभिन्न स्थानमा थोक बजार पनि बिस्तार भएको असर कालीमाटी मण्डीलाई परेको छ।

त्यसो त संक्रमणविरुद्ध सतर्कताका लागि बजार व्यवस्थापन समितिले लकडाउनकै केही सातामा खुद्रा बिक्री स्थल हटाएको थियो। कालीमाटीमा भारतबाट तरकारी आउने क्रम रोकिएको छैन।  

लकडाउनका लम्बिनु र मुलुकमा संक्रमितको संख्या बढेर सतर्कता धेरै अपनाउन थालिएपछि तरकारीको थोक मूल्य घट्ने क्रममा छ। खपत कम हुँदा थोक व्यवसायीले आयातको परिमाण घटाउदै आएका छन्। 

महाव्याधिबाट सुरक्षा र लकडाउन लम्बिँदै गएको अवस्थालाई ध्यानमा राख्दै समितिले डिजिटल कृषि बजार सञ्चालन अगाडि बढाएको छ।