BIZMANDU
www.bizmandu.com

माइक्रा एक्टिभ र सन्नीलाई निसानले हटायो सूचीबाट, अबको उत्पादन सुपर कार र एसयुभी सेग्मेन्टमात्र

२०७७ जेठ २

माइक्रा एक्टिभ र सन्नीलाई निसानले हटायो सूचीबाट, अबको उत्पादन सुपर कार र एसयुभी सेग्मेन्टमात्र
माइक्रा एक्टिभ र सन्नीलाई निसानले हटायो सूचीबाट, अबको उत्पादन सुपर कार र एसयुभी सेग्मेन्टमात्र

Tata
GBIME
Nepal Life

भारतमा पनि प्लान्ट बिस्तार गरेर दक्षिण एशियाको बजारमा आफ्ना उत्पादनको बिक्री बढाएको जापानी मोटर कम्पनी निसानले  आफ्ना दुई मोडलको उत्पादन रोक्ने भएको छ। भारतीय बजारका लागि माइक्रा एक्टिभ र सन्नीलाई आफ्नो उत्पादन निरन्तर रहने सूचीबाट हटाएको छ।

भारत सरकारको वातावरणीय मापदण्ड बीएस-६ मा प्रवेश गर्ने भएपछि दुईवटा मोडलको उत्पादन अब नगर्ने संकेत गरेको हो। यसअघि निसानले टेरानो मोडलको गाडी उत्पादन स्थगन गरेको थियो। कम्पनीले माइक्रा एक्टिभ र सनी मोडलको सट्टा आगामी दिनदेखि कम्प्याट एसयुभी सेग्ममेन्टअन्तर्गत निसान किक्स र जिटी-आर सुपर कारमात्र बिक्रीलाई निरन्तरता दिने भएको सञ्चार माध्यमहरूले जनाएका छन्।

यद्यपि हाल बजारमा रहेका माइक्रा एक्टिभ र सन्नीको बिक्री रोक्ने वा निरन्तरता दिने विषयमा कम्पनीले प्रष्ट पारिसकेको छैन।

निसानले इन्ट्री लेवलको माइक्रा र स्तरीय कारका सूचीको सन्नीको उत्पादन र बिक्री एक दशकअघि सुरु गरेको थियो। दुई वर्षअघि सन् २०१८ मा  माइक्राको नयाँ संस्करण सार्वजनिक गरेको थियो। यो गाडीको डिजल भेरियन्टमा ६५ पिएस (हर्स पावर क्षमता) र १०४ एनएम (न्युटन मिटर) को टर्क क्षमता समावेश गरिएको थियो। कम्पनीका अनुसार १.२ लिटर पेट्रोल भेरियन्टको गाडीमा ७६ पिएस पावर र १०४ एनएमको टर्क क्षमता समावेश गरिएको थियो।    

कम्पनीको सनी मोडलअन्तर्गत १.५ लिटर पेट्रोल इन्जिन भेरियन्टमा ९९ पिएस पावर र १३४ एनएम टर्क क्षमता समावेश गरिएको थियो। यो गाडीको डिजल भेरियन्टमा ८६ पिएस पावर र दुई सय एनएमको टर्क क्षमता समावेश गरिएको थियो। दुवै भेरियन्टको गाडीमा पाँचवटा स्पिड म्यानुअल स्ट्याण्डर्ड समावेश गरिएको थियो भने पेट्रोल भेरियन्टमा सिभीटी (कन्टिन्युएस्ली भेरिएवल ट्रान्समिसन) समावेश गरिएको थियो।

युरोप र दक्षिण अमेरिकामा यी दुवै गाडीको नयाँ संस्करणको बिक्री वितरण सुरु भइसकेको छ। तर नयाँ संस्करणका माइक्रा र सन्नीको बिक्री गर्ने/नगर्ने बारे भने कम्पनीले आधिकारिक धारणा सार्वजनिक गर्न बाँकी नै छ।  कोरोना महाव्याधिले निरन्तरको लकडाउन जारी रहँदा भारतको अटोमोबाइल उत्पादन र बजार पनि प्रभावित छ। लकडाउन फिर्ता भएर बजार सहज हुने दिन पर्खिरहेका अटोमोबाइल उद्योगहरू यतिबेला आफूहरूले बिभिन्न समय बजारमा ल्याएका मोडलको समीक्षा गरिरहेका छन्। 

भारतीय बजारमा निसानले छिट्टै एसयुभी सेगमेन्टको सब-फोर मिटर मोडलको गाडी सार्वजनिक गर्ने योजना बनाएको जनाइएको छ। 
भारतमा सवारी साधन बिक्रीको बढ्दो बजारलाई लक्ष्य गर्दै निसानले चेन्नइमा सन् २००५ मै आफ्नो प्लान्ट स्थापना गरेको थियो। चेन्नइ प्लान्टबाट उत्पादित मोडलहरू भारत र नेपालका बजारमा आएका छन्। माइक्रा सन् २०१०, सन्नी २०११, टेरानो २०१३, ड्याट्सन गो र गो प्लस २०१४, ड्याट्सन रेडी-गो २०१६ र किक्स २०१९ मा बजारमा आएको हो।