BIZMANDU
www.bizmandu.com

आयातकर्ताको नाम र एमआरपी नभएको स्यानिटाइजर चीनबाट आयात, उद्योगीको आपत्ति


आयातकर्ताको नाम र एमआरपी नभएको स्यानिटाइजर चीनबाट आयात, उद्योगीको आपत्ति
आयातकर्ताको नाम र एमआरपी नभएको स्यानिटाइजर चीनबाट आयात, उद्योगीको आपत्ति

विराटनगर। सरकारले चीनबाट गुणस्तरहीन स्यानिटाइजर आयात गर्न छुट दिएको भन्दै नेपालका उद्योगीले आपत्ति प्रकट गरेका छन्।

Tata
GBIME
Nepal Life

मोरङ व्यापार सङ्घका पूर्व अध्यक्ष महेश जाजू, सङ्घका कार्यकारी सदस्य अमित शारडा र उद्योगी महेश सोनीले चीनबाट आयात गरिएको स्यानिटाइजर गुणस्तरहीन भएको दाबी गरेका हुन्।

जाजू, शारडा र सोनी तीन जना नै विराटनगरमा स्यानिटाइजरका उत्पादक हुन्।

‘चीनबाट आयात गरिएको स्यानिटाइजरमा आयातकर्ताको नामसमेत उल्लेख छैन’, पूर्व अध्यक्ष जाजूको प्रश्न छ, ‘यस्तो स्यानिटाइजरले कसैको स्वास्थ्यमा प्रतिकूल असर गर्यो भने कसका विरूद्ध उजुर गर्ने?’

‘मानव स्वास्थ्यसम्बन्धी कुनै पनि मालवस्तुको आयात हुँदा भन्सार विन्दुमै सरकारले परीक्षण गरेर आयातको अनुमति दिनुपर्छ’, उनले भने, ‘तर कुनै परीक्षण बिना नै तातोपानी नाकाबाट स्यानिटाइजर भित्रने गरेको छ। आयात अनुमति दिँदा भन्सार कार्यालयले न्यूनतम शर्त र परीक्षण पनि पूरा गरेको छैन।’

आफ्नो उद्योग गुणस्तरीय स्यानिटाइजर निर्यात गर्न सक्षम भएको जाजूको दाबी छ। 

उनले सुनाए, ‘निर्यातका लागि हामीले सरकारसित बारम्बार अनुमति माग्यौँ तर अहिले स्यानिटाइजर निर्यात गर्न मिल्दैन भन्ने उत्तर पायौँ। हामीलाई निर्यात गर्न नदिने तर गुणस्तरहीन स्यानिटाइजर आयात गर्न दिने, सरकारको यो नीति विरोधाभासपूर्ण छ।’

उद्यमी जाजूले नेपाल स्यानिटाइजरमा आत्मनिर्भर भइसकेको उल्लेख गर्दै आयातलाई निरूत्साहित गर्नुपर्ने आग्रह गरे।

अर्का उद्योगपति महेश सोनीका अनुसार चीनबाट भित्र्याइएको भनिएको स्यानिटाइजरमा अधिकतम खुद्रा मूल्य (एमआरपी) समेत उल्लेख छैन। 

सोनीले सरकारले एमआरपी नभएको स्यानिटाइजर आयात गर्न दिएर सर्वसाधारण उपभोक्ताको अधिकारमाथि खेलबाड गरेको आरोप लगाए।

‘एमआरपी उल्लेख नगरिएको हुँदा आयातीत स्यानिटाइजर जहाँ जतिमा पनि विक्री भइरहेको छ, कुनै निश्चित मूल्य नै छैन’, उनको आग्रह छ, ‘सरकारलाई उपयोग गरेर कोरोना सङ्क्रमणको नाजायज फाइदा कसैले पनि उठाउन मिल्दैन। कमसेकम स्यानिटाइजरजस्तो आजको अत्यावश्यक वस्तुमा एमआरपी उल्लेख हुनुपर्छ। उल्लेख नहुनु भनेको जनताको अधिकारमाथि गम्भीर धोका हो।’

चीनबाट आयात गरिएको स्यानिटाइजरमा पसलेले आफैँले मनपरी ढङ्गले मूल्य लेख्ने गरेको सोनीले बताए।

व्यापार सङ्घका कार्यकारी सदस्य अमितले विदेशी मुद्राको सञ्चिति बढाउनु पर्ने अहिलेको बेलामा सरकारले गुणस्तरहीन स्यानिटाइजरको आयात गर्न अनुमति दिनु उचित नहुने तर्क प्रस्तुत गरे।

‘परिवत्र्य विदेशी मुद्राको खर्च सकेसम्म कम खर्च गरेर हामी आत्मनिर्भर हुने बाटोमा लाग्ने बेला आएको छ’, उद्यमी शारडाले भने, ‘तर सरकारले हचुवाका भरमा गुणस्तरहीन स्यानिटाइजरको आयात गर्न दिएर आत्मनिर्भरताको नारालाई गिज्याएको छ।’