
जेनेभा। अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पको कटु आलोचनाको केन्द्रमा पर्दै आएका विश्व व्यापार संगठन (डब्लुटिओ)का महानिर्देशक रोबर्टो अजिभिडोले पदबाट राजिनामा गरेका छन्। आफ्नो कार्यकाल एक वर्ष बाँकी छँदै उनले बिहीबार पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।
अमेरिका–चीनबीच व्यापार तनाव जारी नै रहेको तथा कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा व्यापक असर पारेकै अवस्थामा डब्लुटिओका प्रमुखले 'व्यक्तिगत' कारण देखाउँदै राजीनामा गरेका हुन्।
सात वर्षदेखि डब्लुटिओको प्रमुखको रुपमा कार्यरत उनले आफ्नो पदबाट आगामी अगष्ट ३१ मा लागू हुने गरी राजीनामा गरेका हुन्। स्वीट्जरल्याण्डको जेनेभामा मुख्यालय रहेको डब्लुटिओ र यसको नेतृत्वको कार्यशैलीप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तिखो आलोचना गर्दै आएका थिए। चीनसँगको व्यापार युद्धका क्रममा डब्लुटिओले चीनको पक्षमा बढी काम गरेको र अमेरिकी सरोकारका विषयमा विल्कुलै चासो नदिएको उनले आरोप लगाएका छन्।
डब्लुटिओको मुख्यालयमा संगठनका प्रतिनिधिहरुसँगको विशेष बैठकमा महानिर्देशक अजिभिडोले पदत्याग गर्नुलाई आफूले सामान्य रुपमा नलिएको बताउँदै आफ्नो राजीनामा पारिवारिक र व्यक्तिगत निर्णय रहेको स्पष्ट पारे। आफ्नो राजीनामाले संगठनको सर्वोत्तम हितलाई पक्षपोषण गर्ने पनि उनले विश्वास व्यक्त गरे।
डब्लुटिओ स्थापना भएको २५ वर्ष पुगेको छ, तर कुनै पनि महानिर्देशकले बीचमै पदत्याग गरेका थिएनन्। संगठनको नियम बमोजिम अब नयाँ महानिर्देशकको नियुक्तिको प्रक्रिया शुरु हुनेछ।
ब्राजिली अर्थशास्त्री अजिभिडोको नेतृत्वको डब्लुटिओ विरुद्ध ट्रम्प प्रशासनले निरन्तर आलोचना गरेको थियो। डब्लुटिओले चिनियाँ कैयौं व्यापार व्यवसायमा चीन सरकारले स्वीकृत नियम विपरीत दिइरहेको सरकारी अनुदानलाई आँखा चिम्लेको तथा बौद्धिक सम्पत्तिको सुरक्षाका मामिलामा डब्लुटिओले ढुलमुले नीति लिएको आरोप अमेरिकाको छ।
पेन्सिलभेनिया प्रस्थान गर्नुअघि ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अजिभिडोको राजीनामालाई 'उपयुक्त निर्णय हो' भनेका छन्। 'विश्व व्यापार संगठनले हामीलाई निकै नराम्रो व्यवहार गरेको थियो । मैले यो कुरा लामो समयदेखि भन्दै आएको छु । उनीहरुले चीनलाई विकासशील मुलुक ठान्छन्, त्यसकारण चीनले त्यसको आडमा धेरै लाभ लिइरहेको छ तर अमेरिकाले केही पाएको छैन,' उनले भने।
सन् २००१ मा चीनले डब्लुटिओको सदस्यता प्राप्त गरेको थियो।
अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजरले अजिभिडोको उदाहरणीय सेवाप्रति धन्यवाद दिए। 'डब्लुटिओका धेरै कमीकमजोरीका बाबजूद रोबर्टोले संस्थालाई महत्वपूर्ण नेतृत्व प्रदान गर्न सक्षम थिए,' उनले भने।
अजिभिडोको कार्यकालमा डब्लुटिओप्रति रुष्ट भएको संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय व्यापार विवादको सुनुवाई गर्ने पुनरावेदन अदालतको आकार घटाएको थियो। चिनियाँ पुँजीवादी–सामाजिक आर्थिक प्रणालीद्वारा सिर्जित नयाँ चुनौतीहरु सामना गर्न डब्लुटिओ असफल रहेको भन्दै अमेरिकाले डब्लुटिओमा नयाँ न्यायाधीशहरुको नियुक्ती रोकेको थियो।
'नियम–आधारित अन्तर्राष्ट्रिय व्यापार प्रणाली' को कार्यान्वयनका लागि अत्यावश्यक मानिएका न्यायाधीशको नियुक्तीमा भएका ढिलाइले ठूलो समस्या निम्त्याएको थियो। महानिर्देशक अजिभिडोले न्यायाधीशको नियुक्त संगठनको नियमित कार्य संचालनका लागि अपरिहार्य रहेको बताउँदै आएका थिए।