BIZMANDU
www.bizmandu.com

सरकारी कम्पनीलाई गहुँ बेच्न उत्साहित देखिएनन् किसान, समर्थन मूल्यभन्दा बढी दिँदै व्यापारी

२०७७ बैशाख २५

सरकारी कम्पनीलाई गहुँ बेच्न उत्साहित देखिएनन् किसान, समर्थन मूल्यभन्दा बढी दिँदै व्यापारी
सरकारी कम्पनीलाई गहुँ बेच्न उत्साहित देखिएनन् किसान, समर्थन मूल्यभन्दा बढी दिँदै व्यापारी

Tata
GBIME
Nepal Life

लम्की। सरकारको समर्थन मूल्यभन्दा केही बढी स्थानीय व्यापारीले दिन थालेपछि किसानहरू सरकारी कम्पनीलाई गहुँ बेच्न उत्साहित देखिएका छैनन्। समर्थन मूल्य तोकेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीको धनगढी कार्यालयले टीकापुरका दुई स्थानबाट किसानको खरिद सुरु गरे पनि अपेक्षित परिमाणमा किन्न पाएको छैन। 

सत्तीमा गत सोमबार र खाद्य गोदाममा बुधबारदेखि काँटा लगाई कम्पनीले खरिद सुरु गरेको हो।  सत्तीमा तीन दिनमा एक हजार २०० क्विन्टल मात्र खरिद भएको टीकापुर खरिद केन्द्रका प्रमुख चेतमान कठायतले बताए। सरकारले तोकेको समर्थन मूल्य तीन हजार १५ रूपैयाँसहित पल्लेदारी ज्याला लगाउने गरी कम्पनीले खरिद गरिरहेको छ। बजारका व्यापारीले उक्त मूल्यभन्दा केही महंगोमा खरिद गरिरहेकाले केन्द्रसम्म किसानको गहुँ आउन नसकेको उनको भनाइ छ।     
     
कम्पनीले चालु वर्ष १० हजार क्विन्टल गहुँ खरिदको लक्ष्यसहित कैलालीका तीन ठाउँबाट किन्न सुरु गरेको छ। धनगढीको मोहनपुर, टीकापुरको खाद्य गोदाम र सत्तीबाट खरिद गरिरहेको हो। टीकापुरबाट आठ हजार क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य लिएको भए पनि यो वर्ष बिक्री केन्द्रसम्म न्यून परिमाणमा किसानको गहुँ आइपुगेको खरिद प्रमुख कठायतले बताए। कैलालीमा ३४ हजार ५०० हेक्टरमा गहुँ खेती हुने गरेको छ।     
     
'धेरै खाद्यान्न यसपटक गाउँ गाउँमै नागरिकले बढी भण्डारण गरेको देखिन्छ,' किसान धनवीर चौधरीले भने, 'यसले पनि बिक्रीमा कमी आएको छ। किसानले वर्षे खेतीका लागि आवश्यक खर्च जोहो गर्न हिउँदे खेती बिक्री गर्नुपर्ने हुन्छ। अहिलेसम्म किसानले बिक्री गरिसकेका छन्।’ कम्पनीले ढिलो गरी खरिद सुरु गरेकाले किसानको गहुँ गाउँमै रहेका व्यापारीले खरिद गरिसकेको बताइएको छ।     
     
विगतका वर्षमा किसानबाट सस्तोमा खरिद गर्ने व्यापारी अहिले सरकारले समर्थन खरिद मूल्य तोकेपछि उक्त मूल्यभन्दा बढीमा किन्न पनि तयार छन्। व्यापारी रवीन्द्र ठकुल्लाका अनुसार सरकारले तोकेकोभन्दा बढी तिरेर गहुँ खरिद गर्न व्यापारी तयार छन्। व्यापारीले  तीन हजार ५० रूपैयाँ क्विन्टलसम्ममा खरिद गर्न थालेको उनले बताए।