BIZMANDU
www.bizmandu.com

सरकारी औषधि कम्पनीले घटायो सेनिटाइजरको मूल्य, फेस मास्क पनि उत्पादन गर्ने तयारी

२०७७ जेठ ५

सरकारी औषधि कम्पनीले घटायो सेनिटाइजरको मूल्य, फेस मास्क पनि उत्पादन गर्ने तयारी
सरकारी औषधि कम्पनीले घटायो सेनिटाइजरको मूल्य, फेस मास्क पनि उत्पादन गर्ने तयारी

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल औषधि लिमिटेडले स्यानिटाइजरको मूल्य समायोजन गरेको छ। सरकारी कम्पनीबाट उत्पादित सेनिटाइजर निजी क्षेत्रको भन्दा महंगो भएपछि कम्पनीले मूल्य समायोजन गरेको हो। 

१०० एमएल सेनिटाइजर प्रति बोतल १७५ रुपैयाँमा बिक्री गर्दै आएको थियो। ५० रुपैंयाँ घटाएर १२५ रुपैयाँमा बिक्री सुरु गरेको हो। घटाइएको मूल्यमा आइतबारदेखि कारोबार सुरु गरेको कम्पनीका निमित्त महाप्रबन्धक विजयश्री रत्न बज्राचार्यले बताए। 

यस्तै किन्नका लागि कम्पनीमै पुग्नेलाई २०७ रुपैयाँमा २०० एमएलको बोतल बिक्री गरिरहेको छ। अहिले बेलुका ८ बजेसम्म सेनिटाइजर उत्पादन गर्ने गरेको कम्पनीले जनाएको छ।

डेढ महिनादेखि सेनिटाइजर उत्पादन गरिरहेको कम्पनीले हालसम्म २ लाख ५० हजारभन्दा बढी सेनिटाइजर बिक्री गरिरसकेको छ। कम्पनीबाट उत्पादित सेनिटाइजर सरकारी निकाय, बैंक तथा वित्तीय संस्थाले खरिद गरिरहेका छन्। तर स्वास्थ्य सेवा विभागले भने कम्पनीको सेनिटाइजर खरिद नगरेको कम्पनीका एक कर्मचारीले बताए। स्वास्थ्य विभागले चिनियाँ र निजी क्षेत्रबाट सेनिटाइजर खरिद गरिरहेको छ। 

सरकारी कम्पनीको उत्पादन खरिद गर्दा कम कमिसन आउने भएकाले स्वास्थ्य विभागले निजी क्षेत्रका कम्पनीको सेनिटाइजर खरिद गर्ने गरेको ती कर्मचारीले आरोप लगाए। पछिल्लोपटक कम्पनीले फेस मास्क पनि उत्पादन गर्ने भएको छ। ७० लाखमा मास्क उत्पादन गर्ने मेसिन खरिद गरिसकेको छ। मास्क बनाउने मेसिन राख्ने स्थान कम्पनी परिसरमै व्यवस्थापन गर्ने तयारी भइरहेको छ।