.jpg)
काठमाडौं। लकडाउनपछि केएल दुगड ग्रुपको युनाइटेड सिमेन्टले खानी (क्लिकंर) संचालनमा ल्याएको छ। सरकारले ४४ वटा उद्योग संचालनमा ल्याउन अनुमति दिएपछि सोमबारदेखि क्लिकंर उत्पादन सुरु गरेको हो।
नौविसेमा रहेको उद्योगले युनाइटेड ब्राण्डमा ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ। उद्योगका संचालक कुमुद दुगडले क्लिकंर खानी संचालनमा आइसकेको र केही दिनमै उद्योगबाट सिमेन्ट उत्पादन सुरु हुने जानकारी दिए।
‘हामीले अहिले उत्पादित सिमेन्ट डिस्प्याच गरिरहेका छौं। केही दिनमै उद्योग पनि संचालनमा आउँछ,’ उनले बिजमाण्डूसँग भने, ‘ललितपुर लेलेमा रहेको खानीबाट क्लिकंर आउन थालिसकेको छ।’ उनका अनुसार अहिले विभिन्न जलविद्युत लगायतका ठूला परियोजनामा सिमेन्ट गइरहेको छ। ‘हाम्रो उत्पादन काठमाडौं केन्द्रित हो। यहाँ नजिकका केही ठूला परियोजनामा सिमेन्ट गइरहेको छ’ दुगडले भने, ‘अहिले विस्तारै काठमाडौं उपत्यकामा समेत निर्माण सुरु भएकोले डिमान्ड बढ्न थालेको छ।’
उनले सरकारले निर्देशन गरेको सुरक्षा मापदण्ड अपनाएर उद्योग संचालन गर्न खोजिएको बताए। ‘हामीले स्वास्थ्य सचेतता अपनाएर उद्योग संचालन गर्न खोजिरहेको छौं,’ दुगडले भने, ‘स्थानीय तहसँग पनि समन्वय गरेर उद्योग चलाउनेछौं।’ उनका अनुसार अहिले सामान्य समय भन्दा ४० प्रतिशत कम सिमेन्टको माग छ।