BIZMANDU
www.bizmandu.com

लकडाउनले टेलिकम सेवा लिने ट्रेन्ड बदलियो, टेलिकम कम्पनीहरु ‘सीएसआर प्याकेज’ को उपाय लगाउँदै


लकडाउनले टेलिकम सेवा लिने ट्रेन्ड बदलियो, टेलिकम कम्पनीहरु ‘सीएसआर प्याकेज’ को उपाय लगाउँदै
लकडाउनले टेलिकम सेवा लिने ट्रेन्ड बदलियो, टेलिकम कम्पनीहरु ‘सीएसआर प्याकेज’ को उपाय लगाउँदै

काठमाडौं। कोभिड १९ नियन्त्रणका लागि जारी लकडाउन शुरु भएपछि टेलिकम उपभोक्ताहरुमा सेवा लिने प्रवृत्तिमा परिवर्तन आएको देखिएको छ ।

Tata
GBIME
Nepal Life

टेलिकम कम्पनीहरुका अनुसार ११ चैतमा लकडाउन लागू भएयता सेवाग्राहीबाट डाटा प्रयोग अत्यधिक बढेको छ । यसविपरित भ्वाइस कल सेवा प्रयोगमा भने लगभग आधाले नै कमी आएको छ । उद्योग व्यवसाय लगायत सम्पूर्ण आर्थिक गतिविधि ठप्प भएपछि टेलिकमको सेवा उपभोगमा यस्तो परिवर्तन देखिएको कम्पनीहरुले बताएका छन् । 

लकडाउनकै कारण भ्वाइस कलअन्तर्गतको रोमिङ र नर्मल भ्वाइस कल सेवामा विगत एक महिनादेखि उल्लेख्य कमी आएको सरकारी दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए। 

उनका अनुसार लकडाउन शुरु भएको अवधिदेखि रोमिङ कल ८० प्रतिशतले घटेको छ । नर्मल भ्वाइस कल पनि ४५ प्रतिशत कम भएको छ। 

‘लकडाउन हुनुभन्दा अगाडि विदेशबाट आएका पर्यटकले उतैको नम्बर प्रयोग गरेर  हामीसँग रोमिङ सेवा लिँदै आएका थिए । तर अहिले धेरै पर्यटक स्वदेश फर्किसकेकाले रोमिङ सेवामा ८० प्रतिशतले घटेको छ,’ जोशीले भने,  ‘उद्योग, कारखाना, निजी व्यवसायहरु बन्द भएकाले कामको सिलसिलामा पहिला जति कल हुने गर्थ्यो अहिले त्यस्तो छैन । उही सोसियल कलमात्र भइरहेको अवस्था छ।’     

आर्थिक गतिविधि बन्द भएपछि आन्तरिक भ्वाइस कलमा समेत ४५ प्रतिशतले गिरावट आए पनि डाटा प्रयोग भने पहिलेको भन्दा दोब्बरले (शतप्रतिशत) बढेको उनले जानकारी दिए। 

निजी क्षेत्रको टेलिकम कम्पनी एनसेलको पनि लकडाउनका कारण भ्वाइस सेवा प्रयोग घटेको छ भने डाटा उपभोग ह्वात्तै बढेको कम्पनी स्रोतले जानकारी दिएको छ। ‘अहिले भ्वाइस कल ट्यारिफ घटेको छ तर हामीले केहीअगाडि गरेको सर्वेक्षण अनुसार डाटा प्रयोग भने ३४ प्रतिशतले बढेको छ,' एनसेल स्रोतले भन्यो, 'हाम्रो भ्वाइस कलमा ४० देखि ४५ प्रतिशतले गिरावट आएको छ ।'

लकडाउनका कारण घरमै बस्नुपर्ने भएपछि सेवाग्राहीहरुले सामाजिक संजाल, विभिन्न न्युज पोर्टल, र युट्युब, भिडियो कन्फेरेन्स लगायतमा समय बढी बिताउँदा डाटाको प्रयोग बढेको हो।

यस्तै, लकडाउनयता टेलिकम कम्पनीहरुको रिचार्ज कार्ड बिक्रीमा पनि कमी आएको छ। नेपाल टेलिकमको रिचार्ज कार्ड बिक्री ३० प्रतिशतले घटेको कम्पनीले जानकारी दिएको छ। लकडाउनका बाबजुद टेलिकम कम्पनी देशैभर कार्ड पुर्‍याउन सक्ने अवस्थामा भएपनि यसको बिक्री भने खस्किएको जोशी बताउँछन्। 

पछिल्लो समय मोबाइल तथा इन्टरनेट बैंकिङ, ई–वालेट र रिचार्ज बुथ इत्यादिका कारण पनि रिचार्ज कार्डको बिक्री घट्दै गएको छ।

