BIZMANDU
www.bizmandu.com

एसियन पेन्ट्सले बढायो कर्मचारीको तलब, कोरोनाले उद्योगमा असर पारे पनि रोजगारी कटौती नगर्ने

२०७७ जेठ ४

एसियन पेन्ट्सले बढायो कर्मचारीको तलब, कोरोनाले उद्योगमा असर पारे पनि रोजगारी कटौती नगर्ने
एसियन पेन्ट्सले बढायो कर्मचारीको तलब, कोरोनाले उद्योगमा असर पारे पनि रोजगारी कटौती नगर्ने

Tata
GBIME
Nepal Life

मुम्बई। कोभिड–१९ को भुमरीमा परेर विश्वभरका उद्योग–कारखाना ठप्प भएको बेला एसियन पेन्ट्सले भने कर्मचारीको तलब बढाएको छ। उत्पादन तथा कारोबार बन्द हुँदा संसारका कतिपय ठूला कम्पनीहरुले खाइपाई आएको तलब–सुविधा र भएका कर्मचारी पनि कट्टा गर्न थालेका छन्। यस्तो परिस्थितिमा पनि एसियन पेन्ट्सले भने तलब वृद्धिको घोषणा गरेको हो।

यो वर्ष कुनै पनि रोजगारी कटौती नहुने भन्दै ढुक्क रहन पनि एसियन पेन्ट्सले कामदारहरुलाई भनेको छ। भारतको सबैभन्दा ठूलो रंग उत्पादक एसियन पेन्ट्सले अन्य कम्पनीहरुको लयभन्दा विपरित गएर यो विषम घडीमा कर्मचारीको मनोबल उकास्नका लागि यस्तो निर्णय गरेको बताएको छ। 

यद्यपि, तत्कालै तलब वृद्धि गर्ने वा वार्षिक बढाउँदै आएको दरमा वृद्धि गर्ने भन्ने चाहिँ यसले सार्वजनिक गरेको छैन। कम्पनीले बिक्री सञ्जालहरुका लागि पनि औषधोपचार र बीमाका लागि सहयोग गर्ने, साझेदार स्टोरहरुका लागि सम्पूर्ण सरसफाई सुविधा प्रदान गर्ने र नगद सहायता पनि उपलब्ध गराउने बताएको छ। साथै, आफ्ना कन्ट्रयाक्टरहरुको खातामा ४० करोड भारु हालिदिएको पनि कम्पनीले उल्लेख गरेको छ।

यो घोषणासँगै एसियन पेन्ट्सको सेयर मूल्य शुक्रबार बजार बन्द हुँदा २.०४ प्रतिशतले बढेर प्रतिकित्ता १५५४ भारु पुग्यो। बम्बे स्टक एक्सचेन्ज (बीएससी) मा यसको ९.८ करोड भारु बराबरको ६४ हजार कित्ता सेयर किनबेच हुँदा बजार पुँजीकरण १.४८ लाख करोड (१४ खर्ब ८० अर्ब) भारु पुगेको छ।

कम्पनीका प्रबन्ध निर्देशक तथा सीईओ अमित स्याङ्लेलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले लेखेको छ- 'हामीले सच्चा नेतृत्व र सबै सरोकारवालाहरुलाई ध्यान दिने संगठनको उदाहरण बनेर देखाउनुपर्छ। मैले संचालक समितिलाई यस्ता पहलबारे नियमित अद्यावधिक गराइरहेको छु र यस्ता कदमका लागि उनीहरुको अनुमति पनि पाएको छु। यसलाई मैले अगाडि जाने ठूलो अवसरका रूपमा लिएर हरेक कर्मचारीसँग अन्तरक्रिया गर्दै अनिश्चित बजारका बाबजुद उनीहरुलाई आश्वस्त पारेको छु।' 

एसियन पेन्ट्स परिपक्व ब्रान्ड भएकाले 'हायर एन्ड फायर’को योजनामा नरहेर कर्मचारीहरुलाई हामी सबैजना यो संकटको समयमा एकसाथ छौं भनेर विश्वस्त पारेको उनले बताएका छन्।

कम्पनीले केन्द्रीय र प्रान्तीय कोभिड–१९ राहत कोषमा सरकारलाई ३५ करोड भारु सहायता दिएको छ। कोरोनाविरुद्ध लड्नका लागि कम्पनीले स्यानिटाइजरहरु पनि उत्पादन गरेर सहयोग गरिरहेको बताएको छ। केमिकल मन्त्रालयको सुझावमा थालेको विभिन्न स्तरको स्यानिटाइजर उत्पादनले एसियन पेन्ट्सको आम्दानी उल्लेख्य परिमाणमा बढाएको कम्पनीको भनाइ छ। यद्यपि, पेन्ट्सको बिक्री भने कोभिड–१९ का कारण नराम्ररी प्रभावित भएको बताइएको छ।

एसियन पेन्ट्सले यतिबेला सम्भव भएसम्म नगद प्रवाह र खर्च पर सार्नेमा ध्यान दिइरहेको छ। 'कम्पनी वर्षौंदेखि ऋणमुक्त रहेकाले अझै चार–पाँच महिनासम्म यस्तै अनिश्चय कायम रहे पनि आरामदायी अवस्थामा हुनेछौं,' स्याङ्लेले भने, 'यसैले कम्पनीले सेयरधनीको प्रतिफललाई उच्च प्राथमिकतामा राख्दै मार्चमा ठूलो परिमाणमा लाभांश दिने घोषणा गरेको थियो।'

एसियन पेन्ट्सको तीन वर्षयताको इक्विटीमा प्रतिफल (आरओई) २५.४९ प्रतिशत छ। यस्तै, 'डिभिडेन्ड पे आउट रेसियो' ४६ प्रतिशत कायम राख्न सफल भइरहेको छ। पछिल्लो पाँच वर्षयता यसको चक्रीय वार्षिक वृद्धिदर बिक्रीको ९.६२ प्रतिशत र नाफामा १२ प्रतिशत छ।