BIZMANDU
www.bizmandu.com

जियोमा लगानी थप्दै मुकेश अम्बानी, चौथो ठूलो लगानीकर्ता बन्यो अमेरिकी कम्पनी जनरल एटलान्टिक

२०७७ जेठ ५


अमेरिकाको प्राइभेट इक्विटी फर्म जनरल एटलान्टिकले मुकेश अम्बानीको रिलायन्स जियोको १.३४ प्रतिशत सेयर किन्ने भएको छ।
यसका लागि जनरल एटलान्टिकले करिब ६,५९८.३८ करोड भारतीय रुपैयाँ लगानी गर्ने बताइएको छ।

Tata
GBIME
Nepal Life

रिलायन्स इन्डस्ट्रिज लिमिटेडमा हुन लागेको यो चौथो ठूलो निजी लगानी हो। यस लगानीलाई अझै पनि नियामक निकायले स्वीकृति दिन भने बाँकी नै छ। पछिल्लो समयमा जियोमा विदेशी लगानीलाई मुकेशले तीव्रता दिएका छन्। 

यसअघि फेसबुक, सिल्भर लेक र भिस्टा इक्विटीले जियोमा ठूलो लगानी गरिसकेका छन्। अझै पनि थप कम्पनीहरुले जियो प्लेटफर्ममा लगानी गर्न सक्ने अनुमान गरिएको छ।

'जनरल एटलान्टिकले ४.९१ लाख करोड इक्विटी भ्यालु तथा ५.१६ लाख करोड इन्टरप्राइज भ्यालुका रूपमा लगानी गरेको छ। यो लगानीले जनरल एटलान्टिकलाई १.३४ प्रतिशत सेयर दिनेगरी सम्झौता भएको हो,' रिलायन्स इन्डस्ट्रिज लिमिटेडले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले जनरल एटलान्टिकले भारतीय डिजिटल समाजसँग आफ्नो भिजन साझेदारी गर्न लागेको भन्दै खुशी ब्यक्त गरेका छन्। यसबाट जनरल एटलान्टिकको ४० वर्षको रणनीतिक ज्ञान र विज्ञता जियोका लागि थप क्षमता वृद्धिको माध्यम भएको उनले विज्ञप्तिमार्फत बताएका छन्।  

'दीर्घकालमा ग्लोबल टेक्नोलोजीको नेतृत्व गर्ने सक्ने भिजन भएको कम्पनी भएका कारण हामी जियोमा लगानी गर्दा धेरै नै उत्साहित छौं।'- जनरल एटलान्टिकका सिइओ बिल फोर्डले विज्ञप्तिमार्फत भनेका छन्। 'हामी मुकेश अम्बानीले भारतीय अर्थतन्त्रलाई तीव्र गतिमा बिस्तार गर्न अघि सारेको डिजिटल कनेक्टिभिटीको यो क्षमतालाई अभिबृद्धि गर्न साथ दिनेछौं,'- विज्ञप्तिमा उनले भनेका छन्।

पछिल्लो सम्झौतासहित हालसम्मका चार लगानीबाट जियो प्लेटफर्ममा कुल ६७,१९४.७५ करोड भारतीय रुपैयाँ प्राप्त हुनेछ। ३८ करोडभन्दा बढी सब्सक्राइबर रहेका जियो भारतकै सबैभन्दा ठूलो दूरसंचार सेवा प्रदायक कम्पनी हो।

उसका जियो सिनेमा जियो सावन र हाप्तिक जस्ता डिजिटल प्लेटफर्महरु पनि छन्।