काठमाडौं । यातायात व्यवस्था विभागले सवारीसाधनहरुमा गैरकर नबढाउन सरकारलाई सुझाव दिएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा विभिन्न सवारीमा गैरकर नथप्न विभागले सुझाएकाे हो ।
विभागले माइक्रो बस, ट्रक, टिप्पर, मिक्सचर, मिनी टिप्पर र मिनी ट्रक लगायतका सवारीसाधनको गैरकर अहिलेकोबाट थप नगर्न अर्थमन्त्रालयलाई सुझाएको छ । अहिले यी सवारीहरुमा मूल्यको ७ प्रतिशत गैरकर लाग्दै आएको छ ।
आउँदो आर्थिक वर्षका लागि पनि उक्त सवारीसाधनहरुमा हाल लागू दर नै कायम गर्न विभागले मन्त्रालयलाई भनेको हो । यस्तै, दुई हजार सीसीसम्मका अन्य सवारीसाधनहरुमा पनि चालु आर्थिक वर्षकै गैरकर लागू गर्न सुझाव दिइएको छ ।
यी सवारीमा सरकारले अहिले मूल्यको आठ प्रतिशत गैरकर असुल गर्दै आएको छ । दुई हजार सीसीभन्दा माथिको इन्जिन क्षमताका सवारीमा मूल्यको १० प्रतिशत गैरकर यथावत छ ।
यसैगरी, मोटरसाइकलमा पनि आउँदो आर्थिक वर्षको बजेटमा गैरकर थप नगर्न विभागले अर्थमन्त्रालयलाई सुझाव दिइएको छ ।
अहिले एक सय ५० सीसीसम्मका मोटरसाइकललाई हाल १५ हजार, एक सय ५१ देखि दुई सय ५० सीसीसम्मलाई १८ हजार, त्यसमाथि चार सय सीसीसम्म ५० हजार र सोभन्दा बढी क्षमताका मोटरसाइकलमा दुई लाख रुपैयाँ गैरकर लाग्दै आएको छ ।