BIZMANDU
www.bizmandu.com

आर्थिक संकट चुलिएपछि थाई एयरवेजले गर्‍यो १ अर्ब ७० करोड डलर ऋण प्रस्ताव, निजीकरणको तयारी

२०७७ जेठ ६

आर्थिक संकट चुलिएपछि थाई एयरवेजले गर्‍यो १ अर्ब ७० करोड डलर ऋण प्रस्ताव, निजीकरणको तयारी
आर्थिक संकट चुलिएपछि थाई एयरवेजले गर्‍यो १ अर्ब ७० करोड डलर ऋण प्रस्ताव, निजीकरणको तयारी

Tata
GBIME
Nepal Life

बैंकक। आर्थिक संकटमा परेको थाइल्याण्डको राष्ट्रिय ध्वजाबाहक थाई एयरवेज इन्टरनेसनलले आफ्नो व्यावसायिक योजनामा फेरबदल गर्नेगरी थाइल्याण्डको एक अदालतमा निवेदन दिएको छ।

सरकारका एक प्रवक्ता नारुमोन पिन्योसिनवातका अनुसार थाई एयरवेजको प्रस्तावलाई मन्त्रिपरिषदको स्वीकृतिका लागि मंगलबार पेश गरिने भएको छ। यद्यपि उनले प्रस्तावित कार्ययोजनाका बारेमा विस्तृत रूपमा बताउन चाहेनन्।

कोरोना भाइरसको विश्वव्यापी महाव्याधिका कारण यात्रा र पर्यटन क्षेत्रमा हाल आएको संकट अघि नै उक्त हवाई सेवा कम्पनीले आर्थिक समस्या झेल्दै आएको थियो। थाई एयरले सरकारबाट १ अर्ब ७० करोड अमेरिकी डलर ऋणका लागि प्रस्ताव गरेको छ।

प्रस्तावित योजना कार्यान्वयनमा आए थाई एयरवेजमा सरकारको लगानी ५० प्रतिशतभन्दा कम हुनेछ, र यसले  कम्पनीलाई निजीकरणतर्फ अग्रसर गर्नेछ। उद्धारका विकल्पहरुमध्ये खासगरी कर्मचारी, विमान संख्या र उडानहरु कटौती हुनेछन्।

थाई एयरवेजले सन् २०१९ मा ३७ करोड ४३ लाख, सन् २०१८ मा ३६ करोड १९ लाख तथा सन् २०१७ मा ६ करोड ५८ लाख अमेरिकी डलर नोक्सानी व्यहोरेको थियो। थाई एयरवेजमा ९ अर्ब ४० करोड डलर ऋणभार रहेको संचार माध्यमहरुले बताएका छन्।

अप्रिलको शुरुदेखि नै सबै उडान बन्द गरेको विमान सेवामा कार्यरत अधिकांश कर्मचारीलाई तलब घटाएर विदामा बस्न बाध्य पारिएको छ । सरकारले गत साता अन्तर्राष्ट्रिय उडानबाट थाइल्याण्ड आउन आगामी जुनको अन्त्यसम्म रोक्ने घोषणा गरिसकेको छ ।