BIZMANDU
www.bizmandu.com

सप्तरीमा पर्ने कमला सडकको ठेक्का चिनियाँ कम्पनीलाई, साढे १५ अर्ब लागतको आशयपत्र माग

२०७७ बैशाख २८

सप्तरीमा पर्ने कमला सडकको ठेक्का चिनियाँ कम्पनीलाई, साढे १५ अर्ब लागतको आशयपत्र माग
सप्तरीमा पर्ने कमला सडकको ठेक्का चिनियाँ कम्पनीलाई, साढे १५ अर्ब लागतको आशयपत्र माग

Tata
GBIME
Nepal Life

काठमाडौं । पूर्वपश्चिम राजमार्ग खण्डमा सप्तरीको कञ्चनपुरदेखि सिरहालाई धनुषाको सीमासँग जोड्ने  कमला- कञ्चनपुर सडक खण्ड निर्माणका लागि चिनियाँ कम्पनी छनोट भएको छ।

आयोजना कार्यान्वयन निर्देशनालय (एडीबी)ले निकालेको कमला-कञ्चनपुर सडकका दुई ठेक्कामा चाइना रेलवे नम्बर २ इन्जिनियरिङ कर्पोरेशन लिमिटेड छेन्दु छनोट भएको हो। करिब ८६ किलोमिटर दुरीको यो सडक कञ्चनपुरदेखि कुशाहा (४० किमी) र कुशाहादेखि कमला (४६ किमी) दुइवटा खण्ड छन्। दुवै खण्डका लागि १४/१४ वटा कम्पनीले आवेदन दिएका थिए। 

चाइना रेलवेले पहिलो खण्ड ७ अर्ब २७ करोड ७६ हजार २ सय ३४ रुपैयाँ ६८ पैसा र दोस्रो खण्ड ८ अर्ब ३८ करोड ९९ लाख ६८ हजार ७ सय ४८ रुपैयाँ ३६ पैसा ठेक्का हालेको थियो। आयोजनाले करिब १९ अर्ब रुपैयाँ लागत अनुमान गरेको थियो। उक्त सडक एसियाली विकास बैक (एडीबी) को सहुलियत ऋण सहयोगमा निर्माण गर्न लागिएको हो।

२०७६ भदौमा नै ठेक्का निकालिएको थियो। तर नेपाली निर्माण कम्पनीलाई विस्तार प्रक्रियाबाट बाहिर राख्न खोजिएको भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको थियो। अदालतले मूल्यांकन  प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश जारी गरेको थियो। गत माघ २४ गते अदालतले रिट  खारेज गरेपछि पुनः मूल्यांकन प्रक्रिया अघि बढेको थियो।

त्यसपछि पनि मूल्यांकनका क्रममा विभिन्न समस्या आएकाले ढिलाइ भएको आयोजना कार्यान्वयन निर्देशनालयका उपप्रमुख सुरेश पौडेलले बताए। 'अब मूल्यांकन सकेर चाइना रेलवेसँग आशयपत्र माग गरेका छौं,' उनले भने। आयोजनाले सूचना निकालेर चिनियाँ कम्पनीलाइ ठेक्का दिन लागिएको र कुनै उजुरी भए एक साताभित्रै  कार्यालयमा दिन आग्रह गरेको छ।

कुनै उजुरी नपरे चिनियाँ कम्पनीसँग सम्झौता अघि बढाइने छ। असारभित्रै सम्झौता गरेर निर्माण कम्पनीलाई काम लगाउने योजना छ। ठेक्का पाएको कम्पनीले निर्माण थालेको ३ वर्षमा सडक तयार पार्नुपर्नेछ।

कस्तो हुन्छ सडक ?

निर्देशनालयका अनुसार हालको विद्यमान दुई लेनको सडकलाई चार लेनको बनाउन लागिएको हो। जसमा प्रत्येक लेन३.५/३.५ मिटर हुनेछ। दुई/दुई लेनका बीचमा मेडियन हुनेछ। मुख्य सडकको साइटमा दुवैतिर चार/चार मिटर हरियालीका लागि छुट्याइनेछ भने ३ मिटर दुवैतर्फ फुटपाथ रहनेछ।

निर्देशनालयका अनुसार घना बस्ती र बजार एरियामा दायाँबायाँ साढे ६/६ मिटरको सर्भिस लेन हुनेछ। जहाँ बिग्रिएका सवारी साधन साइड लाउन र लोकल ट्राफिकका लागि प्रयोग हुनेछ। बस्ती एरियामा करिब ५० मिटरको सडक हुनेछ।

५५ वटा पुल निर्माण हुनेछन्। हालको विद्यमान दुइ लेनको पुलको तल/माथि एउटा नयाँ पुल निर्माण गरेर सडक समानान्तर चार लेनको पुल बनाउन लागिएको हो। लहान बजार र मिर्चैयामा फ्लाइओभर निर्माण हुनेछ भने ८ वटा अण्डरपास निर्माण गरिने छ।

निर्माण कम्पनी नौ वर्ष साइटमा बस्नुपर्ने

यो सडक 'पर्फरमेन्स बेस मेन्टेनेन्स' का आधारमा निर्माण गर्न लागिएको हो। यसरी कुनै परियोजना निर्माण पूरा गरेर हस्तान्तरण गरेपछि पनि पाँच वर्ष निर्माण कम्पनी आफैंले मर्मत सम्भार गर्नुपर्छ।

कमला-कञ्चनपुर सडक निर्माण तीन वर्षमा सक्ने लक्ष्य छ। निर्माण पूरा भएको एक वर्षसम्म कुनै त्रुटि भए सच्याउन सकिने छ। त्यसपछिको पाँच वर्ष निर्माण कम्पनीले मर्मतको काम गर्नुपर्छ।

निर्माण पूरा भएको एक वर्ष केही समस्या आए निर्माण कम्पनी आफैंले व्यहोर्नुपर्छ भने बाँकी पाँच वर्षमा सामान्य मर्मतका लागि आयोजनाले बजेट दिन्छ। उक्त अवधिभर निर्माण कम्पनीले साइटमा कार्यालय राखेर बस्नुपर्ने हुन्छ।

यसरी सडक निर्माण गर्दा गुणस्तरीय हुने आयोजनाका अधिकारीहरुको भनाई छ। एडीबीकै सहयोग निर्माणाधीन नारायणगढ-बुटवल सडकमा पनि ठेक्का दिँदा यही प्रावधान राखिएको छ।