BIZMANDU
www.bizmandu.com

डिसहोमले शुरु गर्‍यो निःशुल्क शैक्षिक च्यानल, ४ देखि १० कक्षा सम्मका विद्यार्थी घरमै पढ्न सक्ने

२०७७ बैशाख २५

डिसहोमले शुरु गर्‍यो निःशुल्क शैक्षिक च्यानल, ४ देखि १० कक्षा सम्मका विद्यार्थी घरमै पढ्न सक्ने
डिसहोमले शुरु गर्‍यो निःशुल्क शैक्षिक च्यानल, ४ देखि १० कक्षा सम्मका विद्यार्थी घरमै पढ्न सक्ने


Tata
GBIME
Nepal Life

काठमाडौं । लकडाउनका कारण विद्यालयहरु बन्द रहेकै अवस्था डिसहोम प्रालिले चारदेखि १० कक्षासम्मका विद्यार्थीहरुका लागि निःशुल्क अनलाइन कक्षा शुरु गरेको छ ।

डिसहोमका देशभर १५ लाख ग्राहक रहेको कम्पनीको भनाइ छ । यी ग्राहकका बालबच्चाहरु लकडाउनका कारण स्कुल जान नपाएकाले सफ्टवेयर कम्पनी डिएरवाकसँगको सहकार्यमा डिसहोमले शैक्षिक च्यानल शुरु गरेको कम्पनीका महाप्रबन्धक रमेश सापकोटाले बताए ।
बिहान ८ देखि बेलुका ८ बजेसम्म (१२ घन्टा) डिसहोमको च्यानल नम्बर ११४, ११५ र ११७ बाट नेपाली, अङ्ग्रेजी, गणित र विज्ञान विषयको पठनपाठन शुरु गरिएको उनले जानकारी दिए ।

कुन दिन कुन समयमा कुन विषयको पढाई हुँदैछ भन्ने जानकारी च्यानलमै दिइएको हुन्छ । यद्यपि, एउटै समयमा दुईवटा विषयको कक्षा जुधेमा एउटा क्लासलाई पेनड्राइभ वा एक्सटर्नल हार्ड ड्राइभमा रेकर्ड गरेर अनुकुल समयमा हेरेर अध्ययन गर्न सकिने बताइएको छ ।

कोभिड–१९ को जोखिम बढेसँगै डेढ महिनादेखि शैक्षिक संस्थाहरु बन्द गरिएका छन् । सरकारले अघिल्लो शत्रको फाइनल परीक्षाको तालिका अगाडि सारेर परीक्षा चाँडै सकेर चैत ५ गतेबाट देशभरका विद्यालय बिदा गर्न निर्देशन दिएको थियो । त्यसयता बन्द भएका विद्यालयहरुले लकडाउन लम्बिँदै गएपछि नयाँ शैक्षिक शत्र शुरु गर्न नसकेकोले विद्यार्थीको समयको सदुपयोग गर्ने उद्देश्यले शैक्षिक च्यानलको शुरुआत गरिएको डिसहोमले जनाएको छ ।

६ महिनाभन्दा लामो समयदेखि रिचार्ज नगरेकाले पनि एक महिना निःशुल्क टिभी हेर्न पाउने

डिसहोमले छ महिना वा त्योभन्दा पनि लामो समयदेखि रिचार्ज नगरेका ग्राहकहरुलाई पनि एक महिना निःशुल्क सेवा दिने भएको छ । 
यहि बैशाख २१ देखि जेठ १९ गतेसम्म डिसहोमका सबै च्यानल निःशुल्क हेर्न सकिने गरी अहिले सेवा दिइएको कम्पनीले जानकारी दिएको छ । सापकोटाका अनुसार, यसबाट लामो समयदेखि रिचार्ज नगरेका डिसहोमका करीब चार लाख ग्राहकहरु लाभान्वित हुनेछन् ।

रिचार्ज गर्न नपाएका वा अन्य नेटवर्क लिएर बसेका ग्राहकले पनि आफ्ना छोराछोरीलाई अनलाइन क्लासमा सहभागी गराउन सकुन् भनेर एक महिना निःशुल्क गरिएको सापकोटाले जानकारी दिए ।

रिचार्ज अवधि सकिँदा पनि १० दिन क्रेडिट

कम्पनीले रिचार्ज अवधि सकिएका ग्राहकहरुले रजिष्ट्रर गरिएको मोबाइल नम्बरबाट ९८०१११२२३३ मा मिसकल गरेमा १० दिनसम्म क्रेडिटमा डिसहोमका च्यानलहरु हेर्न सकिने जनाएको छ । रजिष्ट्रर मोबाइल नम्बर नभएमा कुनैपनि मोबाइल नम्बरबाट क्रेडिट स्पेस ग्राहक आइडी टाइप गरेर ३२५०० मा एसएमस गरेर पनि १० दिनको क्रेडिट सेवा लिन सक्ने बताइएको छ।

डिसहोमको रिचार्ज नपाएमा १६६००१२२००० वा ९८०११५५००० ट्रोल फ्री नम्बरमा कल गरेर आफु रहेको स्थान भनेमा नजिकैको डिलरबाट रिचार्ज मगाउन सकिने पनि कम्पनीले जानकारी दियो । लकडाउनका कारण ट्रोल फ्री नम्बर २४ घण्टा सञ्चालनमा ल्याउन नसकिएकाले डिसहोमका सामाजिक सञ्जाल फेसबुक, भाइबर लगायतमा म्यासेज गरेर पनि सेवा लिन सकिने कम्पनीले बताएको छ ।