BIZMANDU
www.bizmandu.com

सबै ब्राण्डका सिमेन्टको मूल्य बढ्यो, हार्डवेयरको स्किम हट्दा उपभोक्तालाई भार

२०७७ जेठ ३

सबै ब्राण्डका सिमेन्टको मूल्य बढ्यो, हार्डवेयरको स्किम हट्दा उपभोक्तालाई भार
सबै ब्राण्डका सिमेन्टको मूल्य बढ्यो, हार्डवेयरको स्किम हट्दा उपभोक्तालाई भार

Tata
GBIME
Nepal Life

काठमाडौं। लकडाउन खुकुलो भएपछि उत्पादन सुरु भएको सिमेन्टको मूल्य बोरामै ५० रुपैयाँसम्म बढेको छ। लकडाउनपछि सबैजसो ब्राण्डका सिमेन्टको मूल्य बढेको हो।

ललितपुर टिकाथलीमा रहेको खाडादेवी हार्डवेयरका संचालक मनोज कार्कीका अनुसार सबै ब्राण्डका सिमेन्टको मूल्य बोरामा ५० रुपैयाँसम्म बढेको छ। ‘हामीलाई उद्योगले बढाएर सिमेन्ट बिक्री गरिरहेका छन्। तर उपभोक्ताले लकडाउनमा उद्योग खुल्नेबित्तिकै किन मूल्य बढ्यो भनेर सोध्ने गरेका छन्,’ उनले बिजमाण्डूसँग भने ‘अहिलेको कठिन परिस्थितिमा हामीले मूल्य बढाएर बिक्री गरेको जस्तो भएको छ। तर उद्योगहरुले नै बढाएर हामीलाई बेचिरहेका छन्।’

लकडाउन अघि ६ सय ८५ रुपैयाँमा बिक्री भइरहेको सिजी पिपिसी सिमेन्टको मूल्य अहिले ७ सय २० रुपैयाँ पुगेको छ। लकडाउन अघि ६ सय ९० रुपैयाँमा बिक्री भइरहेको शिवम् सिमेन्ट ७ सय ४० रुपैयाँमा पुगेको छ।

अर्घाखाँचीको पिपिसी सिमेन्ट पनि ६ सय ९० रुपैयाँबाट बढेर ७ सय ४० रुपैयाँ पुगेको छ। सिमेन्टका लागि आवश्यक  कच्चा पदार्थ स्वदेशमै पाइने भएकाले मूल्य बढ्नुपर्ने कुनै कारण छैन। तर किन मूल्य बढिरहेको छ ? नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा उद्योगले सिमेन्टको मूल्य नबढाएको बताउँछन्। ‘हामीले अहिलेको कठिन परिस्थितिमा सिमेन्टको मूल्य नबढाउने सहमति गरेका छौं। हामीले होइन रिटेलरले बढाएको हुनसक्छ,’ उनले भने, ‘अहिले मूल्य बढ्नुपर्ने कारण पनि छैन।’

तर एक सिमेन्ट उद्योगीका अनुसार हार्डवेयरलाई निश्चित स्किम दिइएको हुन्छ। दुई महिनामा टार्गेट अनुसार सिमेन्ट बिक्री गर्नेलाई नगद छुट र बोनस दिइएको हुन्छ। लकडाउनका कारण त्यो स्किम पूरा गर्न नसकेपछि हार्डवेयरको छुट पाएनन्। त्यो छुट नपाउनेवित्तिकै हार्डवेयरले बोरामा ३० देखि ४० रुपैयाँसम्म मूल्य बढाएको ती उद्योगीले बताए।

ती उद्योगीका अनुसार लकडाउनका कारण ढुवानी भाडासमेत महँगो भएको छ। ‘कोरोनाका कारण ढुवानीको साधन नै पाउन मुश्किल छ। पाए पनि भाडा महँगो छ। ढुवानीका कारण बोरामा सिमेन्टको भाउ थप महँगो पर्न गएको हो,’ उनले भने, ‘उद्योगीले फ्याक्ट्री मूल्य भने बढाएका छैनन्।’ ती उद्योगीका अनुसार अहिले पनि ठूला आयोजनाले पुरानै मूल्यमा सिमेन्ट पाइरहेका छन्।