सेवा बिक्री गर्न 'सीएसआर प्याकेज' 
लकडाउन शुरु भएयता ग्राहकहरुले गर्ने सेवा उपभोग प्रभावित भएपछि टेलिकम कम्पनीहरुले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अघि सार्दै विभिन्न स्किमहरु ल्याउन थालेका छन्।

भ्वाइस कलको तुलनामा डाटा ट्यारिफबाट हुने नाफा कम हुने भएकाले पनि टेलिकम कम्पनीहरुले यस्तो स्किम अघि सारेर भ्वाइस सेवा प्रयोग बढाउन खोजेका हुन्। कम्पनीहरुले भने अहिलेको विषम परिस्थितिमा सर्वसाधारणको हित हेरेर सीएसआरका प्याकेहरु ल्याएको जिकिर गरेका छन्।

सर्वसाधारणको हितलाई हेरेर ल्याएको सीएसआर स्किममा कम्पनीको लागतको विवरणसमेत निकाल्न बाँकी नै रहेको नेपाल टेलिकमका प्रवक्ता जोशी बताउँछन्। टेलिकमले सीएसआरअन्तर्गत कल गर्दा सुनिने कोभिड-१९ बारे सचेतनामूलक सीआरबीटी पनि संचालन गरिरहेको बताएको छ।

एनसेलले पनि लकडाउन शुरु भएपछि सीएसआरअन्तर्गत सेवा प्याकेज शुरु गरेको जनाएको छ। यसले पनि 'विषम परिस्थिति' हेरेर नै सर्वसाधारणको हित हेरेर  सीएसआर स्किम सार्वजनिक गरेको बताएको छ। एनसेलले लकडाउन शुरु हुनुअघि नै तयार पारेको सीएसआर अन्तर्गतको स्किम यतिखेर सेवाग्राहीका लागि ल्याएको बताइएको छ।

टेलिकम कम्पनीको आम्दानी ४० प्रतिशतसम्म घट्न सक्ने
नेपाली टेलिकम कम्पनीहरुको आम्दानीको मुख्य सेवा स्रोत भनेकै भ्वाइस कलबाट हो। तर लकडाउनका कारण भ्वाइस कल ट्राफिक धेरै कम भएकाले यस वर्ष आम्दानीमा उल्लेख्य प्रभाव पर्ने टेलिकम कम्पनीहरुले बताएका छन्।

नेपाल टेलिकम र एनसेलले मात्र वर्षमा एक खर्ब रुपैयाँको हाराहारीमा आम्दानी गर्दै आएका छन्। नेपाल टेलिकमको वार्षिक आम्दानी ४०  अर्बभन्दा माथि छ भने एनसेलको ५५ अर्ब रुपैयाँ रहेको छ । 

यो आम्दानी चालु आर्थिक वर्षमा ३० देखि ४० प्रतिशतले घट्न सक्ने अनुमान कम्पनीका अधिकारीहरुको छ । 

कोरोना प्रभावले डिजीटाइजेसन प्रवर्द्धनमा सहयोग 
लकडाउन अवधिमा इ–कमर्स र इन्टरनेट सम्बन्धी कामहरु बढिरहेकाले यसबाट निकट भविष्यमा विभिन्न सेवा प्रवाहमा डिजिटलाइजेसन प्रवर्द्धनका लागि मद्दत पुग्ने सूचना तथा प्रविधिविज्ञहरुको विश्लेषण छ ।  

‘पछिल्लो समय इ–कमर्स मात्र नभएर अनलाइन क्लास, बैठक र कतिपय कामहरु प्रविधिमार्फत घरै बसेर गरिँदै आएको पाइएको छ। यसको महत्व झन् बढ्ने सम्भावना भएकाले यसलाई व्यवस्थित गर्न आवश्यक,' प्रविधिविज्ञ मनोहर भट्टराईले भने।

टेलिकम कम्पनीबाट प्रवाह भइरहेको भ्याइस र डाटा सेवामध्ये डाटाको माग बढिरहेको हुँदा कम्पनीले डाटा शुल्क घटाउँदा सेवाग्राहीको संख्या अझ बढ्न सक्ने जानकारहरु बताउँछन्। 

भट्टराई भन्छन्,  ‘पछिल्लो समय डाटा खपत बढ्दै गएको छ । यद्यपि मोबाइल डाटा अझै पनि महँगो छ। डाटा सस्तो बनाए यसको खपत बढ्ने भएकाले यससँगै कम्पनीहरुको आम्दानी पनि वृद्धि हुन सक्नेछ।'

इन्टरनेटमार्फत लर्निङ, बैंकिङ, इ-कमर्स लगायत विभिन्न कार्यालय प्रयोजनका काम सहजसँग गर्न सकिने भएको छ । यसले सेवाग्राहीलाई सेवा लिन पनि सहज बनाएको छ । यसकारण डिजिटल प्लाटफर्म विस्तारका लागि सरकारले विशेष नीति नै ल्याउन आवश्यक रहेको भट्टराईले बताए।