BIZMANDU
www.bizmandu.com

साता दिनमै भिटिएम उत्पादन गर्नसक्ने वीरगंजको एक औषधी उद्योगको दाबी, सवारी पास मागे

२०७७ जेठ ६

Tata
GBIME
Nepal Life

वीरगंज। सरकारले यदि उद्योग सञ्चालन गर्ने सहज वातावरण बनायो भने एक साताभित्रै भाइरल ट्रान्सफर मिडिया (भिटिएम) नेपालमै पहिलो पटक उत्पादन थाल्ने वीरगंजको एक औषधी उद्योगले जनाएको  छ। 

कोरोना भाइरसका संक्रमित शंका गरिएकाको परीक्षणका लागि संकलन गरिने स्वाब राख्ने डिब्बा भिटिएम हो। भाइरस बाहिर फैलन नपाउने र प्रयोगशालासम्म पुर्‍याउन सुरक्षित मानेर संसारभर प्रयोगमा रहेका भिटिएम नेपालमा विदेशबाट ल्याइन्छ। वीरगंज–पथलैया औद्योगिक करिडोरको बारा, जितपुर सिमरा उपमहानगरपालिका- ५ छातापिपरामा नवनिर्मित एभरेष्ट प्यारेन्ट्रेल प्रालिले भिटिएम उत्पादन गर्नसक्ने दाबी गरेको हो।

लक्ष्मी स्टील र सर्वोत्तम सिमेन्टका लगानीकर्ता तथा व्यवसायी उमंग राणा सरियाले करिब एक अर्ब लगानीमा इन्जेक्सन उत्पादन गर्ने उद्योगको निर्माण दुई वर्ष पहिलेदेखि गरेका थिए। लकडाउन नभएको भए अहिले उद्योगले आफनो उत्पादन बजारमा ल्याइसक्ने तयारी गरेको थियो । लकडाउनमा स्थानीय प्रशासनको सहयोग नपाउँदा औषधी विभागबाट ८–१० प्रकारका खोप  उत्पादन गर्ने स्वीकृति पाइसक्दा पनि उत्पादन थालेको छैन।

उद्योगका प्रशासकीय अधिकृत मुकेश खेतानले भने,‘औषधि व्यवस्था विभागबाट १ लाख भिटिएम उत्पादन गर्ने लगभग स्वीकृति र निर्देशन आइसकेको छ। हाम्रा केमिस्टहरुले भिटिएमको सबै रिसर्च एण्ड डेभेलपमेन्ट (आरएण्डडी–भिटिएम बनाउने फर्मुला र तयारी) को काम पनि भइसकेको थियो, त्यसै बीचमा बारा-पर्सामा निषेधाज्ञा जारी हुदाँ कर्मचारीहरु सहज रूपमा उद्योगमा जान पाएका छैनन्, त्यस कारण उद्योगको काम रोकिएको छ।’

तत्कालका लागि सरकारले चारवटा गाडी र ६ वटा मोटरसाइकलका लागि सवारी पास दिए उद्योगले छिटै भिटिएम उत्पादनको काम थाल्ने उनले बताए। यसका लागि उनले बारा प्रशासनसँग सवारी पास माग गरेका छन्।

‘कोरोना संक्रमणको जाँचका लागि विदेशबाट सहयोगमा टेस्टिङ किट पर्याप्त मात्रामा उपलब्ध छ, तर भिटिएम अन्तर्राष्ट्रिय बजारमा सहजमा खरिद गर्न नसक्दा समस्या भइरहेको खबर हामीले सुनिरहेका छौं,’ उनले भने, ‘वातावरण बनाइदिए हामीसँग पूर्वाधार छ। तुरुन्त उत्पादन थाल्छौं, र सहुलियत दरमा उपलब्ध गराउँछौं।'

उत्पादनपछि औषधि व्यवस्था विभागबाट नमुना स्वीकृत भए सामाजिक सेवा अनुरुप प्रति पिस १ सय ५० रुपैयाँमै नेपाल सरकारलाई बिक्री गर्ने निर्णय गरिएको उनले बताए। उद्योगमा ६० जना मजदुर छन्। जसमध्ये २५ जनालाई घरमै बस्न भनिएको छ भने ३५ जनालाई खटाएर उद्योगले उत्पादनको काम थाल्ने तयारी छ।

हाल २० जना मजदुरलाई उद्योग परिसरमा राखेर उद्योग चलाउन व्यवस्था गरिएको छ भने बाँकी प्रशासन र विज्ञ टोलीका १५ जनालाई उद्योग र वीरगंज ओहोरदोहार तथा बजारबाट खाद्यान्न, अति आवश्यक र कच्चा पदार्थको लागि बाहिर दौडधुप गर्न प्रशासनसँग सवारी पासको लागि हारगुहार गरिरहेको उद्योगका प्रशासकीय अधिकृत खेतानले बताए ।