BIZMANDU
www.bizmandu.com

लकडाउन कडा गर्न प्रधानमन्त्रीको निर्देशन, उपत्यका र सीमा नाकामा बढाइयो सुरक्षाकर्मी

२०७७ बैशाख २२

Tata
GBIME
Nepal Life

फाइल फोटो

काठमाडौं। आइतबार लकडाउन केही खुकुलो अनुभव गरेका सर्वसाधारणले सोमबार बिहानैबाट भने थप कडाई भएको अनुभव गरेका छन्।

आज बिहानैदेखि सडकमा खटिएका सुरक्षाकर्मीले अत्यावश्यक काम बाहेक हिंँडेका सवारी साधनलाई समेत नियन्त्रणमा लिएका छन्।

सवारी पास भएका सवारी साधनमा पनि अनावश्यक मानिस भए नभएको समेत चेक गरेर सुरक्षाकर्मीले छाड्ने गरेका छन्। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन र सीमा नाकामा थप कडाइ गर्न गृहमन्त्री रामबहादुर थापालाई निर्देशन थिए।

प्रधानमन्त्रीको निर्देशनपछि गृहमन्त्री थापाले आइतवार नै गृह मन्त्रालयमा बैठक डाकेका थिए। त्यसपछि गृहमन्त्री थापाको नेतृत्वमा बसेको बैठकले महत्वपूर्ण संरचनाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका प्रहरीलाई सीमामा पठाउने निर्णय गरेको थयो।

कारागार, विकास निर्माण आयोजनालगायतका महत्त्वपूर्ण संरचनाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई  सीमामा पठाउने भएको हो। प्रहरीले त्यस्ता स्थानमा खटिएका सुरक्षाकर्मीको विवरण गृहमा बुझाउने छ।

त्यसपछि गृहको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेपछि सेनालाई त्यस्ता स्थानमा खटाइने छ। सीमाबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम नरोकिएको भन्दै त्यसरी प्रवेश गर्नेलाई कडा कानुनी कारवाही गर्नुपर्ने निष्कर्ष समेत गृहले निकालेको थियो।

त्यस्तै वैशाख २५ गतेपछि लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा समेत छलफल भइरहेको छ। तीन वटा क्षेत्रमा वर्गिकरण गरेर लकडाउनमा परिवर्तन गर्न तयारी भएको छ। त्यसैले सुरक्षित जोन मानिएको स्थानलाई कसरी कभर गर्ने भन्ने विषयमा समेत छलफल जारी छ। उपत्यका भित्रिने नाकालाई व्यवस्थित गर्न सुरक्षा निकायले तयारी गरिरहेको छ।

आइतबार बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौंका पदाधिकारी र महानगरीय ट्राफिक महाशाखाका प्रमुख लगायतले नागढुंगा पुगेर उपत्यका भित्रिने नाकाको अवस्था जानकारी लिएका थिए।