काठमाडौ। गृह मन्त्रालयले सोमवार सबै जिल्ला प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गर्दै लकडाउन थप कडाइ गर्न निर्देशन दियो।
गृहको निर्देशनको असर उपत्यकाका तीन जिल्लामा नपर्ने कुरै भएन। केही दिनदेखि गाउँ फर्किनेको भिडले लकडाउन खुकुलो हो कि भन्ने अनुभूति गरिरहेका आम मानिसलाई मंगलवार भने प्रभाव पार्यो।
प्रहरीले सडकमा हिँडेका र गुडेका सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गर्यो। गृहले लकडाउनको समयमा प्रशासनबाट अनुमति लिएर सवारीलाई गुड्न निर्देशन दिएको छ।
'आजबाट थप कडाइ गरेका छौं। सवारी पास लिएका सवारीलाई पनि उनीहरुको आवश्यकता हो होइन भनेर हेरेर मात्र चलाउन दिन्छौं,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले भने।
प्रहरीले अहिले पनि दैनिक साढे ३ सयभन्दा बढी सवारीलाई नियन्त्रणमा लिने गरेको छ। लकडाउन थप कडाइ गरेपछि यो सङ्ख्या बढ्ने देखिन्छ। अहिले उपत्यकाभित्र ११ सय ट्राफिक प्रहरी कार्यारत छन्। उनीहरुलाई चार सिफ्ट गरेर चौबिसै घण्टा ड्युटीमा खटाइएको एसएसपी ढकालले बताए।
'अहिले ट्राफिक दिन रात चौवीसै घण्टा खटिएको छ। सवारी पास नभई गुडाएमा कारबाही हुन्छ,' एसएसपी ढकालले भने।